Pokharapatra National Daily

सरस्वती पूजा सङ्क्षिप्त विश्लेषण

शिव प्रसाद गौतम
आज २०७९ साल माघ १२ गते विद्या वा वाणीकी अधिष्ठात्री (देवताहरू मध्ये सबैभन्दा बढी मानिएकी देवी कुनै वस्तु वा स्थान कार्यको स्वामिनी वा संरक्षिका, इष्ट देवी कुल देवी) का रूपमा मानिएकी देवी, शारदा, विद्या, भाषा, वाणी आदिलाई सरस्वती भनिन्छ । श्रीपञ्चमी वा वसन्त पञ्चमीका दिन उत्साह तथा आराधना साथ गरिने सरस्वती भगवतीको पूजालाई सरस्वती पूजा भनिन्छ । सरस्वती वा विद्याकी देवीको पूजा सरस्वती पूजा हो । शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान, पढाइद्वारा आर्जन गरिने बुद्धि विद्या हो । विद्या हासिल नगरेको व्यक्तिलाई पशु समान मानिन्छ ।
मानव जीवनमा व्यवहार राम्रोसँग चलाउन पढे लेखेको हुनुपर्छ । नपढेका अशिक्षितलाई आफ्नो व्यवहार चलाउन कठिन हुन्छ । शिक्षित मान्छेले जहा गए पनि सम्मान पाउँछन् । अशिक्षितले सम्मान पाउँदैनन् । भनिन्छ राजाको स्वदेशमा मात्र कदर हुन्छ, पढे लेखेका शिक्षित विद्वान् व्यक्तिहरू सर्वत्र पूजनीय हुन्छन् । नियमित रूपले विद्याको आर्जनमा लागि रहने व्यक्ति, शिक्षण संस्थामा अध्ययनरत व्यक्ति, छात्र, शिष्य विद्यार्थी हुन् । विद्यार्थीहरूलाई ज्ञान हासिल गर्नु पुस्तकको आवश्यकता पर्दछ । पुस्तक भनेको के हो ? यो प्रश्नको उत्तर विद्यार्थीले जान्नु पर्छ । पढ्ने–पढाउृने, पाठ गर्ने – गराउने आदि उद्देश्यले तर्क, विचार, भावना, कल्पना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको वा छापिएको ग्रन्थ, ज्ञान विज्ञान सम्बन्धी कुरालाई सुरक्षित राख्न लिपिबद्ध गरिएको लिखित वा मुद्रीत ठेली पुस्तक हो । सर्वाजनिक रूपले इच्छुक पाठकहरूले विभिन्न सर्तमा पढ्न पाउने हिसाबले वा निःशुलक रूपमा विभिन्न विषयका पुस्तकहरूको संग्ह गरेर राखिएको पुस्तकहरूको घर वा ठाउँलाई पुस्तकालय भनिन्छ । विद्यार्थी तथा विद्या आर्जन गर्न इच्छुक व्यक्तिले पुस्तकलाई सरस्वतीको प्रतीक मानेर पुस्तकको पूजा गर्दछन् । सरस्वती पूजाका दिन बाल बालिकाका अभिभावकले आफ्ना साना नानी बाबुलाई आजकै दिन पढाउन सुरु गर्दछन् । सरस्वतीको तस्विर, पुसतकलाई पूजा गरेर साना नानीहरूलाई पढ्न प्रारम्भ गराइन्छ । विद्यालय विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पनि आज सरस्वती मन्दिरमा गएर, पुस्तक घरमा राखेर पढ्न आओस् भनेर श्रद्धा भक्ति पूर्वक सरस्वतीदेवी र पुस्तकको पूजा गर्दछन् ।
