Pokharapatra National Daily

अब अनेरास्ववियु कास्कीको परिकल्पना

–रवि क्षेत्री
विद्यार्थी नेता भनेको माउ संगठनका नेताका पछुवामात्र होइनन्, नेतालाई पनि सही बाटोमा डो¥याउने ल्याकत राख्नुपर्छ । गलतलाई दरिलो खुट्टा टेकेर गलत नै भन्न सक्नुपर्छ । परिवर्तनको सुरुवात यही विन्दुबाट हुनुपर्छ ।
नेपाली विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्की आफ्नो २३ औं जिल्ला अधिवेशनको संघारमा छ । साउनको ५ र ६ गते पोखरामै हुन लागेको सम्मेलनको तयारीमा विद्यार्थी साथी जुटिसकेका छन् ।
प्रविधिले गर्दा समाज चेतनशील भइसकेको छ । कसले कस्तो गतिविधि गरिरहेको छ भन्ने विद्यार्थी, उनीहरुका अभिभावकले पनि नियालिरहेका हुन्छन् । अब विद्यार्थीलाई अध्यक्ष, उपाध्यक्ष, सचिव बनेरमात्र बस्ने र काम नगर्ने छुट छैन । शैक्षिक क्यालेन्डरअनुसार नहुने, विद्यार्थी भर्नामा विद्यालयको मनपरी, परिचयपत्र छुट नदिनेजस्ता थुप्रो समस्या छन् । अब यस्ता समस्या समाधानमा अनेरास्ववियुमात्र होइन सबै विद्यार्थी संगठन एकजुट हुनुपर्छ । विद्यार्थी नेता भनेको माउ संगठनका नेताका पछुवामात्र होइनन्, नेतालाई पनि सही बाटोमा डो¥याउने ल्याकत राख्नुपर्छ । गलतलाई दरिलो खुट्टा टेकेर गलत नै भन्न सक्नुपर्छ । परिवर्तनको सुरुवात यही विन्दुबाट हुनुपर्छ ।
पृष्ठभूमि
२०७० साल साउन २४ मा अनेरास्ववियुको २२ औं जिल्ला अधिवेशनमार्फत क. विवेक देवकोटाको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो । पार्टी एकता, टुटफुटलगायत कारणले अधिवेशन हुन सकेको थिएन । नेकपा एमाले र माओवादी पार्टी एकता भएपछि अनेरास्ववियु पार्टीजस्तै रुमलिन पुग्यो । तत्कालीन नेकपाको आन्तरिक द्वन्द्वले गर्दा पुनः दुई नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र) बिउँतियो । वि.स. २०७८ माघ ११ मा क. विवेक देवकोटा नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी कास्कीको बृहत भेलाबाट क. विजय पौडेल नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी आयोजक कमिटी गठन सँग–सँगै जिल्लाका पालिका कमिटी, क्याम्पस कमिटी सबैमा आयोजक कमिटी निर्माण गरि संगठन विस्तार भयो । २०७८ सालपछि पनि अनेरास्ववियु कास्कीको जिल्ला सम्मेलन गर्ने चर्चा त चल्यो तर विविध कारणले हुन सकेन । क. विजय पौडेल आफ्नो करिब २ वर्ष कार्यकाल सकेपछि क. सन्तोष पोखरेल नेतृत्वमा अनेरास्ववियु कास्की जिल्ला कमिटी गठन भयो । २३ औं सम्मेलनबाट आउने नेतृत्व कस्तो बन्ने र कस्ता–कस्ता कार्यक्रम तय गर्ने नै अहिलेको प्रमुख सवाल हो । अनेरास्ववियुको २३ औं जिल्ला कमिटीले सांगठनिक रुपमा चुस्त दुरुस्त कमिटी निर्माण गर्नुपर्छ । विद्यार्थी आन्दोलनमा देखिएको एउटा प्रमुख समस्या विद्यार्थीहीन विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्ने गरि कमिटी निर्माण गरिनुपर्छ ।
अनेरास्ववियु राजनीतिक नेतृत्व विकासको कारखाना हो । तसर्थ, अनेरास्ववियु कास्कीले सम्पूर्ण क्षेत्र र विषय अध्ययन गर्ने विद्यार्थीहरु समेट्ने गरि वर्तमान परिवेशको माग अनुरुप संगठन निर्माण गर्नुपर्छ । समावेशी र सहभागितामूलक कमिटी गठन गर्न सके मात्र अहिलेको विद्यार्थी आन्दोलनको मुद्दाहरु सम्बोधन हुन सक्छन् । अनेरास्ववियु कास्कीको २३ औँ सम्मेलबाट निर्वाचित हुने कमिटीले आफ्नो मुख्य ध्यान विद्यार्थी आन्दोलनलाई थप वैचारिक र व्यावहारिक बनाउन लगाउनुपर्छ । विद्यार्थी संगठनहरुको नेता संगठन अनेरास्ववियु आफ्नो मुद्दाप्रति इमान्दर बनेर सत्ताको सदैव प्रतिपक्षी संगठनको रुपमा रहेको छविलाई आलोचनात्मक चेतको विकास र सिर्जनात्मक सुझावका माध्यमबाट थप परिस्कृत बनाउनुपर्छ । अबको अखिल हरेक बिषयमा प्रश्न गर्न सक्ने, कार्यकर्ता, नेता उत्पादनमा लाग्नुपर्छ । समाजमा रहेका तमाम बेथिति, विकृतिको सम्बोधन गर्ने सरल उपाय भनेको प्रश्न गर्ने बानीको विकास गर्नु हो । अनेरास्ववियु कास्कीले प्रश्न गर्ने बानीको विकास गर्न प्रशिक्षण दिनेदेखि वैचारिक रुपमा यस्ता गतिविधिमा लाग्ने कार्यक्रम २१ औं सम्मेलनबाट पारित गर्नुपर्छ ।
के गर्न सकिन्छ ?
