
नेपाली कम्युनिष्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा आउँदो आइतबार पोखरामा हुने भएको छ ।
आगामी मंसिर १४ गते आइतबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकारचोकमा विहान ११ः३० बजे सुरु हुने उक्त कार्यक्रमको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । कार्यक्रममा पोखरा, कास्की सहित गण्डकी प्रदेशका जिल्लाबाट पार्टीका नेता कार्याकर्ता सहित जनताको उल्लेखनिय उपस्थिति हुने भएको नेता एवं साविक माओबादी केन्द्र गण्डकी प्रदेशका इन्चार्ज दीननाथ शर्माले बताउनुभयो । सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रभावशाली नेता भिम रावल लगायत गण्डकी प्रदेशका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जनाउनु भयो ।
हालसम्म १२ वटा राजनीतिक दल एकीकृत भई बनेको नेपाली कम्युनिष्ट पार्टीमा अन्य १७ वटा कम्युनिष्ट घटकहरू समेत समाहित भएको अबस्थामा एकताको सन्देश दिदै एकतामा बल हुन्छ भन्ने आत्मविश्वासका साथ उक्त कार्यक्रममा उल्लेखनिय सहभागिता जनाउने भएको उहाँले जनाउनु भयो । नेपालको वामपन्थी राजनीतिको मूलधारको शक्तिका रूपमा प्रस्तुत गर्दै आएको शर्माले जनाउनु भयो । जेन–जेड आन्दोलनले उठाएका “प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री” तथा “जनताद्वारा राष्ट्रपति चयन हुने व्यवस्था” जस्ता मुद्दा आफूहरूले पनि पहिलेदेखि उठाउँदै आएको उहाँले बताउनु भयो । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर नेपालको विशेषतासहितको वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्य पार्टीले अघि सारेको छ । स्वदेशी पूँजीको परिचालन, युवाको विदेश पलायन रोक्न रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य निःशुल्कता, सुशासन तथा भ्रष्टाचार अन्त्यका कार्यक्रम पार्टीको प्राथमिकतामा रहेको नेता शरिराज जोशीले बताउनु भयो । पार्टी समाजवाद उन्मुख दिशातर्फ दृढतापूर्वक अघि बढिरहेको उहाँले बताउनु भयो । पार्टीका नेता तथा पूर्व नेकपा एकीकृत समाजवादीका गण्डकी ईञ्चार्ज श्रीनाथ बरालले समाजवादी क्रान्ति पूरा गर्न गण्डकी प्रदेशले अहम भूमिका खेल्ने बताउनु भयो। अब जेनजीको माग अनुसार भ्रष्टाचारमुक्त देश बनाउन, सुशासन कायम गर्न पनि नेपाली कम्युनिष्ट पार्टीको विकल्प नभएको उहाँले जनाउनु भयो । देशमा प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक शून्यता हटाउन छरितो निर्वाचन आवश्यक रहेको पार्टीको भनाइ छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय पार्टीले अन्य दल भन्दा पहिल्यै गरिसकेको जनाएको छ ।
पार्टीकी नेतृ एवं साविक माओबादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, समाजबादीका नेता साविक समाजबादीका गण्डकी प्रदेशका अध्यक्ष कृष्ण नेपाली, विश्वनाथ शर्मा, अटिन्द्रकेसरी न्यौपाने, नवराज सुवेदी लगायतले समाजवादी क्रान्ति नेपाली कम्युनिष्ट पार्टीले मात्र पूरा गर्न सक्नेमा जोड दिनुभयो ।






