Pokharapatra National Daily

पोखराको ड्रयागन बोट प्रतियोगिताले नेपाल चीन जनसम्बन्धलाई प्रगाढ बनाउनेछ

-मेल्सम ओझा
ड्रयागन बोट पर्व अर्थात तुवान उचे चीनको परम्परागत उत्सव हो । चिनियाँ जनताहरु आफनो सुप्रशिद्ध कबि छु युवानको सम्झना गर्दै यस उत्सबलाई भब्यतापूर्वक मनाउने गर्दछन् । चन्द्र पात्रो अनुसार पाँचौ महिनाको पाँचौ दिन ड्रयागन बोट पर्व मनाउने गरिन्छ । यस वर्ष उक्त दिन अंग्रेजी पात्रोमा गणना गर्दा जुन २२ मा पर्न आएको छ । ईशा पूर्व ३४० मा छु युवानको जन्म हालको हुपेइ प्रान्तमा भएको थियो । विभिन्न जनावरहरुको मिश्रण रहेको दुई सिंगे पाँच खुट्टे ड्रयागनलाई चिनियाँ इतिहासमा शाङ र चौ वंशको शासन कालमा शासक र प्रशासकहरुको शक्तिको प्रतिकका रुपमा मान्न थालियो । यसको पूजाआजा गरेमा अधिक मात्रामा कृषि फसल उत्पादन हुने र सुखी भबिष्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।
छु युवान एक देशभक्त कबि थिए । उनले देश र जनताको पक्षमा सुन्दर कबिताहरुको रचना गरेका थिए । चन्द्र पात्रो अनुसार पाँचौ महिनाको पाँचौ दिन उनले आफनो देश अर्थात प्राचिन कालको चु राज्यको राजधानीलाई अत्याचारी छिन राज्यले कब्जा गरेको सन्देश पाएपछि ईशापूर्व २७८ मा ६२ वर्षको उमेरमा हालको हुनान प्रान्तमा रहेको तोङतिङ तालको पूर्वी तटमा रहेको मिलुओ नदीमा हाम फालेर मृत्युवरण गरेका थिए । उनले नदीमा हामफालेको थाहा पाएपछि स्थानिय जनताहरुले आफनो देशभक्त कबिलाई खोज्न डुँगा प्रयोग गरेका थिए । सन् २००८ बाट देशभक्त कबिप्रति जनतामाझ रहेको सदियौँ पुरानो भावलाई सम्बोधन गर्दै राष्ट्रिय पर्वको रुपमा बिदा दिने ब्यवस्था चीन सरकारले गरेको थियो ।
जनताहरु कबिको शरिर सुरक्षाका लागि पनि सचेत रहेको पाइन्छ । दुष्ट आत्माहरुले छु युवानको शरिरलाई हरण गर्न नसकोस् भनेर डुँगा चलाउने क्रममा टोली नेताले ड्रम सेट बजाउने, डुँगा खियाउने अन्य सदस्यले प्याडल जुधाएर ध्वनी सिर्जना गर्ने गर्दछन् । माछा लगायत अन्य जलचरले कबिको शरिरलाई हानी नपुर्याउन् भनी स्वादिलो हरियो पातलाई त्रिकोणात्मक आकार दिई बफाइएको मोटो चामलको चिप्लो भातलाई धागोले पोको पारेर खोला तालमा अर्पण गर्दछन् । यस प्रकारको खाद्यान्नलाई चिनियाँ भाषामा चोङची भनिन्छ । मानिसहरु एक आपसमा आफुले तयार गरेको चोङची साटासाट समेत गर्छन् । चिनियाँ जनताको आर्थिक स्थितिमा क्रमश सुधार आउँदै गर्दा चोङचीमा राखिने बस्तुहरुमा पनि नयाँपन आएको छ । अचेल उनीहरु छोक्रा, बँधेलको मासु लगायतका चीजहरु राखेर चोङचीलाई अझ स्वादिलो बनाउने गर्दछन् । चियाङसु, चचियाङ प्रान्त र याङसी नदीका किनारमा बस्ने चिनियाँ जनताहरु चोङचीसँगै चिनियाँ जडिबुटीबाट निर्मित रियालगर वाइन पिउने गर्छन् । यस मौसममा लामखुट्टे, विच्छी र सर्पको डसाईबाट हानी नपुगोस् भनि उनीहरु यसप्रकारको घरेलु वाइन पिउने गर्छन् ।
बालबालिकाहरुको लागि पनि यो उत्सब रुचीकर हुने गरेको छ । अभिभावक, आफन्त र छिमेकीहरुले बालबालिकाहरुलाई रेशमी कपडाभिध सुगन्धीत फुल र जडिबुटी राखेर बनाइएको अत्तर सप्रेम प्रदान गर्ने गर्छन् । खोला तालमा ड्रमको आवाजले त्रशित दुष्ट आत्माले बालबालिकातर्फ आक्रमण गर्न सक्छ भनेरै उक्त अत्तर बालबालिकाको शरिरमा झुण्डयाउने चलन रहेको छ । अत्तरको बासनाले दुष्ट आत्माहरु बलबालिका नजिक पर्न सक्दैनन् भन्ने विश्वास चिनियाँ जनतामाझ रहेको छ ।
इजिप्टमा अवस्थित विश्वकै लामो नाइल नदीमा समेत दुई हजार वर्ष पुरानो ड्रयागन बोट पर्व सन् २०१७ मा आयोजना भएको थियो । इहाब गौदाले स्थापना गरेको इजिप्सीयन ड्रयागन बोट प्रतिष्ठानले इजिप्सीयन जनता र चिनियाँ जनताबीचको मैत्री सम्बन्ध र सहकार्यलाई बलियो बनाउन उक्त कार्यक्रमको आयोजना गरेको थियो । एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत इञ्जिनियर एल दिन ड्रयागन बोट खियाउँदा पाखुरीमा असाध्यै बल परेपनि नाइल नदीको प्राकृतिक छटा र प्रतिष्पर्धीहरुबीचको तालमेलले निक्कै प्रभावित बनेका थिए । यस कार्यक्रमले हालैका वर्षहरुमा पनि निरन्तरता पाएको छ ।
