
-दीपेन्द्र पहारी
पर्यटन विज्ञ
हालैको ‘जेन जेड आन्दोलन’ ले नेपालको सामाजिक, राजनीतिक र आर्थिक संरचनामा गहिरो प्रभाव पारेको छ । सुरुमा सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध र ‘नेपो–किड्स’ भन्ने ट्रेन्डबाट सुरु भएको यो आन्दोलन युवाहरूको असन्तुष्टि, भ्रष्टाचार, असमानता र शासनप्रतिको गम्भीर असन्तोषलाई सतहमा ल्याउने एउटा ऐतिहासिक मोड बन्यो । डिजिटल प्लेटफर्ममा सुरु भएको बहस जब सडकसम्म आइपुग्यो, त्यसले नेपालजस्तो पर्यटनमा निर्भर देशलाई प्रत्यक्ष असर ग¥यो। आन्दोलनले तत्कालिन समयमा राजनीतिक नेतृत्वलाई मात्र चुनौती दिएन, बरु नेपालको अर्थतन्त्रका संवेदनशील क्षेत्रहरूलाई समेत हल्लाइदियो ।
‘जेन जेड आन्दोलन’ ले नेपालको सामाजिक–राजनीतिक चेतनालाई नयाँ दिशातर्फ मोडेको छ। यसको सबैभन्दा ठूलो सिकाइ भनेको मुलुकमा असन्तुष्ट युवाशक्तिलाई बेवास्ता गर्दा त्यो असन्तुष्टि सडकमा विस्फोट हुन सक्छ भन्ने हो । नेपालका युवाले आफ्नो भविष्यबारे स्पष्ट नीति, समान अवसर र पारदर्शी शासन खोजिरहेका छन् । जब यी कुरा उपलब्ध भएनन्, उनीहरूले आन्दोलनमार्फत आफ्नो आवाज बुलन्द गरे। यो अनुभवले पर्यटनसहितका संवेदनशील क्षेत्रलाई देखाएको छ कि विकासको पूर्वशर्त स्थिरता र विश्वास हो। स्थिरता नभए अन्तर्राष्ट्रिय बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रस्तुत गर्न सकिँदैन, र विश्वास हराउँदा धेरै वर्षसम्म पर्यटन उद्योग पुनःस्थापित गर्न कठिन हुन्छ । त्यसैले यो आन्दोलन केवल राजनीतिक चेतनाको परिणाम नभई, दीर्घकालीन विकास रणनीतिमा सुशासन र युवाको सहभागिता अनिवार्य हुन्छ भन्ने गहिरो पाठ हो ।
नेपाल पर्यटन बोर्डका तथ्याङ्कअनुसार आन्दोलन अघि दैनिक करिब ३,२०० को हाराहारीमा विदेशी पर्यटक नेपाल आउँथे । तर आन्दोलन चर्किएसँगै यो संख्या घटेर १,३०० मा झरयो, जसले करिब ४० प्रतिशत गिरावट देखायो । त्यो पनि नेपालकै मुख्य पर्यटन याम सुरु हुने बेलामा । यसको प्रत्यक्ष असर काठमाडौं उपत्यका, पोखरा, चितवन, लुम्बिनी जस्ता प्रमुख गन्तव्यमा मात्र नभई सुदूर–पूर्व र पश्चिमका पदमार्ग, गाउँस्तरीय होमस्टे, साहसिक पर्यटन व्यवसायदेखि होटेल–रेस्टुरेन्टसम्म व्यापक रूपमा महसुस गरियो ।
