Pokharapatra National Daily

सन्दर्भ सामग्री धान्यपूर्णिमा “धान्यपूर्णिमा संक्षिप्त विचार विमर्स”

–अधिवक्ता शिवप्रसाद गौतम

नेपाल कृषि प्रधान देश हो । यहाँ अधिकांश जनता कृषि पेशामा आश्रित छन् । आज मंसिर २२ गते धान्यपूर्णिमा पर्व परेको छ । यसका अतिरिक्त धान्य पर्वतदान, धनेश्वरमेला, उधौली पुजा, शिला पुन्हि–योमरीपुन्हि) गैडुपूजा, भपुरानीकोट बाघ भैरव पर्व, भक्तपुर अनन्त लिङ्गेश्वर मेला जस्ता पर्वहरू पनि आजै परेका छन् । धान अन्नहरुमा राजा हो अर्थात् धान मानिसहरूको प्रमुख खाद्यान्न बाली हो । धान मानवजीवनमा गरिने धार्मिक कार्यक्रमहरुमा पनि आवश्यक पर्ने खाद्यान्न बाली हो । धान सिरुका आकारमा लामा–लामा पात हुने नलका मुखबाट धेरै गेडा भएको बाला लाग्ने, खेतमा हिलो पारेर उमारिएको बिउ रोपेर वा बुगुल्टो माटोमा गेडै छरेर उमारिने, ओखली, ढिकी र मिसिनले कुटेर चामल बनाइने कालो, रातो र पहेँलो रङका गेडा लाग्ने एक जातको प्रमुख अन्न धान हो । धान राख्ने घर, धन्सार, धान आदि अन्न राख्ने सरकारी घर आदिलाई धान गोदाम भनिन्छ । धान पाकेर काट्ने बेलामा केटा र केटी बराबर भै अँगालो हाल्दै, खुट्टा बजार्दै र वरिपरि घुम्दै लयदार गीतका साथ साथै नाँच्ने, पूर्वी नेपालका विशेषत लिम्बु–जातिमा प्रचलित प्रसिद्ध लोकनृत्य धान नाच हो । मंसिर महिनामा पर्ने पूर्णिमा, मार्ग शुक्ल पूर्णिमा धान्यपूर्णिमा हो । आजै धाने साहुहरूले धानको रास पर्वत बनाएर धान दान दिने प्रचलन पनि छ । यो प्रथा तराईमा प्रचलित छ ।
धनका मालिक कुवेर, विष्णुलाई धनेश्वर भनिन्छ । आज बाग्मती अञ्चल अन्तर्गत काभे्र जिल्लामा पर्ने धान्नीपूर्णिमा र सोपछिको पञ्चमीमा ठूलो मेला लाग्ने महादेवको प्रसिद्ध मन्दिरमा मेला लाग्छ । यो मेलालाई धनेश्वर मेला भनिन्छ । गाईवस्तुको रक्षाका निम्ति आजै गोठमा पूजा गर्ने चलन छ । यो पूजालाई गैडुपूजा भनिन्छ । धान खेतिका लागि आवश्यक मल पशुबाट पूर्ति हुने र खेतबारी जोत्न गाईको बाच्छाहरुलाई सुमरेर गोरु बनाएर जोतिने हुनाले पशुलाई सम्मान गर्दै पूजा गरिन्छ ।
हाम्रो संविधानको धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ । नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ । प्रत्येक नागरिकालई कानून बमोजिम खाद्य सम्प्रभुताको हक छ । राज्यका निर्देशक सिद्धान्तहरुको नीति अन्तर्गत धारा ५१ को (ङ) कृषि र भूमिसुधार सम्बन्धी नीतिका उप नियमहरुमा भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने, अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चकलाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, किसानको हकहित संरक्षण र संवद्र्धन गर्दे कृषिको उत्पाद र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधिकरण र