Pokharapatra National Daily

सहिद दिवस र २००७ देखि २०७२ सम्मका राजनीति घटनाक्रम

युव राज खनाल, पोखरा
वास्तविक सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुनजुन देशमा सामाजिक , आर्थिक र राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन् ।
जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ।
आजको दिन नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ।
विसं १९९७ माघ १० गते निरंकुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए।
उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ।जसरी घरमा श्राद्ध गर्दा सबै भन्दा पुरानो मान्छेको तिथिमा अरु पितृलाई सम्झिने गरिन्छ त्यसैगरी पछिल्लो कालखण्डमा निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ ।
हाम्रा सहिदहरुको साहदत नै नेपालमा २००७ साल फागुन सात गते राणा शासनको अन्त्य यो र प्रजातान्त्रिक युगको थालनी भयो । २००७ साल फागुन १७ गते आन्तरिक शासन विधान २००७ घोषणा भयो । २००८ साल फागुन २६ गते प्रधानमन्त्री मोहन शम्सेरले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
२००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा १४ सदस्यि मन्त्रीपरिषदको घोषणा भयो । २०१२ साल असोज २२ गते पञ्चवर्षिय योजनाको घोषणा भयो ।२०१३ सालमा बिपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकारको गठन भयो त्यस लगत्तै २२ सदस्यिय मन्त्रीपरिषद् गठन भयो । २०१७ साल पुस १ गते तात्कालिन राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्दै पञ्चायती व्यवस्थाको थालनी गरे ।
२०१९ साल पुस १ गते पञ्चायती व्यवस्थामा आधारित संविधानको घोषणा भयो । २०३७ साल वैशाख २० गते नेपालमा बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्नेमा जनमत संग्रहको घोषणा जेठ १ गते घोषणा गरियो ।२०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म नेपालमा जनआन्दोलन जारी भयो । अन्धाधुन्ध आन्दोलन भयो २०४६ साल चैत्र २६ गते राजा विरेन्द्रद्वारा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान र राधाकृष्ण मैनालीलाई सहमतिको लागि बोलावट गरियो । सोहि दिन भएको सहमतिमा निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुर्नबहाली, जनआन्दोलन सम्पन्न भएको थियो ।
२०४७ साल जेठ १६ गते कृणप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठनभै, सोहि सरकारद्वारा नयाँ संविधानको खाका तयार गरियो। २०४७ साल कार्तिक २३ गते नयाँ संविधानको घोषणा भयो । २०४८ साल जेठ १२ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकाको घोषणा भयि । २०४८ सालमा नेपालमा दोस्रो ऐतिहासिक निर्वाचन कांग्रेसलाई बहुमत प्राप्त भयो ।
२०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा मध्यावधि निर्वाचनको घोषणा भयो । कुनै पार्टीले बहुमत प्राप्त गर्न नसक्दा त्रिशंकु सांसद हुन पुग्यो । २०५१ सालमा नेकपा एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो । नौ महिन लामो अधिकारी सरकारपछि कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो ।
२०५२ सालमा माओवादी नेतृत्वमा फागुन १ गते जनयुद्ध सुरु भयो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डपछि राजा विरेन्द्रको बंश नाश भयो । ज्ञानेन्द्र नयाँ राजा बने। २०५९ साल असोज १८ गते तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषित गर्दै तात्कालिन सरकार अपदस्त गरी राजनीतिक नेताहरुलाई नजरबन्दमा राख्ने प्रयास भयो।
२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रद्वारा कू गरी सरकार अपदस्त र आफ्नो हातमा शासन सत्तालिइयो । सञ्चारमाध्यममा शेन्सरसिप, टेलिफोन सहित सम्पूर्ण सञ्चार माध्यम अवरुद्ध भए । २०६२ साल मंसिर ५ गते नेपालका प्रमुुख ५ राजनीतिक दल र तात्कालिन विद्रोही माओवादीबीच भारतको नयाँदिल्लीमा १२ बुँदे सहमति भयो । २०६२ साल चैत्र २४ देखि २०६३ साल वैशाख ११ गते सम्म पुन जनआन्दोलन जारी भयो । राजा ज्ञानेन्द्रद्वारा सार्वभौमसत्ता जनतामा रहेको घोषणा गरियो । संसदको पुर्नस्थापना भयो । राजाको सम्पत्ति राष्ट्रियकरण गरियो । मुलुक संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भयो ।
२०६३ साल असार २ गते प्रमुख सात राजनैतिक दल र तात्कालिन विद्रोही माओवादीबीच आठ बुँदे सम्झौता भए । बृहत शान्ति सम्झौता मंसिर ५ गते भएसंगै १० वर्षे जनयुद्धको विधिवत अन्त्य भएको घोषणा गरियो । २०६३ साल माघ १ गते अन्तरिम संविधानको घोषणा भयो । २०६४ साल चैत्र २८ गते नेपालमा पहिलो संविधानसभाको निर्वाचन भयो । २०६५ साल जेठ १५ गते संविधानसभाद्वारा नेपालमा लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भयो । जेठ २१ मा राजा ज्ञानेन्द्रद्वारा सत्ता त्यागको घोषणा भयो ।
२०७० साल मंसिर ७ मा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो । २०७२ साल वैशाख १२ गते नेपालमा महाभूकम्प र त्यसबाट ठूलो धनजनको क्षति भयो । २०७२ साल असोज ३ गते राष्ट्रपति रामबरण यादवद्वारा नयाँ संविधानको घोषणा । यसरी नेपालको नयाँ इतिहासको शुरु भएको ।
आज हामी सहिद मनाई रहदा केवल यो एउटा कार्यक्रमका रूपमा मात्रै नगरी हामी सग भएको सस्कारमा पनि परिवर्तन आउनु पर्दछ । देशका लागि ज्यान गुमाउने हाम्रा शहिदको सपनाहरू पूरा गर्न सक्नु पर्छ । खोला तर्ने लौरो भुल्ने जुन हामिमा कमजोरी छ त्यसलाई त्याग्नु पर्छ । सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रती हार्दिक श्रद्धा सुमन ।

प्रतिकृया दिनुहोस्