पर्यटन क्षेत्र सधैँ संकटको पहिलो शिकार हुने कारण धेरै छन्। पहिलो, पर्यटन पूर्ण रूपमा शान्ति, स्थिरता र सकारात्मक छविमा निर्भर गर्छ । साना अशान्ति वा हिंसात्मक गतिविधिले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत ठूलो छविगत नोक्सानी गर्छ । दोस्रो, पर्यटन सञ्जाल अत्यन्तै जटिल छ—एयरलाइन, होटल, ट्राभल एजेन्सी, गाइड, स्थानीय पसलदेखि गाउँको होमस्टेसम्म सबै एकअर्कासँग जोडिएका हुन्छन्। सञ्जालको कुनै एउटा भाग प्रभावित हुँदा सम्पूर्ण मूल्य शृङ्खला डगमगाउँछ । तेस्रो, पर्यटकले आफ्नो यात्रा लामो समयअघि बुक गर्ने भएकाले असुरक्षा वा अनिश्चितताको सानो संकेतले पनि तत्काल बुकिङ रद्द हुन्छ, जसले होटल र व्यवसायलाई सीधा घाटा पु¥याउँछ । चौथो, पर्यटन ‘लक्जरी खर्च’ को हिस्सा भएकाले यात्रुहरू अनिश्चिततामा पहिलोपटक यात्रा नै त्याग्छन् । यही कारणले गर्दा भूकम्प, महामारी वा राजनीतिक आन्दोलन जस्ता घटनामा अन्य उद्योगले आंशिक क्षति बेहोर्दा पर्यटन भने प्रायः सम्पूर्णरूपमा ठप्प हुने गर्दछ ।
पोखराको उदाहरण हेर्ने हो भने, करिब ७० प्रतिशत बुकिङ रद्द हुँदा होटल व्यवसायीले लाखौँको घाटा खेपे । सम्मेलन र सेमिनार स्थगित हुँदा त्यहाँ आश्रित कर्मचारी, सप्लायर्स र स्थानीय बजारसम्म नकारात्मक प्रभाव फैलियो । यही बेला, हवाई सेवा प्रदायकहरूले फ्लाइट रद्द गर्नु प¥यो, ट्राभल एजेन्सीले अग्रिम भुक्तानी फिर्ता गर्नुप¥यो, र गाइड, पोर्टर, चालकहरू बेरोजगार बने । पर्यटन केवल विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र मात्र नभई लाखौँ नेपालीको रोजगारीसँग प्रत्यक्ष जोडिएको हुनाले यसको धक्का व्यापक सामाजिक दबाबका रूपमा पनि देखा प¥यो ।
विश्व पर्यटन परिषद्को तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान करिब ८ प्रतिशत छ भने रोजगारी सिर्जनामा यसको योगदान १० प्रतिशतभन्दा बढी छ । यस्तोमा, पर्यटनमा आएको झड्काले आर्थिक मात्र नभई सामाजिक संरचनामा समेत ठूलो दबाब सिर्जना गरेको छ। विगतका अनुभवले देखाएको छ कि भूकम्प, महामारी वा बन्दाबन्दीको समयमा जस्तै, पर्यटन नै पहिलो प्रभावित क्षेत्र बन्ने र अन्तिममा मात्रै उठ्ने प्रवृत्ति देखिन्छ । यही कारणले आन्दोलनले दिएको क्षति अल्पकालीन मात्र नभई दीर्घकालीन हुनसक्ने संकेत दिएको छ । नेपालको हालको अवस्थाले दक्षिण एशियाका अन्य मुलुकहरूले भोगेका संकट स्मरण गराउँछ । श्रीलङ्कामा २०१९ को इस्टर बम विस्फोटपछि पर्यटक आगमन ७० प्रतिशतले घटेको थियो, जसले अर्थतन्त्रलाई वर्षौँसम्म कमजोर बनायो । २०२२ को आर्थिक संकट र सडक आन्दोलनले थप धक्का दियो, तर पारदर्शी सञ्चार र अन्तर्राष्ट्रिय सहकार्यका कारण उनीहरूले विस्तारै पुनःस्थापना गरे । माल्दिभ्समा २०१८ को राजनीतिक संकटपछि पर्यटक संख्या घटेको थियो, तर सरकार–निजी क्षेत्र सहकार्य र आक्रामक प्रचार अभियानमार्फत छिट्टै पुनःउठान सम्भव भयो । यी अनुभवले नेपाललाई स्पष्ट सन्देश दिन्छन्, संकटपछि पुनःस्थापना सम्भव छ । तर सही रणनीति, सहकार्य र दीर्घकालीन दृष्टिकोण अनिवार्य हुन्छ ।