आधुनिकीकरण गर्ने, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरण सन्तुलन समेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्थ गर्ने हक र नीतिको संवैधानिक व्यवस्था भएतापनि व्यवहारिक रूपमा कार्यान्वयन भएको छैन । जसले गर्दा कृषि व्यवसायबाट कृषक पलायन भएर देशमा आवश्यक खाद्यान्न पूर्ति हुन नसक्दा बाह्य मूलुकबाट सालिन्दा खरबौ रूपैयाको खाद्यान्न आयात गर्नु परेको अवस्था छ ।
मंसिर महिनाको शुक्लपक्षको नवमीमा पाङ्गामा वैष्णको जात्रा मनाइन्छ । भोलिपल्ट किर्तिपुर लगायत सात गाउँमा इन्द्रायणी जात्रा मनाइन्छ । यसको चार दिन पछिको धान्यपूर्णिमाको दिन नेवार समाजमा चामलको पिठोको रोटीलाई सोली जस्तो बनाई त्यसभित्र सख्खर (गुण) तीत आदि राखेर “योमरी” खाने चलन छ । ब्राह्मण, क्षेत्री समूदायले आजकै दिन नयाँ धानको चामल खाने चलन छ । यसलाई न्वाई खाने पनि भनिन्छ । चामल भिजाएर त्यसमा चिनी दही केरा मिसाएर मुछेर खाइन्छ । यसमा मसलाहरु ल्वाङ, सुकमेल, नरिवल, मरिच पन राखेर खाने चलन छ । न्वाइ सबैलाई बाँडेर खाने प्रचलन पनि थियो । आजकल यो प्रथा लोप हुँदै गएको छ ।
धानको चामलको भात विश्वका सबै मानिसले खान्छन् । धानको चामल विश्वव्यापि छ । नेपालीहरु त भात नखाएसम्म अरू खाना खाएर खाँए भन्दैनन् । हाम्रो बिहान बेलुकाको प्रमुख खाना भात हो । भात खान धान खेती गर्नै पर्छ । धान हाम्रो प्रमुख अन्नबाली भएकोले आज हामी धान्यपर्व धानपूर्णिमा मनाइरहेका छौं । तर हामी भारत, चीनबाट चामल आयात गरेर भात खान्छौं । आजभन्दा केही वर्ष अगाडि नेपाल खाद्यान्नमा आत्मनिर्भर मात्र हैन । खाद्यान्न निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गथ्र्यो । अहिले खरबौंको चामल आयात गर्दछौ । यो लजास्पद कुरा हो । माओवादीको दश वर्षीय जनयुद्धले गर्दापहाडमा जनघनतव घट्यो, शहरमा बढ्यो । बसाइसराइले गर्दा शहरमा जनघनत्व बढ्यो । गाउँका भूमिबस्ती हिन भए । खेतबारी सबै बाँझा भए । उत्पादन घट्दै गयो । हाम्रा रैथाने जातका धानका बीउहरु हराउँदै गए । अहिले हामीकहाँका धानको बीउ खोज्न फिलिपिन्स जानुपर्ने भएको छ । वर्णशंकर धानको बीउ एक उत्पादनमा मात्र काम लाग्छ । सालिन्दा धानको बीउ खरिद गर्नुपर्दा कृषक मारमा छन् । सरकारले समयमा कृषकलाई मल बिउ र किटनाशक औषधी उपलब्ध गराउँदैन । सिचाईको पनि व्यवस्था छैन । मौसममा भर पर्नु पर्छ । भनिन्छ “नेपालको कृषि मनसुनको जुवा हो ।” राजनीतिज्ञहरु नेपाल कृषि प्रधान देश हो भनेर भाषण गर्छन् । खाद्यान्न विदेशबाट बेसाएर खान्छन् । आज धान्यपूर्णिमा धान पर्व हामीले शब्दले मनाउने होइन व्यवहारले मनाउ । यसैमा हाम्रो कल्याण छ । अन्यथा निकट भविष्यमा हामी खाद्य संकटको भुमरीमा परेर खान नपाएर मर्नेछौ । सबैमा चेतना भया ।

प्रतिकृया दिनुहोस्