Pokharapatra National Daily

साउने संक्रान्तिको सांस्कृतिक विशेषता

शिव प्रसाद गौतम , पोखरा
श्रावण संक्रान्तिको धार्मिक विशेषता छ । आजकै दिन सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने दिन साउन १ गते नेपालमा साउने संक्रान्ति चाड मनाइन्छ । यस दिन बेलुका कुकुर डाइनो, कुरिलोका पात जीउमा दल्ने तथा विधिपूर्वक पूजा आजा गरी आगो बालेर अगुल्टो मिल्काइ लुतो फ्याक्ने परम्परा छ । यो प्रथा लोप हुँदै गएको छ ।
आजको बेलुका कण्डारक पूजा गरिन्छ । लोक विश्वास अनुसार लुतो आदि रोगको कारण मानिसकोको एक पौराणिक मानवेत्तर, दुष्ट, रहस्यमय प्राणी (यसलाई पन्छाउन साउने संक्रान्तिका दिन साँझमा विशेष प्रकारले पूजा गरी लुतो फालेर) सेलाइन्छ । लुतो फाल्न कर्कलो, कुरिलो, दाते, दन्केर्नाे, उनियो, पानी अमला, हरिया मकै, सिउँडी, दतिउन, लज्जावती जस्ता वनस्पतिहरु जम्मा गरिन्छ । विभिन्न प्रकारका पूजा सामग्री तयार गरेर विधि पूर्णका पूजा गरिन्छ । कृषकहरु असार महिना भरी प्रमुख अन्न बाली धान खेती गर्दछन् । धान रोप्न खेत खनजोत गरेर हिल्याउने र हिलोमा धान रोप्छन् । असार पन्ध्रलाई धान दिवसको रुपमा हली, बाउसे र रोहवरहरू हिलो खेल्दै धान रोप्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर असार पन्ध्र रमाइलो गरी मनाउँछन् । असार महिनामा धान रोपाइको व्यस्तताले गर्दा नुहाइधुवाइ गरेर शरीर र कपडा सफा गर्ने समय नमिलेर शरीर र कपडा धुलो मैलोले फोहोरी हुने मात्र होइन फोहोरको कारणले शरीरमा घाउ खटिरो र लुतो जस्तो रोग लागेको हुन्छ । ज्यादै चिलाउने र बाक्ला विमिरा उठेर पाक्ने खटिरा जस्ता रोग लुतो हो । असारमा धान रोपाइको काम सकिए पछि साउन १ गते मजासँग नुहाइ धुवाइ गरेर बेलुका पख धार्मिक परम्परा अनुसार पूजा गरेर आगोका अगुल्टाहरु घर अगाडि र पछाडि लुतो लैजा लुतो लैजा भनेर आगो सहित अगुल्टा फाल्ने चलन छ । यो गर्नुको अभिप्राय लागेको लुतो निको होस् र फेरि फेरि लुतो नआओस् भन्ने उद्देश्य हो । साउन १ गते मास, फापर र अन्नको पिठो मुछेर घिउ तेलमा फुराएर बनाइउको डल्लो खानेकुरा फुरौला खाने चलन छ ।
यसका अतिरिक्त श्रावण महिनामा खिर खाने चलन पनि छ । आजको दिनमा सूर्य भगवान्को पनि पूजा गरिन्छ । श्रावण महिनामा धेरै चाडपर्वहरू पर्दछन् । श्रावण संक्रान्त, हरिससयनि एकादशी, मंगल चतुर्थी, नागपञ्चमी, जस्ता धार्मिक पर्वहरु पर्दछन् । सूर्यले मकराशिमा प्रवेश गरेको समय वा दिन मकर संक्रान्ति हो भने श्रावण १ गतेलाई श्रावण संक्रान्ति भनिन्छ । श्रावण र भाद्र महिना धेरै वर्षा हुने हुनाले वर्षा ऋतु भनिन्छ । धेरै पानी आवश्यक पर्ने अन्न बालीको खेती यही ऋतुमा गरिन्छ । श्रावण महिना भगवान् शिवलाई पूजा आराधनान गर्ने शिवको महिना पनि भनिन्छ ।
श्रावण महिना भरिका सोमबारहरूमा भगवान् शिवको विशेष श्रद्धा भक्ति पूर्वक पूजा गरिन्छ । शिव भक्त श्रद्धालु भक्त जनहरु सोमबारका दिन गंगा नदीमा गएर स्नान गरी तामाका हत्तरहरूमा गंगाको जल लिएर भगवान् शिवको भजन गर्दै बोलबम भन्दै शिव मन्दिरहरूमा आएर शिवको मूर्ति तथा शिव लिङ्गमा पवित्र गंगालाई र गाईको दूध चढाएर श्रद्धा भक्ति पूर्वक पूजा आराधना गर्दछन् ।
साउने संक्रान्तिको अर्काे विशेषता बालबालिका र युवा युवतीले हात खुट्टाका नङमा तिहिरे (मेहेन्दी) लगाउँछन् । युवा युवतीले शरीरमा ट्याटु लेखाउँछन् । विवाहित महिलाहरुले हरियो रङका चुरा, पोते र कपडा लगाउँछन् । युवतीहरुले पनि रङ्गिबिरङ्गी वस्त्र धारण गरेका हुन्छन् । श्रावण महिना कृषकहरुले असार महिनामा धान रोपाइ सकेर विभिन्न चाडपर्व मनाएर रमाइलो गरेर आनन्दपूर्वक बिताउने महिना हो ।

प्रतिकृया दिनुहोस्