नेपालमा अहिले दुई तहको चुनौती देखिन्छ। पहिलो, तत्कालीन क्षति–जस्तै होटल, एयरलाइन, ट्राभल एजेन्सी, गाइड सेवा, सांस्कृतिक कार्यक्रम र स्थानीय व्यवसायमा आएको घाटा। दोस्रो, दीर्घकालीन विश्वासको संकट–अन्तर्राष्ट्रिय बजारमा नेपाल असुरक्षित छ भन्ने धारणा, जसले ब्रान्ड इमेजमा नकारात्मक असर पार्छ । यदि समयमै कदम चालिएन भने यो धारणा दीर्घकालीन हुनसक्छ र बजार गुम्ने जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा, संकट व्यवस्थापनका लागि बहुआयामिक उपाय आवश्यक हुन्छन् । अन्तर्राष्ट्रिय सञ्चारलाई पारदर्शी बनाउनुपर्नेछ, जसअन्तर्गत नेपाल अझै सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभरि फैलाउनुपर्छ । आन्दोलनकै बीचमा अन्नपूर्ण, मनास्लु र सगरमाथा क्षेत्रमा विदेशी आरोहीहरूले सफल आरोहण गरेका घटनालाई प्रवद्र्धन गर्न सकिन्छ । यस्ता तथ्यहरूले असुरक्षाको धारणा कम गर्न मद्दत गर्छन् । प्रमुख गन्तव्यहरूलाई सुरक्षित जोन घोषणा गरेर यातायात, आवास र गाइड सेवामा कुनै अवरोध नहुने ग्यारेन्टी दिन सकिन्छ । यसले अन्तर्राष्ट्रिय बजारमा विश्वास बढाउँछ । भारत, बङ्गलादेश, श्रीलङ्का जस्ता नजिकका बजारमा लचिलो बुकिङ नीति, छुट सुविधा, स्वास्थ्य र सुरक्षा ग्यारेन्टीसहित प्रचार अभियान चलाउन सकिन्छ ।आन्दोलनको मूल कारण नै युवामा बढ्दो असन्तुष्टि हो । यस्तोमा, पर्यटन क्षेत्र नै युवालाई अवसर दिने प्लेटफर्म बन्न सक्छ । गाइड तालिम, होमस्टे सञ्चालन, हस्तकला उत्पादन, डिजिटल मार्केटिङ, साहसिक पर्यटन सेवा आदिमा उनीहरूको सहभागिता बढाउन सकिन्छ। यसले आन्दोलनको नकारात्मक ऊर्जा उत्पादनशील शक्तिमा परिणत गर्न सक्छ। ग्रामीण बस्तीमा पर्यटक पुग्दा होमस्टे, हस्तकला, स्थानीय खाना र सांस्कृतिक प्रस्तुतिबाट प्रत्यक्ष आम्दानी बढ्छ। यसले पर्यटनलाई आत्मीय र दिगो बनाउँछ, साथै सामाजिक असमानता घटाउन पनि मद्दत गर्छ ।
दीर्घकालीन दृष्टिकोणमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य हुन्छ। विश्व पर्यटन संगठन, अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी, बीमा कम्पनी र एयरलाइनसँग सहकार्य गरेर नेपाललाई पुनःस्थापित गर्न सकिन्छ । स्थायी ‘पर्यटन संकट व्यवस्थापन इकाई’ गठन गरेर भविष्यमा यस्ता चुनौती आउँदा तुरुन्त प्रतिक्रिया दिन सकिन्छ । सरकार र निजी क्षेत्रले मिलेर विशेष अनुदान, कर छुट, ऋण पुनःतालिकीकरण सुविधा जस्ता आर्थिक उपाय लागू गर्न सकिन्छ। होटल, ट्राभल एजेन्सी, गाइड र होमस्टे सञ्चालकलाई सहज ऋण, तालिम र कर छुट दिन सकिन्छ, जसले पुनःप्रवाह सिर्जना गर्छ र रोजगारी बढाउँछ ।
