
नवगठित गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले देशको आर्थिक समृद्धि र रोजगारी विस्तारको मूल मन्त्रसहित आफ्नो राजनीतिक यात्रामा निर्णायक मोड अघि सारेको छ
मंगलबार पोखरामा पर्यटन व्यावसायी र पत्रकारहरु बिच आयोजित छलफल–कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वले पर्यटनलाई ‘रोजगार तथा आर्थिक क्रान्तिको प्रमुख आधार’का रूपमा अघि सार्दै आगामी दशकमा वार्षिक ५० लाख पर्यटक भित्र्याउने महत्वकाक्षि लक्ष्य सार्वजनिक गर्नुभयो । कार्यक्रममा बोल्दै पार्टीका संस्थापक सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) बाट अन्तर्राष्ट्रिय उडानहरू सुदृढ गर्दै नेपालले पर्यटनमार्फत आर्थिक क्षेत्रमा कायापलट गर्न सकिने दाबी गर्नुभयो । “६२ वर्षमा आराम होइन, भावी पुस्ताको भविष्यका लागि लड्नुपर्ने अवस्था आयो । ” बस्नेतले भन्नुयो । बस्नेतले आफ्नो उमेर, पेशा र जीवनको सहज अवस्था त्यागेर नयाँ दल निर्माणमा होमिनुको कारण स्पष्ट आर्थिक मुद्धा पहिलो एजेण्डा सहित नेपालमा पर्यटनबाटै कायापलट गर्न सकिने दाबी गर्नुभयो । अब पुराना राजनीतिक संस्कार विरुद्ध लडेरै भए पनि देशमा परिवर्तन ल्याउनुपर्छ भन्ने आफुहरु राजनीतिमा होमिएको बस्नेतको तर्क थियो ।
नेपालमा मुख्य पेशा ‘राजनीति’ बनाउने प्रवृत्तिले नै देशमा व्यापक भ्रष्टाचार, अवसरवादी र संस्थागत कुशासन मौलाएको जसको परिणाम स्वरुप जेनजी युवाको आन्दोलन भएको उहाँले दाबी गर्नुभययो । उहाँले भन्नुभयो “हाम्रो पार्टीमा मुख्य पेशा राजनीति गर्न पाइँदैन, व्यवसायीक, पेशागत र सिर्जनशील मनुष्य शक्ति राजनीतिमा आउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।, पेशालाई छोडेर राजनीतिलाई रोजगारी बनाउने संस्कारले देश बिगा¥यो, त्यसलाई अन्त्य गर्न हामी बाध्य भएर पार्टी खोलेका हौँ ।” बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई क्षेत्रीय ‘टुरिज्म हब’ का रुपमा रूपान्तरण गर्न सकिने दाबी गर्नुभयो । भैरहवा र नयाँ दिल्ली विमानस्थलबाट वाइडबडी उडान सम्भव भएको जनाउदै उहाँले नेपालमा दैनिक ५० उडान सजिलै संचालन गर्न सकिने, १० वर्षमै ५० लाखदेखि १ करोडसम्म पर्यटक भित्र्याउने क्षमता रहेको जनाउनु भयो । यसपालीको निर्वाचनमा आफुहरु विजयी भएमा ५० वटा जहाज किनेर भए पनि विमानस्थल चलायमान बनाउदै रोजगारी र समृद्धि द्रुत गतिमा अघि बढाउने उहाँको दाबी थियो । यसबाट पर्यटनको राजधानि पोखरालाई सिधै फाइदा हुने दाबी गर्नुभयो । नेपालमा धार्मिक पर्यटन, साहसिक पर्यटन, वेलनेस टुरिजमको सम्भावना रहेको बताउदै बस्नेतले क्षेत्रीय सर्किट (लुम्बिनी–पोखरा–चितवन) लाई जोड्दा सबै तर्फको पर्यटन र आर्थिक चलायमान हुने बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पार्टीका अध्यक्ष दिनेश प्रसाईँले पुराना दलले संरचनागत सुधार गर्न नसकेकाले नयाँ दलको आवश्यकता सिर्जना गरी आफुहरु दिलो ज्यान दियर लागेको बताउनु भयो । “हाम्रो विचार ‘गतिशील मध्यमार्ग’ हो। न अन्धाधुन्ध उदारवाद, न अव्यावहारिक कट्टरता। शिक्षा, अर्थतन्त्र र सुशासनमा प्रगतिशील तर तथ्यमा आधारित नीतिको पक्षमा हौँ,” प्रसाईँले भन्नुयो । चपर्यटन विज्ञ ज्ञानेश्वर महतोले पार्टीका एजेन्डा ‘अनुमानका भर’मा नभई तथ्य–तथ्याङ्क र अध्ययनका आधारमा तयार गरिएको स्पष्ट पार्नुभयो । पोखरामा प्रस्तुत गरिएको गतिशील लोकतान्त्रिक पार्टीको अवधारणाले नेपालमा नयाँ राजनीतिक शैली, पारदर्शी संस्कृति र पर्यटन मार्फत आर्थिक क्रान्ति गर्ने दाबीलाई बलियो बनाएको उहाँले जनाउनु भयो । देशभर चलिरहेको असन्तोष, बेरोजगारी र आर्थिक स्थिरतामा आएको खाडललाई सम्बोधन गर्न अब पार्टी ‘व्यावहारिक नीति सहितको वैकल्पिक शक्ति’का रूपमा प्रस्तुत हुन चाहेको महतोले बताउनु भयो ।






