Pokharapatra National Daily

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटो जात्राको ऐतिहासिक फोटो प्रदर्शनी

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको ऐतिहासिक फोटो प्रर्दशनी सुरु भएको छ ।
संग्रहालयको २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा ऐतिहासिक फोटो प्रदर्शनीमा राखेको हो । रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे ऐतिहासिक फोटो प्रदर्शनी माघ २८ गतेसम्म चल्नेछ । पोखराको रातोपैह्रामा रहेको फोटो प्रदर्शनीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले हिमाली क्षेत्रको रहनसहन, संस्कृति र परम्परा झल्काउन र जीवन्त राख्न म्युजियम महत्वपूर्ण रहेको बताए । उनले फोटो प्रदर्शनीले २ ठूला सहरबीचको सांस्कृतिक सम्पदा आदानप्रदान हुने विश्वास व्यक्त गरे । ललितपुर महानरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर वरिपरि मनाइने ऐतिहासिक जात्राबारे पोखरामा जानकारीमूलक फोटो प्रदर्शनीले दुवै सहरको प्रचारप्रसारमा सहयोग पुग्ने बताए । सांस्कृतिक सहर ललितपुरमा सम्पदा संरक्षण र पुनर्निर्माणको काम अधिकांश भइसकेको जानकारी दिए । ‘सम्पदाको संरक्षण आजमात्र नभई भोलिका लागि पनि हो ।
त्यसमा हामी सचेत हुनुपर्छ’, उनले भने । सो अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिने भएको छ । ‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले भनिन् । प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व उुद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्वीर पनि राखिएको छ ।
साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौंथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए । सन् २००२ देखि बनाउन सुरु भएको संग्रहालय २००४ फेब्रअरी ५ मा उद्घाटन भएको थियो । संग्रहालयमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा, आरोहण इतिहास, जानकारी तथा गतिविधि बुझाउन तस्वीर तथा सामग्री प्रदर्शनमा राखिएका छन् ।
संग्रहालय संयोजक ठाकुराज पाण्डले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९८ हजार ५३८ जनाले संग्रहालय भ्रमण गरेको र त्यसबाट साढे १ करोडल रुपैयाँ आम्दानी भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्