Pokharapatra National Daily

नेपालमा मानवसंसाधन योजना तथा यसका समस्याहरु

-इन्द्रकमल मानन्धर
संगठनको साझा लक्ष्य हासिल गर्नका लागि कार्यरत सम्पूर्ण जनशक्तिलाई मानवसंसाधन भनिन्छ । मानवसंसाधनलाई संगठनको अमूल्य सम्पत्ति पनि भनिन्छ । किनभने मानवसंसाधनको सहयोगबाट संगठनमा अन्य भौतिक साधनहरु जस्ते पूँजी,कच्चा पदार्थ, मेसिन तथा विधिहरुको प्रभावकारी परिचालन गर्न सकिन्छ । मानवसंसाधनको प्रभावकारी परिचालनबाट संगठनमा हानीनोक्सानी हटाउन,उत्पादकत्व बढाउन र बस्तु तथा सेवाको गुणस्तर बृद्धि गर्न सकिन्छ । वर्तमान प्रतिस्पर्धात्मक व्यावसायिक वातावरणमा सफलता पाउनका लागि प्रभावकारी तथा कुशल मानवसंसाधनको व्यवस्थापन गर्नु अति आवश्यक छ । संगठनले चाहेजस्तो संगठनात्मक लक्ष्य हासिल गर्न उचित मानवसंसाधन व्यवस्थापन गर्नुपर्दछ । मानवसंसाधन व्यवस्थापन अन्तर्गत मानवसंसाधनको प्रभावकारी उपयोग गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु पर्दछ । य िप्रक्रिया अन्तर्गत संसाधन प्राप्ति,विकास,सदुपयोग र सम्भार सम्बन्धी कार्यहरु पर्दछ । यी कार्यहरुलाई मानवसंसाधन प्रभावकारी योजना तयार गरी त्यसको अधिकतम सदुपयोग गर्नुपर्दछ । संगठनको लक्ष्यलाई सफलतापूर्वक प्राप्त गर्न सक्षम र योग्य कर्मचारीहरुको प्राप्ति गर्नुपर्दछ । सक्षम र योग्य कर्मचारी प्राप्त गर्न प्रभावकारी भर्ना, छनौट र सामाजिकीकरणका कार्यक्रमहरु संचालन गर्नुपर्दछ । सक्षम र योग्य मानवसंसाधन प्राप्तिपछि परिवर्तित वातावरणअनुसार आवश्यकतानुसार उनीहरुको योग्यता र सिप विकास गर्न प्रभावकारी तालिम विकास कार्यक्रम संञ्चालन गर्नुपर्दछ । यी सिपयुक्त तथा योग्य कर्मचारीहरुलाई संगठनको लक्ष्यप्राप्तिका लागि अधिकतम सदुपयोग गर्नुपर्छ । कर्मचारीहरु संगठनको अमूल्य सम्पत्ति भएकाले उनीहरुको उचित सम्भार पनि गर्नुपर्दछ । यसको लागि उनीहरुलाई अन्य संगठनमा नजाने वातावरण बनाई असल कार्यवातावरण,वृत्ति विकास,आकर्षक तलब,ज्याला र सुविधा, मानसम्मान आदिको व्यवस्था गरी मानवसंसाधनको उचित सम्भार गर्नुपर्दछ । यसरी सबै क्रियाकलापको उचित प्रबन्ध गर्नु नै वास्तवमा मानवसंसाधन व्यवस्थापन हो ।
भविष्यमा गर्नुपर्ने कार्यको पूर्वतयारी वा खाकालाई योजना भनिन्छ । योजनाले निर्धारित लक्ष्य प्राप्त गर्न कुन काम,कहिले,कसरी र कसले सम्पादन गर्ने भन्ने वारेमा जानकारी प्रदान गर्दछ । योजनाले वर्तमान र भविष्यलाई जोड्ने कार्य गर्दछ । भविष्यमा गरिने कार्यको लागि वर्तमानमा कार्यको खाका वा मार्गचित्र तयार गर्नु नै योजना हो । योजना विना गरिएको कार्यले चाहेको गन्तव्यमा पुग्न सकिदैन । योजना बनाउनु भनेको कुनै काम गर्नु अगाडि त्यस कामलाई सफलतापूर्वक सम्पन्न गरी प्रतिफल प्राप्त गर्न आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था गर्नुलाई पनि बुझाउँछ । त्यसैले भविष्यमा प्राप्त गर्न चाहेको अपेक्षित प्रतिफल प्राप्त गर्न आवश्यक पूर्वतयारी गर्नु नै योजना हो ।