पर्यटन केवल अस्थायी आम्दानी होइन, राष्ट्रिय अर्थतन्त्र र सामाजिक स्थायित्वसँग जोडिएको क्षेत्र हो । जेन जेड आन्दोलनले देखाएको छ कि सुशासन, पारदर्शिता, समान अवसर र राजनीतिक स्थिरता बिना पर्यटन दिगो हुन सक्दैन । नेपालले भूकम्प, महामारी र बन्दाबन्दी पार गरिसकेको अनुभवले देखाएको छ–संकटलाई अवसरमा बदल्न सकिन्छ । तर यस पटक आवश्यक छ दीर्घकालीन सोच र साझा सहकार्य । पारदर्शी सञ्चार, सुरक्षा सुनिश्चितता, युवा अवसर सिर्जना, लचिलो नीति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राखियो भने नेपाल फेरि सुरक्षित, आत्मीय र साहसिक गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत हुन सक्छ ।
यो अवस्थाबाट बाहिर निस्कनका लागि दीर्घकालीन सोच र नवीन दृष्टिकोण आवश्यक छ । पहिलो, पर्यटनलाई संकट–प्रतिकारक बनाउन ‘विविधीकरण’ अपरिहार्य छ–एकतर्फ विदेशी पर्यटकमा मात्र निर्भर नहुने, अर्कोतर्फ घरेलु पर्यटनलाई सबल बनाउने। दोस्रो, ‘विश्वास’ पुनःनिर्माणका लागि पारदर्शी सञ्चार प्रणाली स्थापना गर्नुपर्छ, जसमा सरकार, निजी क्षेत्र र स्थानीय समुदाय सबैको साझा भूमिका होस्। तेस्रो, अन्तर्राष्ट्रिय बजारमा नेपाललाई केवल प्राकृतिक सौन्दर्य वा साहसिक गतिविधिले मात्र होइन, संकटलाई व्यवस्थापन गर्न सक्ने सक्षम देशका रूपमा पनि चिनाउनुपर्छ ।
चौथो, पर्यटन क्षेत्रलाई स्थायित्व दिने गरी ‘सामाजिक अनुबन्ध’ निर्माण गर्नुपर्छ—जहाँ आन्दोलन, असन्तुष्टि वा नीतिगत अस्थिरताबाट सर्वाधिक प्रभावित हुने समुदायलाई प्राथमिकतामा राखेर अवसर, तालिम र आर्थिक सुरक्षाको सुनिश्चितता दिलाइयोस्। यस्ता उपायहरू अपनाएमा पर्यटन केवल असुरक्षित क्षेत्र होइन, संकटपछि अझ सबल भएर उठ्ने गतिशील उद्योग बन्न सक्छ । जेन जेड आन्दोलनले पर्यटन क्षेत्रमा गहिरो धक्का पु¥याएको छ, तर यसले सुधार र पुनःनिर्माणको अवसर पनि दिएको छ । संकटबाट सिकेका पाठलाई कार्यान्वयन गर्ने हो भने नेपालको पर्यटन क्षेत्र पुनः उन्नतिको बाटोमा लाग्न सक्छ। सहकार्य, नवप्रवर्तन र दीर्घकालीन दृष्टिकोण अपनाए नेपाल फेरि अन्तर्राष्ट्रिय पर्यटन नक्शामा शक्तिशाली रूपमा उदाउन सक्छ । संकटलाई क्षति मात्र नभई अवसरका रूपमा हेरिनुपर्ने आवश्यकता यस आन्दोलनले प्रष्टसँग देखाइदिएको छ, र यदि सही रणनीति अपनाइयो भने नेपालको पर्यटन फेरि नयाँ उचाइमा पुग्ने सम्भावना अवश्य छ ।