आज सरस्वती पूजाका अतिरिक्त वसन्त पञ्चमी, वसन्त श्रवण, श्रीपञ्चमी, रतिकापूजा, हल सारो गर्ने पर्वहरू पनि आजै परेका छन् । यी पर्वहरूको आआफ्नो महिमा छ । माघ शुक्ल पञ्चमीलाई वसन्त पञ्चमी भनिन्छ । वसन्त पञ्चमीका दिन काठमाडौँको हनुमान ढोकामा विशेष समारोहका साथ जयदेव कवि लिखित गीत गोविन्द काव्यको कुनै भाग सुनाउने र सुन्ने काम गरिन्छ । माघ शुक्ल पञ्चमी वसन्त पञ्चमीलाई श्रीपञ्चमी भनिन्छ । आजको दिन पुरानो चलन अनुसार साहु असामी बीच तमसुक लेखेर श्रीपञ्चमीका दिन हिसाब मिलाउने गरी घर व्यवहार चलाउन आवश्यक रकम आफूसँग नभएर व्यवहार चलाउनै पर्ने भए साहुसँग आउने श्रीपञ्चमीमा सावा व्याज सहित पैसा सापट लिने र दिने कार्य गरिन्छ । अहिले च्याउँ झै उम्रेका वित्तीय संस्थाहरूले गर्दा यो प्रथा प्रायः लोप भइसककेो छ । आजकै दिन कृषकहरूले खेती गर्नका लागि परेलीको व्यवस्था गर्दथे । परेली भन्नाले आलो पालो गरी खेती गर्ने प्रथा हो । अहिले यो प्रथा डाँडा कााडामा छिटपुट बाँकी छ । समथर भूमिमा हराएर गएको छ । गोरु पालेर हलि बाउसे र खेतालीको व्यवस्था गरेर पर्म गरेर खेती गर्ने प्रथा हरायो । अहिले ट्रेक्टर बाट खेतबारी जोत्ने र हिल्याउने चलन छ । तिहारमा गोरुको पूजा गर्ने चलन थियो । अहिले व्यङ्ग्यको रूपमा ट्रयाक्टर पूजा गरेको देखिन्छ ।
भारा पर्म गरेर खेती गर्ने प्रथालाई हल सारो भन्दथे । आजको दिन विद्या आर्जन गर्ने र वर्ष दिन खाने अन्न बाली उब्जाउन आपसमा सहमति गरेर सँगोलमा खेती गर्ने रीतिस्थिति बाँध्ने र साउ असामीहरूको व्यवहार चलाउने दिन हो ।
विणा र पुस्तक हातमा लिएकी हाँसको बहानामा चढेकी यस्ती देवीले मलाई विद्या दान देउ भनेर विद्यार्थीहरूले पूजा गर्नु पर्छ र आजको दिन गर्छन् । सरस्वती आमाका नाम भारती, सरस्वती, शारदादेवी, हंसवाहिनी, जगतमाता, बागीश्वरी कुमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मधारिणी, चन्द्रघण्टा र भुवनेश्वरी गरी बाह्र नाम रहेका छन् । यी बाह्र नामहरू जुन नर नारीले तीनै काल पाठ गर्छन्, तिनीहरूको जिभ्रोको अग्रभागमा ब्रह्मस्वरुपको देवी सरस्वती बास गर्नुहुन्छ ।
विद्या महान् धन हो ।
नीति श्लोकमा भनिएको छ ।
नचौर हार्यम नच राजहाज्यम, नभात्री
भाज्यम, नचभारकारी
व्यय कृत्य वर्धते, नित्य एवं
विद्या धनं सर्व धनम् प्रधानम् ।देवप्रसिद्ध देवी सरस्वतीको पूजा गर्नुपर्छ । ज्ञानका पारखीहरू देवी सरस्वतीको पुकारा गर्दछन् । हे देवी सरस्वती ! हामी सम्पूर्ण चर र अचरकी आधार, कल्याणकारी तपाईको चरणमा हामी शरण पर्दछौँ । हामीलाई सदबुद्धि दिनुहोस् ।
आज माघ शुक्ल पञ्चमीका दिन वसन्त श्रवण गरी वसन्त पञ्चमी मनाउने, विद्याकी अधिष्टात्री बागीश्वरी देवी सरस्वतीको पूजा आजा गरी अक्षरारम्भ गर्ने चलन छ । आज सरस्वती मन्दिरहरूमा विद्यार्थी लगायत अन्य श्रद्धालु भक्तजनहरूको मेला लाग्छ । अभिभावकहरूले आफ्ना साना साना बाबुनानीहरूलाई अक्षर लेख्न र पढ्न लगाउनेहरूको भिड लाग्छ । विद्यालयहरू र महाविद्यालयहरूमा सरस्वती मन्दिर बनाएर मूर्ति र चित्रहरू राखेर पूजा आराधना गरी विद्याको वरदान मागेर सहभागी बीच टीका र फुल प्रसाद वितरण गरेर आनन्द लिने गरिन्छ । ॐ श्री सरस्वत्यै नमः ।

प्रतिकृया दिनुहोस्