मानवसंसाधन योजना भनेको संगठनको लक्ष्य प्राप्त गर्न संगठनमा कार्यरत कर्मचारीहरुको प्रबन्ध गर्ने योजना हो । यसले कर्मचारीहरुको परिचालन सम्बन्धी कार्यहरुको प्रारुपलाइ जनाउँछ । यस अन्तर्गत नै कर्मचारीहरुको प्राप्ति,विकास,सदुपयोग र सम्भार सम्बन्धी कार्यहरुको पूर्व निर्धारण गर्ने कार्यहरु पर्दछ । मानवसंसाधन योजनामा संगठनमा हाल कति कर्मचारीहरु कार्यरत छन्,भविष्यमा कति कर्मचारीहरुको माग र आपूर्ति आवश्यक पर्दछ भन्ने लेखाजोखा गरी सही प्रकारको जनशक्ति सही संख्यामा प्राप्त गर्ने कार्यको सुनिश्चित गरिन्छ । यही योजनाको आधारमा नै मानव संसाधन विभागले संगठनलाई आवश्यक कर्मचारी प्राप्तिका लागि भर्ना तथा छनोटका प्रक्रियाहरु अगाडि बढाउँछ । यसले संंगठनका सम्पूर्ण उपलव्ध संसाधनको अधिकतम सदुपयोग गर्न पनि सहयोग गर्दछ । मानवसंसाधन योजनाले संगठनमा प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक मानवसंसाधनको संख्या,योग्यता,गुण,अनुभव आदि निश्चित गर्दछ । संगठनलाई कहिले कस्तो प्रकारको मानवसंसाधन कति आवश्यक पर्दछ भन्ने कुराको सही पूर्वानुमान गर्ने कार्य नै मानवसंसाधन योजना हो ।नेपाल एक भूपरिवेष्ठित तथा अल्पविकसित देश भएकोले उद्योग व्यवसायको विकासमा धेरै पछाडि रहेको छ । नेपालमा ठूला उद्योगहरु ज्यादै कम संख्यामा रहेकाछन् ।
नेपालमा संचालित उद्योगहरुमा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग (जस्तै कार्पेट,गार्मेन्ट,छाला आदि) पर्यटन उद्योग,बैक ,बीमा कम्पनी,शिक्षा,यातायात तथा निर्माण उद्योगहरु संचालित छन् । गरिबीको अवस्थामा गुज्रिरहेकोले देशमा प्रर्याप्त मात्रामा उद्योग व्यवसायको स्थापना र संचालन हुन नसकेको अवस्थामा देशभित्र प्रर्याप्त रोजगारीको अवसर प्राप्त नहँुदा दैनिक करिब १५०० श्रमशक्ति विदेशिन बाध्य भएकाछन् । विदेशिने मानवसंसाधन पनि सिपयुक्त र दक्ष नभएकाले विदेशी श्रमबजारमा पनि सम्मानजनक अवसर र सुविधा पाउन सकेका छैनन् । यसको साथै नेपालमा शैक्षिक संस्थाहरुले योजनाबद्ध तरिकाले रोजगारीमूलक शिक्षा दिन नसक्दा दक्ष जनशक्ति उत्षदन गर्न नसकेको देखिन्छ । नेपालका संगठनहरुमा मावनसंसाधन व्यवस्थापनको अवस्था सन्तोषजनक देखिदैन । नेपाली संगठनहरुमा प्रायः परम्परागत रुपमा मानवसंसाधनको व्यवस्थापन भएको पाइन्छ ।