विद्यार्थी अधिकारको सवालः अनेरास्ववियु कास्कीले विद्यार्थी वर्गको हितको लागि के कस्ता कदम चाल्ने भन्ने विषय आजको प्रमुख प्राथमिकताको विषय हो । नेपालको संविधान २०७२ मा रहेको शिक्षासम्बन्धी नैसर्गिक अधिकारको पूर्ण कार्यान्वयनमा के–के कदम चाल्ने र अनेरास्ववियुको आन्दोलनबाट स्थापित अधिकारको कार्यान्वयनको विषयमा ठोस निर्णय गर्नुपर्छ । सार्वजनिक सवारीमा विद्यार्थीले परिचयपत्र देखाएबापत ४५ प्रतिशत छुट पाउँछन् । यसको कार्यान्वयनमा अझ गम्भीर हुनुपर्छ ।
शिक्षामा सुधारः शिक्षामा सुधार ल्याउन के कस्ता कदम चाल्ने भन्ने बिषयमा अबको कास्कीको अनेरास्ववियु थप प्रष्ट हुनुपर्छ । जस्तैः परिष्कृत पाठ्यक्रम, शिक्षक तालिम, विद्यालय विकास र पठन विधिको आधुनिकीकरणमा अनेरास्ववियु कास्कीको विशेष भूमिका रहनुपर्छ । अहिलेको शिक्षा व्यावहारिक नभई प्रमाणपत्रका लागि मात्र प्रयोगमा छ । यो सुधार गर्न आवाज उठाउनुपर्छ । मावि तहसम्म निशुल्क शिक्षा पाउनुपर्ने अधिकार पनि छ । तर, त्यो कार्यान्वयनमा छैन । यसलाई कार्यान्वयन गर्न सरकारलाई दबाब दिने गरी आन्दालेनलाई सशक्त बनाउनुपर्छ ।
कास्की गण्डकी प्रदेशमात्र होइन, देशभरका विद्यार्थीको शैक्षिक केन्द्र हो । मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ, रुकुम, रोल्पा, पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी पढ्न पोखरा आउँछन् । गण्डकी विश्ववद्यालय, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पससहित अन्य शैक्षिक संस्थामा पढ्न आउँदा कोठा भाडामा लिएर बस्नुपर्छ । आफैं रोजगारी नभएका र घरबाट लगानी भएर पढिरहेकाले चर्को कोठा भाडा तिनुपर्ने अवस्था छ । विद्यार्थीलाई थोरै भए पनि घर भाडामा सहुलियत दिने वातावरण बनाउन सके देशभरकै नमूना काम हुनेछ ।
युवा सशक्तिकरणः अनेरास्ववियु कास्कीका युवाहरूलाई सशक्त बनाउन, सामाजिक, राजनीतिक र आर्थिक मुद्दामा उनीहरूको सक्रियतामा उत्कृष्ट भूमिका खेल्ने कार्यक्रम ल्याउनुपर्छ । युवाहरूको नेतृत्व कौशलहरूलाई कसरी बढाउन सकिन्छ र उनीहरूलाई सक्रियतापूर्वक अवसर प्रदान गर्न सकिन्छ यी र यस्ता तमाम् विषयमा आफ्नो प्रष्ट दृष्टिकोणसहित अगाडि आउनुपर्छ । अहिले ‘पढ्दै कमाउँदै’ कार्यक्रम संघ र प्रदेश सरकारका नीतिमा समेटिएका छन् । तर, यसको कार्यान्वयनको अवस्था कस्तो छ भन्नेमा विद्यार्थी संगठनले चासो दिनुपर्छ । शिक्षामा देखिएको वर्गीय खाडललाई तोडेर समान रुपमा शिक्षा हासिल गर्न सक्ने अवस्थाको निर्माण गर्न भूमिका खेल्नुपर्छ । सामाजिक न्याय र शैक्षिक समानताको मुद्दा अझ सशक्त बन्नुपर्छ ।
रोजगार र उद्यमशिलताः
