Pokharapatra National Daily

लैंगिक हिंसाको अवस्था र समाधनका उपायहरु

-प्रतीक्षा गैहे, पोखरा
नेपाल सहित विश्वभर अहिले विभिन्न कार्यक्रमहरु सहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । “लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालिकामा लगानीको ऐक्यवद्धता” भन्ने नारा सहित नेपालमा पनि विभिन्न महिला, बालिका तथा मानव अधिकार सम्बन्धी काम गर्ने संघ संस्थाहरुले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाइरहेको अवस्था छ ।
इतिहासको पाटोः
महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको इतिहास खोतल्न ६ दशक अगाडि पुग्नुपर्ने हुन्छ । यो नारीहरुको सहास, वीरता, संघर्ष र बलिदानको कथा हो । डोमिनकन गणतन्त्रमा मिरावेल परिवारमा जन्मिएका तीन दिदीबहिनीहरु पेट्रिया, मिनर्भा र मारिया तत्कालिन त्रुजिलो तानाशाही सरकारको विपक्षमा संघर्षरत थिए ।
शिक्षित र सचेत यी दिदीबहिनीहरुलाई तत्कालीन सरकारले राज्यद्रोहको आरोप लगाई पटकपटक जेल हाले । जेलमा दिइने चरम यातानाका बाबजुद पनि यी दिदिबहिनीले तानाशाही सरकारको अगाडि घुँडा टेकेनन् । यसै क्रममा सन् १९६० मा तानाशाही सरकारको विरोधमा उनीहरुले विशाल भेलाको आयोजना गरे । राज्यले त्यसमा हस्तक्षेप गरी उनीहरुलाई पक्रेर मुलुकको ठूलो समस्याका रुपमा घोषणा ग¥यो । यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन यिनीहरुको हत्या गरियो ।
तीनै मिराबेल दिदीबहिनीहरुको संघर्षलाई सम्मान गर्दै अभियानको पहिलो दिनलाई महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने दिवसका रुपमा मनाईन्छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरयो ।
१६ दिने अभियानको शुरुवात नेपालमा भने वि सं २०५४ सालदेखि भएको पाईन्छ । नेपाल सरकारले वि. सं. २०७५ देखि यो अभियानलाई सबै स्थानीय पालिका, प्रदेश तथा संघमा विविध कार्यक्रमहरु आयोजना गर्दै सरकारी स्तरमा नै मनाउने निर्णय गरेको थियो ।
१६ दिने अभियानको बीचमा अन्य दिवसहरु पनि पर्दछन् जस्तैः नोभेम्बर २९ मा महिला मानव अधिकारकर्मीहरुको अन्तर्राष्ट्रिय दिवस, डिसेम्बर १ मा विश्व एड्स दिवस, डिसेम्बर ३ मा विश्व अपांग दिवस, डिसेम्बर ५ मा अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सामाजिक विकास दिवस र अन्तिम दिन डिसेम्बर १० मा मानव अधिकार दिवस ।

लैंगिक हिंसा भनेको के हो ?
लैंगिक हिंसा भनेको लिंगका आधारमा हुने हिंसा हो । सामान्यतया लिंगका आधारमा शारिरिक, मानसिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी हुने हिंसालाई लैगिंक हिंसा भनिन्छ । यस अन्तर्गत महिला, पुरुष वा तेस्रो लिंग भएको आधारमा पेशा, शैक्षिक जगत, कार्यस्थल, परिवार, समाज लगायत जुनसुकै ठाउँमा हुने धम्की, यौनजन्य दुराचार, डर, त्रास, घृणा, कुटपिट, श्रम शोषण आदि पर्दछन् ।
लैंगिक हिंसा आजको समस्या नभएर प्राचिन कालदेखि नै विश्व समाजमा समस्याको रुपमा देखिँदै आएको पाइन्छ । लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या नभएर यो राजनैतिक, सामाजिक, आर्थिक प्रणाली वा संरचनासँग गाँसिएको हुन्छ । देशले अबलम्बन गर्ने सबै खाले नीति नियमसँग गाँसिएको हुन्छ ।
कुनै पनि महिला उनीहरुको भू्रण अवस्थादेखि बालक, वयस्क हुँदै वृद्ध अवस्थासम्म लैंगिक हिंसाको खतरामा परिरहेका छन् । विश्वका धेरै मुलुकहरु जस्तै नेपालमा पनि महिला र पुरुषको लैंगिक विभेदको ठूलो समस्या रहेको छ । यहाँको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, प्रशासकिय लगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच निकै कम रहेको छ ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेका ऐन २०७२ अनुसार “लैंगिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लिंगको आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लिंगको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