परम्परागत रुपमा मानवसंसाधनको व्यवस्थापन गर्ने कारणले योग्य र दक्ष व्यवस्थापकहरुको अभावले वर्तमान प्रतिस्पर्धात्मक अवस्थामा चुनौतीहरु रहेको पाइन्छ । धेरैजसो नेपालको संगठनहरुमा मानवसंसाधन व्यवस्थापन र विकास सम्बन्धी स्पष्ट नीतिनियमको अभाव छ जस्को कारणले मानवसंसाधन योजनामा पनि विविन्न कठिनाइहरु रहेकाछन् । स्पष्ट योजनाको अभावमा सरकारी तथा नीजि संगठनहरुमा आवश्यक पर्ने दक्ष जनशक्तिको पूर्वानुमान तथा आपूर्तिका आन्तरिक तथा बाह्य स्रोतलाइ बिश्लेषण गरी आवश्यक जनशक्तिको निर्धारण गर्ने तर्फ ध्यान दिएको पाइदैन । सरकारी क्षेत्रमा मानवसंसाधनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको लोकसेवा आयोग समेत योजना विहीन अवस्थामा रहेको देखिन्छ । धेरैजसो नेपाली संगठनहरुले परम्परागत शैलीको व्यवस्थापन प्रणाली अपनाएको पाइन्छ । संगठनमा आवश्यक पर्ने जनशक्तिलाई अनौपचारिक रुपमा वा आफ्नाहरुलाइ भनसूनको आधारमा भर्ना र छनौट गर्ने गरेको पाइन्छ । यी संगठनहरुमा मानवसंसाधन विकास सम्बन्धी नीति तथा कार्यक्रमको अभावमा योग्य र दक्ष व्यवस्थापकको अभावमा संगठनको कार्यसम्पादनमा नै नकरात्मक असर पर्न जाने र मानवसंसाधन योजना निर्माण तथा कार्यान्वयनमा समेत कठिनाइहरु सिर्जना भएकोछ ।
नेपालमा मानवसंसाधन योजना सम्बन्धी समस्याहरु
नेपालमा मानवसंसाधन योजना तर्जुमा गर्ने परिपाटी नै ज्यादै कम रहेको पाइन्छ । कुनै संगठनहरुमा मानवसंसाधन योजना भएतापनि योग्य र सक्षम व्यवस्थापकहरुको अभावमा संगठनको अमूल्य सम्पत्तिको रुपमा रहने मानवसंसाधनको योजनालाई हचुवा र परम्परागत तरिकाबाट योजना गरेको पाइन्छ । वर्तमान अवस्थामा नेपालका संगठनहरुमा मानवसंसाधन योजना सम्बन्धी प्रमुख समस्याहरु निम्न अनुसार रहेकाछन्ः
 मानवसंसाधन योजनाको अभावः
नेपाली संगठनहरुमा मानवसंसाधनको राम्रो व्यवस्थापन गर्न आधुनिक योजनाको आवश्यक भएतापनि कम दक्ष तथा सीमित ज्ञान भएका व्यवस्थापकहरुले परम्परागत रुपमा मानवसंसाधन योजना बनाउने हुँदा प्रभावकारी र आधुनिक मानवसंसाधन योजनाको अभाव देखिन्छ । कतिपय संगठनहरुमा मानवसंसाधन योजना नै बनाएको पाइदैन । योजना विना नै हचुवाको भरमा कर्मचारी व्यवस्था गरिएको पाइन्छ ।
 सूचनाको अभावः
कुनैपनि योजना तर्जुमा गर्न प्रर्याप्त र भरपर्दो सूचना तथा तथ्याङ्कको आवश्यक पर्दछ । तर नेपालमा प्रभावकारी सूचना प्रणालीको अभाव रहेको पाइन्छ । नेपाली संगठनहरुले गम्भीर रुपमा प्रर्याप्त सूचना अभिलेख राख्ने पनि गरेको पाइदैन भने यदी राखेको भएपनि सूचनालाई व्यवस्थित राखिएको हुँदैन । सही र प्रर्याप्त सूचनाको अभावमा मानवसंसाधन योजना ठिक तरिकाबाट तर्जुमा गर्न सकिदैन ।
 सिपयुक्त जनशक्तिको अभावः
नेपालमा उपयुक्त शिक्षाको अभावले गर्दा दक्ष जनशक्तिको अभाव छ । संगठनमा सामान्य तथा कम सिपयुक्त जनशक्ति कार्यरत हुन्छ । यसकारणले पनि संगठनमा ती सामान्य जनशक्तिबाट राम्रो र बलियो मानवसंसाधन योजना तर्जुमा हुन सक्दैन ।
 अधिक कर्मचारीः
सामान्य कर्मचारीहरुबाट तयार गरिएको मानवसंसाधन योजनाको कारणले नेपाली संगठनहरुमा आवश्यकता भन्दा बढि कर्मचारीहरु राखिएको पाइन्छ । यसले कर्मचारीहरु विच असन्तुष्टि तथा द्वन्द आदि समस्या बढेको पाइन्छ ।
 कर्मचारी नियुक्तिमा कमजोरीः