कबि छु युआनको स्मृतिमा प्रशिद्ध साहित्यकार लियाङ चनहुवाले तयार गरेको उपन्यासमा आधारित रहेर सन् २०१७ मा ‘सङ अफ फिनिक्स’ नामक टेलिसिरियल प्रदर्शनीमा आएको थियो । उक्त सिरियलमा दरकारकै एक दासीसँग कबि छु युआन (प्रशिद्ध चिनियाँ कलाकार मा ख) को प्रेम भएको तर दरबारिय शक्तिको कोपभाजनले आफनो प्रेमसम्बन्ध र छिन राज्यले देशको सुरक्षामा गम्भिर आघात पुर्याइरहेको हुँदा जनताको रक्षा लागि दरबारबाट कठिन यात्रामा निस्किएको देखाइएको छ । सिरियलले इतिहासलाई तोडमोड गरेको भन्दै केही विरोध भएतापनि किशोरावस्थाका चिनियाँहरुले मन पराएका थिए ।
ड्रयागन बोट पर्वको समयमा चिनियाँ उपभोक्ताको माग र खपत अधिक मात्रामा बढेको पाइन्छ । तीन दिने बिदाका अवसरमा आफनो गृहस्थल वा नयाँ स्थानमा घुम्न जाने चिनियाँहरुको संख्यामा वृद्धि हुने गरेको छ । हवाई जहाज, रेल र बसका टिकट पर्व सुरु हुनु दूई हप्तापूर्व नै विक्री भइसक्ने गर्छ । चीनमा अध्ययन गर्न गएका विदेशी विद्यार्थीहरुले पनि यस बेला आफना चिनियाँ साथीभाइसँगै कार्यक्रमहरुको मनोरञ्जन लिने गर्दछन् । आफनो मौलिक संस्कृति र पर्वहरुको संरक्षण र सम्वद्र्धनमा उनीहरुको ध्यान आकृष्ट भएको पाइन्छ ।
नेपालमा पहिलोपटक चिनियाँ दुतावास, नेपाल टुरिजम बोर्ड, पोखरा पर्यटन परिषद् र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवातालमा हुन गैइरहेको ड्रयागन बोट प्रतियोगिताले देशभक्त कबि छु युआनको सम्झना गर्नुका साथै सदियौँ पुरानो नेपाल चीन मैत्री सम्बन्धलाई थप नयाँ उचाई प्रदान गर्नेछ । यस कार्यक्रमले विश्वभर छरिएर रहेका चिनियाँहरुलाई नेपालतर्फ ध्यानाकर्षण गराउँदै नेपालको भ्रमण गर्न आउन सन्देश प्रवाह गर्नेछ । कोभिडका कारण लगभग धारासायी अवस्थामा पुगेको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस कार्यक्रमले सहयोग गर्ने देखिन्छ । यसै वर्षको सुरुवातमा उद्घाटित पोखरा अन्तराष्ट्रिय विमानस्थल सम्बन्धी फैलिएको हल्लालाई सिचुवान प्रान्तको छन्तुबाट उडेको सिचुवान एअरलाइन्सको एअरबस ३१९ को अवतरणले निराकरण गरेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले समेत तीनदेखी चारवटा एअरबस ३१९ खरिद गरेर पोखराबाट चीनका दक्षिणमा अवस्थित प्रान्तहरुमा सिधा उडान गरी जनताबीचको कनेक्टीभिटी वा सम्पर्कलाई प्रवद्र्धन गर्नुपर्छ । सन् २०१९ मा नेपाल र चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उच्च पदाधिकारीहरुको संयुक्त टोलीले विगतमा गरिएको नेपाल चीन हवाई सम्झौताको पुनरावलोकन गर्दै अनुमती प्राप्त चीनका ७ गन्तब्यलाई बढाएर १५ वटामा पुर्याएको छ । निगमले सन् २०१९ मै चीनको क्वाङचौ शहरमा उडान गर्ने तयारी गरिरहेको समयमा कोभिडका कारण पछि हट्नु परेको थियो । सर्वोच्च शिखर सगरमाथा आसपासबाट अधिक मात्रामा अक्सिजन, इन्धन र सो सम्बन्धी अन्य वस्तु बोकेर उड्नुपर्ने हुँदा यस क्षेत्रका लागि एअरबस ३१९ लाभदायी हुने देखिन्छ । टिकट केही महङ्गो हुन सक्ला यद्यपी दुवै देशका सरकारले पर्यटन प्रवद्र्धनका लागि केही रणनीति अप्नाउन सक्नेछन् जसले जनतालाई सहजता महशुस होस् ।
सन् २००६ मा स्थापित नेपाल चीन प्रतिष्ठान नेपालका सबै देशभक्त साहित्यकारका र चिनियाँ कबि छु युवानप्रति हार्दिक नमन प्रकट गर्दै सम्पुर्ण चिनियाँ र नेपाली जनताको दिर्घायुको कामना गर्दछ । ड्रयागन बोट प्रतियोगिता, वायुसेवाहरुको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भएको अवतरणको मुक्तकण्ठले प्रशंसा गर्दछ साथै सम्बन्धीत पक्षहरुसँग विगतमा जस्तै सहकार्य गरिरहनेछ ।
(लेखक नेपाल चीन प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ)

प्रतिकृया दिनुहोस्