अनेरास्ववियु कास्कीले विद्यार्थीलाई कसरी रोजगार र उद्यमशिलतामा जोड्ने भन्ने विषयमा बहस गर्नुपर्छ र निकास दिनुपर्छ । देशमा देखिएको शैक्षिक बेरोजगारीलाई सम्बोधन गर्न र विद्यार्थी पलायन रोक्न अनेरास्ववियु कास्कीले समाधानसहितको सुझाव लिएर सरोकारवाला निकायसँग समन्वय गर्नुपर्छ, निकास दिनुपर्छ । विद्यार्थी संगठनले कसैलाई रोजगारी दिने अवस्था त हुँदैन । तर, काम गर्छु भन्नेलाई तालिम दिने, उत्प्रेरणा थप्ने गतिविधि गर्न सकिन्छ ।
काठमाडौंमा अहिले ‘बुक फ्री फ्राइडे’ अभियान चल्तीमा छ । त्यसलाई पछ्याउँदै पोखरा महानगरपालिकाले पनि आफ्नो नीतिमा सोही अभियानलाई समेटेको छ । कास्कीमा पनि शुक्रबार पढाइबाहेक व्यावहारिक र जीवनउपयोगी शिक्षामा संगठनले पहल गर्दा उचित हुन्छ ।
विद्यार्थी आन्दोलनः अनेरास्ववियु कास्कीले विद्यार्थी आन्दोलनमा तमाम विद्यार्थीलाई सहभागिताको प्रोत्साहन दिने र सामाजिक, राजनीतिक मुद्दामा सक्रियतापूर्वक लाग्न जागरुक भएर लाग्नुपर्छ । विद्यार्थीहरूलाई न्यायपूर्ण प्रदर्शन वा अभियानमा सहभागी बन्न प्रेरित गर्ने कार्यभार अनेरास्ववियु कास्कीले पुरा गर्नुपर्छ । जस्तैः विद्यालय, क्याम्पसमा केही समस्या भएमा सुरुमा त्यहीँका विद्यार्थीले आवाज उठाउन सक्ने गरी मनोबल विकास गर्ने वातावरण गर्नुपर्छ ।
विद्यार्थीको स्वास्थ्यः विद्यार्थीहरुको शारीरिक र मानसिक सुधार गर्ने उपायको विषयमा कार्यक्रम ल्याउनु पर्छ । विद्यार्थीको निशुल्क स्वास्थ बीमा अनेरास्ववियु कास्कीको मुद्दा बन्नुपर्छ । कुनै विद्यालयले वार्षिक क्यालेन्डरमा खेल गतिविधिलाई नसमेटेका हुन सक्छन् । त्यस्तो थाहा पाएमा विद्यालयलाई त्यसका लागि दबाब दिनुपर्छ । हरेक हप्ता खेलकुद गतिविधि गराउन पनि संगठनले विद्यालयलाई झक्झकाउनु पर्छ ।
पर्यावरणीय संरक्षणः अनेरास्ववियु कास्कीले विद्यालय, क्याम्पस र समुदायमा पर्यावरणीय जागरुकता, संरक्षणको विषयमा अभियान चलाउनु पर्छ । संगठनले ‘एक कार्यक्रम, एक वृक्षारोपण’ अभियान चलाएर कुनै कार्यक्रम गर्नुअघि एउटा वृक्ष रोप्ने, संरक्षण गर्ने गर्नुपर्छ । वार्षिक कम्तीमा २० वटा कार्यक्रम भए भने २० वटा वृक्ष रोपिन्छन् । संगठनले हप्ता दिन, १५ दिन वा एक महिनामा कास्कीको कुनै एउटा खोला, ताल, सडक सरसफाइ अभियान पनि चलाउन सक्छ । यस्ता गतिविधि सृजनात्मक र प्रशंसायोग्य हुन्छन् ।
सहज यातायातमा पहल ः पोखरा महानगरका ग्रामीण भेग, रुपा, मादी, माछापुच्छे अन्नपूर्ण गाउँपालिकाबाट बिहानी सत्रमा पोखरा पढ्नेहरु छन् । बिहानै सार्वजनिक यातायातको सुविधा नहुने भएकाले परिवारबाट अलग बसेर, थप व्ययभार बोक्नु परेको छ । बिहान ५ बजे नै यातायात सुविधा भएपछि बिहानी सत्र पढ्न घरबाटै आउन भ्याउनेलाई लाभ मिल्छ । यसमा बस व्यवसायी, पालिकासँग समन्वय गरेर बिहानै बस सञ्चालनको व्यवस्था गर्न सक्दा राम्रो हुन्छ ।
–पूर्व अनेरास्ववियु मादी गाउँ पालिका अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य, कास्की

प्रतिकृया दिनुहोस्