Pokharapatra National Daily

‘जनताको भावना पृथ्वीचोकमा छ, लखनचोक कहिलेसम्म रहला ?’

पोखराको पृथ्वीचोकमा लखन थापाको नभई पृथ्वीनारायण शाहको सालिक राखिनुपर्ने अडान एकथरी पोखरेलीको छ । अर्को एउटा पक्ष त्यहाँ सहिद लखन थापाकै सालिक यथावत हुनुपर्ने पक्षमा छ । पृथ्वीनारायण शाह वा लखन थापा कसको सालिक राख्ने भन्नेमा पोखरा विभाजित देखिन्छ ।
राष्ट्र गौरव अभियानले पोखरामा शुक्रबार पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नु जनभावनाको कदर हुने जिकिर गरेका छन् । राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले पृथ्वीचोकमा जनताको भावना रहेकाले लखन थापाको सालिक लामो समय रहन नसक्ने बताए । ‘बीचमा सहिद लखन थापाको सालिक छ । आसपास बजारका पसलको ब्यानरमा पृथ्वीचोक लेखिएको छ,’ उनले थपे, ‘जनताको भावना पृथ्वीचोकमा छ, लखनचोक कहिलेसम्म रहला ? जबर्जस्ति सालिक राखेर, जबर्जस्ति शासन गरेर हुँदैन ।’ पृथ्वीनारायण शाह भौगोलिक एकीकरणकर्ता मात्र भएको दाबी गर्नु गलत भएको उनले बताए । भौगोलिक एकीकरणसँग भावनात्मक एकीकरण जोडिने र त्यसैले देश एकजुट हुने मिश्रको भनाइ थियो । पृथ्वीनारायण शाहलाई गाली गरेर माक्र्स र लेनिनलाई माला लगाउनेले देश बनाउन नसक्ने मिश्रको दाबी थियो । देशले पृथ्वीनारायण शाह मात्र नभएर देश बनाउने हुटहुटी भएका राजा महेन्द्रको योगदान बिर्सिन थालेको उनको गुनासो थियो । उनले राजा महेन्द्रको तुलना आधुनिक सिंगापुरका जन्मदाता मानिने ली क्युआन युसँग गरे । राजा महेन्द्र १० वर्ष बढी बाँचेको भए ली क्युआनभन्दा सक्षम प्रमाणीत गर्न सक्ने उनले दाबी गरे ।
उनले देश बिग्रनुमा राजनीतिकर्मी मात्र नभई जनता पनि दोषी रहेको र यो कुरा स्वीकार्न हिच्किचाउन नहुने बताए । राजनीतिकर्मी बिग्रिए चुनावबाट सच्याउन सकिने, जनता बिग्रँदा केही उपाय नरहेकाले जनता बिग्रन नहुने मिश्रको भनाइ थियो । राजनीतिक विश्लेषक सौरभले सहिद लखन थापाभन्दा नेपाल एकीकरण गरेर ठूलो योगदान पृथ्वीनारायण शाहको रहेको दाबी गरे । ‘लखन थापालाई सम्मान गर्नुपर्छ । निरंकुश संस्कारविरुद्ध लड्ने जनजातिको छोरा सहिद भयो,’ उनले थपे, ‘लखन थापाभन्दा पृथ्वीनारायण शाहको योगदान ठूलो छ । राज्य एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई जातिको हिसाबले हामी किन हेर्छौं ?’ उनले पृथ्वीनारायण शाहलाई कास्कीले न्याय गर्नुपर्ने आवश्यकता औंल्याए । ‘पण्डितहरुले न्याय नपाए कासी जानू भन्ने बनाए आफूहरु कासी जाने भएर । न्याय नपाए कास्की जानू हुनुपर्ने हो,’ सौरभले भने, ‘तर, कास्कीले पृथ्वीनारायण शाहलाई न्याय दिएन । न्याय दिनुस् । न्याय दिनुपर्ने छ ।’
इतिहासविद् हरिप्रसाद सोडारीले सालिक निर्माणले मात्र केही नहुने भएकाले सालिक वरपर दिव्यज्ञान राख्न सुझाव दिए । मार्क्सवादभन्दा पनि समृद्धि, एकताको बारेमा बोल्ने पृथ्वीनारायण शाहका दिव्यज्ञानबारे अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले नेपाल एकीकरण गरेर पृथ्वीनारयण शाहले देश दिएपनि सशस्त्र युद्द गर्नेले केही दिन नसकेको टिप्पणी गरे । ‘नुवाकोटमा जयन्त राणालाई मारेर पृथ्वीनारायण शाहले हामीलाई नेपाल दिए । २०५२ सालदेखि आन्दोलन गर्नेले के दिए ? गाउँबाट मात्र होइन सहरबाट युवा पनि हराइसके,’ उनले भने । राष्ट्र गौरव अभियानले पृथ्वीचोकमा जसरी पनि पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गरेको छ । अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको सालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गरेका हुन् । उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०÷५० फिटको सालिक राख्ने घोषणा गर्दछु,’ उनले भने, ‘पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो सालिक कहीँ हुने छैन ।’ कुनैबेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक संरक्षण गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको नेतृत्व आफूहरूले पोखरामा गरेको कार्यक्रम देखेर झस्किएको र थ्रेट महशुस गरेको कोइरालाले सुनाए । अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए । लखन थापाको सालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।
कार्यक्रमको पूर्वसन्ध्यामा पोखराका तीन ठाउँबाट ¥याली निकालिएको थियो । राष्ट्र गौरव अभियानले चिप्लेढुंगाबाट पृथ्वीचोकसम्म, राप्रपा कास्कीले अमरसिंहचोकबाट पृथ्वीचोकसम्म र ठकुरी समाज नेपालले छोरेपाटनदेखि पृथ्वीचोकसम्म ¥याली निकालेको थियो ।

प्रतिकृया दिनुहोस्