नेपाली संगठनहरुमा कर्मचारी नियुक्ति कार्य नै त्रुटिपूर्ण देखिन्छ । ठूला ठूला संगठनहरुमा राजनीतिक प्रभावबाट कर्मचारी नियुक्ति भएको पाइन्छ भने साना तथा नीजि संगठनहरुमा भनसूनको आधारमा नातेदार,परिचितहरुलाई नियुक्ति गर्ने गरेको पाइन्छ । यसरी नियुक्ति भएका कर्मचारीहरुमा सम्बन्धित ज्ञान र अनुभवको अभाव रहने हुँदा संगठनको कार्यसम्पादन र उत्पादकत्वमा समेत प्रतिकूल असर पर्न जाने गर्दछ ।
 छोटो अवधिको योजनाः
नेपाली संगठनहरुले दीर्घकालिन मानवसंसाधन योजनाको तर्जुमा गर्नुको सट्टामा छोटो अवधिको लागि मात्र मानवसंसाधन योजना बनाउने गर्दछ जसले गर्दा दीर्घकालमा मानवसंसाधन योजना सम्बन्धी समस्याहरु देखापर्दछ ।
 न्यून प्राथमिकताः
धेरैजसो नेपाली संगठनहरुले अन्य व्यवस्थापकिय कार्यहरुको तुलनामा मानवसंसाधन योजनालाई कम महत्व दिएकाृ पाइन्छ । संगठनले कसरी उत्पादकत्व ,गुणस्तर,परिणाम र आय बढाउने भन्ने कुरामा केन्द्रित रहेको पाइन्छ । तर यी कार्यहरु गर्ने मानवसंसाधन सम्बन्धी योजना बनाउने कुरामा भने कम ध्यान पु¥याएको देखिछ ।
 मानवसंसाधनको पूर्वानूमानमा कमजोरीः
नेपालमा अस्थिर आर्थिक र राजनीतिक अवस्थाको कारणले संगठनहरुले आफ्नो भावी कारोवारको परिणाम र आयको पूर्वानुमान गर्न गाह्रो छ । यसकारणले व्यवस्थापनले संगठनका लागि भविष्यमा के कति र कस्ता प्रकारका जनशक्ति आवश्यक पर्दछ भन्ने कुराको सही पूर्वानुमान गर्न कठिन हुनाले मानवसंसाधन योजनामा समस्या देखिन जाने हुन्छ ।
 जनशक्तिको माग र आपूर्तिमा मिलान नहुनुः
प्रायः नेपाली संगठनहरुले जनशक्तिको माग र आपूर्तिविच सही सन्तुलन कायम गर्न सकेको देखिदैन । यस्को कारणले अधिक कर्मचारी हुने ,सिपयुक्त कर्मचारीको अभाव हुने, कर्मचारी खर्चमा बृद्धि हुने आदि समस्या सिर्जना हुने गर्दछ ।
 स्वेच्छिक अवकाश योजनाः
नेपाली सरकारी र अर्धसरकारी कार्यालयहरुले असक्षम र बृद्ध कर्मचारीहरुलाई हटाउन सुनौलो अवसरको स्वेच्छिक अवकाश योजना ल्याएको भएतापनि यस योजनाले उद्येश्य अनुरुप काम गर्न सकेको देखिदैन । यो योजनाले उद्येश्य विपरित संगठनका सक्षम र सिपयुक्त कर्मचारीहरुले नै स्वेच्छिक अवकाश लिएर अन्य संगठनतिर जाने र असक्षम कर्मचारीहरु मात्र संगठनमा रहीरहने हुँदा संगठनमा प्रतिकुल असर पारेको देखिन्छ ।
अन्त्यमा आजको प्रतिस्पर्धात्मक वातावरण तथा विश्वव्यापीकरणको समयमा संगठनहरुले आफ्नो संगठनलाई सफलतापूर्वक संचालन गरी लक्ष्य प्राप्त गर्न सक्षम र योग्य तथा आवश्यक सख्यामा जनशक्तिको व्यवस्था गर्न उचित मानवसंसाधन योजना बनाउनु अत्यन्त आवश्यक भएकोछ । संगठनहरुले प्रतिस्पर्धाबाट सफलता पाउन अब परम्परागत रुपमा मात्र कर्मचारी भर्ना गर्ने कार्यमा सीमित नभई राम्रो योजना अनुरुपको कर्मचारी व्यवस्थापन गरिनु आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्