लैंगिक हिंसाको जीवन चक्रः
लैंगिक हिंसा एउटी महिलाको जीवनको कुनै पनि बेला हुन सक्छ । एउटी महिला नजन्मदैँदेखि मरिसकेपछिसम्म पनि हिंसाको शिकार बन्न विवश हुनु परिरहेको छ । यस्ता हिंसाहरुका केही उदाहरणहरुलाई यसरी राख्न सकिन्छ ।
क) गर्भावस्थाः
बलपूर्ण गर्भधारण, लिंग पहिचान गरी गर्भपतन, गर्भावस्थामा मानसिक पीडा आदि ।
ख) शिशु अवस्थाः
बालिका/शिशु हत्या, पोषणयुक्त खानामा विभेद, स्वास्थ्य सुविधामा विभेद आदि ।
ग) बाल्य अवस्थाः
शारिरिक हिंसा, करणी, यौन दुव्र्यवहार, स्वास्थ्य तथा शिक्षामा भेदभाव आदि ।
घ) किशोर अवस्थाः
बालविवाह, जवर्जस्ती विवाह, बलात्कार, कार्यस्थलमा हुने यौन दुव्र्यवहार, सामाजिक सञ्जालमार्फत हुने साइबर बुलिङ आदि ।
ङ) वृद्ध अवस्थाः
एकल महिला तथा ज्येष्ठ महिलालाई बोक्सीको आरोप तथा दुव्र्यवहार आदि ।
च) प्रजनन अवस्थाः
घरेलु हिंसा, दाइजो जन्य हिंसा, अत्याधिक कार्यबोझ आदि ।

समाधानका उपायहरुः
-महिला हिंसाका घटनामा राज्यका कुनै पनि निकायहरु र जनस्तरबाट समेत शुन्य सहनशिलताको नीति अपनाउने ।
-महिला हिंसाको नियन्त्रणका लागि कडा कानुन निर्माण गर्ने र कार्यान्वयन गर्ने ।
-कार्यस्थललाई सुरक्षित बनाउनका लागि सिसिटिभीको निगरानीमा खुल्ला कार्यालयहरु निर्माण गर्ने । सडक तथा सार्वजनिक स्थानहरुमा समेत सडक बत्ति र सिसिटिभी क्यामेराहरु आवश्यक मात्रामा जडान गर्ने ।
-महिला हिंसाबारे सचेतना कार्यक्रमहरु उत्पादन र प्रशारणका लागि सञ्चार माध्यमहरुले भूमिका खेल्ने ।
-महिलालाई आर्थिक रुपमा सक्षम बनाउन राज्यका विभिन्न निकायहरुले कार्य गर्ने ।
-राज्यको नीति निर्माण तहमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिताको सुनिश्चितता गर्ने ।
-शिक्षामा महिलाको पहुँच अभिवृद्धिका लागि छात्रवृत्तिका कार्यक्रमहरु सञ्चालन गर्ने ।
-महिला हिंसाको बारेमा पाठ्यक्रममा समावेश गरी विद्यालय तहबाटै सचेतना प्रदान गर्ने ।
नेपालको सन्दर्भमा हेर्नै हो भने मिराबल दिदीबहिनीहरुको इतिहासभन्दा दुई दशक अगाडि नै योगमाया न्यौपानेको नेतृत्वमा वि. सं. १९९८ असार २२ गते शनिबार हरिशयनी एकादशीका दिन ६८ जनाले अरुण नदीमा हाम फालेर देहत्याग गरेका थिए । उनीहरुले पनि तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कार र चरम लैंगिक विभेद विरुद्ध अभियान संचालन गर्दै प्रधानमन्त्री जुद्ध शमशेरलाई माग राखेका थिए । त्यसमा तत्कालिन शासकहरुले कुनै पनि चासो नदेखाएपछि तपस्वी योगमायाको टोलीले जलसमाधी लिएको थियो । के आजको यो समाजवाद उन्मुख लोकतान्त्रिक सरकारको बेलामा पनि महिला हिंसाको अन्त्यका लागि महिलाहरुले जल समाधि नै लिनुपर्ने हो त ?

प्रतिकृया दिनुहोस्