-बसन्त पहारी पोखरा
सिताराम डाएटिस (चेपाङ जातीको एक थर) को उमेरले ३३ वटा वसन्त पार गर्यो । यो अवधिमा पृथ्वीले ३३ चोटि सुर्यको परिक्रमा गरिसक्यो । गर्मी होस या जाडो, बादल लागोस या वर्षा होस, सुर्यले आफ्नो प्रकाश दिन छोडेन । पृथ्वीका हरेक कुना कन्दरामा सुर्यको प्रकाश पुग्यो होला तर धादिङको माङराङमा शिक्षाको प्रकाश पुग्न भने सकेन भन्दा अतियुक्ती नहोला । धादिङ जिल्लाको दक्षिण पश्चिममा पर्ने माङराङको चेपाङ बस्तीमा स्नातक तहको पढाइ पूरा गर्ने अझै पनि उनि मात्र एक छन । गाउँमा १० र १२ कक्षा उतिर्ण गरेका पनि हातका औंलामा गनेर सकिन्छन । आफुले पढेको गर्व गर्नुमा भन्दा पनि गाउँका आफ्ना साथी भाइहरु र नयाँ पुस्ताका साना भाइबहिनीहरु बीचमै पढाइ छोडेको देख्दा उनको मन कुँडिन्छ । कारण भन्नभने उनी अल्मलिन्छन मानौँ उत्तर भएर पनि यो प्रश्न उचीत छैन । अहिले उनी आफुले प्राथमिक शिक्षा अध्ययन गरेको श्री गोइराङ आधारभूत विद्यालयमा अङ्रेजी विषय त पढाउन्छ्न तर पढाए पश्चात् को परिवर्तन पनि देख्न नपाउँदै उनले विद्यार्थी गुमाउँछन अनि विद्यार्थीले पढाइमा रुची । विद्यार्थीहरु कि त ज्यालामजदुरीको बाटो समात्छन कि त बिहेको । पढाइमा लगनशिल र मिहिनेती विद्यार्थीको कक्षा ८ माथिको थप शिक्षाको जाँगरलाई रोकिदिन्छ कलिलो उमेरमा १–२ घण्टा टाढा रहेको विद्यालयसम्म हिँड्नु पर्ने बाध्यताले ।
कैवाल्य फाउन्डेसनका प्रतिनिधि र लेकसिटी कलेज पोखरामा अध्ययनरत हामी ४ जनाको समूह गत फाल्गुन पहिलो साता गोइराङ आधारभूत विद्यालयलाई सहयोग सामाग्री लिएर बेनिघाट–रोराङ गाउँपालिका–१० पुगेका थियौँ । चेपाङ शब्दले प्रभावित हामी ठाउँ र शिक्षाको वस्तु स्थिति अवलोकन गर्न गएतापनि गोइराङ पुग्दाका दृश्यहरु सोचे र मानसपटलमा बनेको चित्र भन्दा फरक महशुस गर्यौँ । विद्यालयमा चेपाङ समुदायका विद्यार्थीहरुको वाहुल्यता भएको थाहा भएपछि सोही समुदायबाट शिक्षक शिक्षिका पनि हुनुहुन्छ कि भन्ने हाम्रो जिज्ञासा् रह्यो । विद्यालयका प्रधानाध्यापकबाट सिताराम सर एक्लो चेपाङ शिक्षक भएको थाहा पाएपछी अर्को दिन बिहानै हामी माङराङ स्थित उहाँको घर पुगेका थियौँ । बाटोमा चेपाङ समुदायका घरहरु नियाल्दै जाँदा हामी बाटोको दुरीले भन्दा त्यहाँको परिस्थिति, रहनसहन, वातावरण र गरिबी देखेर थाकेका थियौँ । सोध्दै खोज्दै खनी नसक्दै भत्किएको धुले बाटोको छेउछाउ फुलेका रातो र पहेँला फूल टिप्दै हामी धेरै फरक दुरीमा रहेका घरहरुको बस्ती माङराङ पुग्यौँ जहाँ सिताराम सरको घरको दृश्य र सरसफाइले पहिलोचोटीमै हामीलाई प्रभावित बनाएको थियो ।
तीन दाजुभाइ मध्य जेठा छोरा सिताराम सरले शिक्षण पेसामा लागेपछी चिटीक्क परेको घर बनाएको बताउँदा उनको आँखाको चमक र छातीको नापो दुबैमा फरक देख्न सकिन्थ्यो । दुई भाइ १० देखी १२ कि.मी तल पृथ्वी राजमार्गमा पर्ने हुग्दी खोलामा मोबाइल पसल खोलेर बसेका छ्न । एउटा भाइले १२ मा फेरी जाँच दिन पर्नेभए पछी बिदेश गएर आएको र अर्कोले ९ कक्षाको परिक्षा उतिर्ण गर्न नसकेपछी दुबै जना मोबाइल पेसा तर्फ लागेको बताउँदा उनी अल्ली असन्तोष देखिन्थ्ये । भाइहरुले पढाइ पूरा गरेर आत्मनिर्भरताको बाटो समातेको भए राम्रो हुन्थ्यो भन्ने उनको गुनासो थियो ।
हामी त्यो गाउँको पिडा सुन्न र हेर्न गएका पहिलो टोली पक्कै थिएनौ, धेरै गए होलान हामी जस्ता तर बिडम्वना एउटा जनताको पिडा सुन्नै र बुझ्नै भएपनि त्यो गाउँमा सरकारको उपस्थिति अझै पुगेको थिएन । उनले पढाउने स्कुलमा सहयोग सामाग्री लिएर आएको र भविष्यमा पनि उक्त स्कुललाई थप सहयोग गर्न सकिन्छ कि भन्ने विचार व्यक्त गर्दै हामीले परिचय दिइसकेपछी बिस्तारै उनी खुल्न थाले। आफ्नो अनुभव बिस्तारमा बताउँदै र हाम्रा जिज्ञासा र प्रश्नहरुको उत्तर फर्काउँदै गए र हामी उनको कुरामा मग्न हुँदै गर्दा उनलाई स्कुल जाने समय धन्नै बिर्साइदिएका थिएनौँ । उनले मन यसरी खोल्दै थिए जसरी बच्चाले आफ्नो मिठाइले भरिएको मुठ्ठी खोल्छ, फकाएर मागे । सानोमा चेपाङ भाषामात्र जान्ने उनलाई सुरुसुरुमा नेपाली भाषामा पढ्न सार्है सकस भयो । कक्षा ५ सम्म गोइराङ पढेपछी थप शिक्षाका लागि करिब डेढ घण्टा टाढा खोरभन्ज्याङ पढ्न जानु बाहेक उनीसँग विकल्प थिएन। खोरभन्ज्याङ बाहुनक्षेत्रीको बस्ती भएकाले नेपाली सिक्न उनलाई केही सहज भएको बताउँदा हामी उनी अहिले बोलीरहेको नेपालीसँग उनको पहिलेको नेपाली अज्ञानमै तुलना गर्दै थियौँ । पढाइमा लगनशिल भएपछी नजिक र टाढा दुइ शब्द मात्र हुने रहेछन, बहाना होइन भन्ने कुराको उदाहरण सिताराम सर बनेका थिए जब उनले घरदेखि डेढ घण्टा टाढाको खोरभञ्ज्याङ राष्ट्रिय मावि बाट २०६३ सालमा एसएलसी उतिर्ण गरे । शिक्षाको भोक जती खायो त्यती बढ्ने रहेछ भनेझै उनमा उच्च शिक्षाको रहर जाग्यो । तर उच्च शिक्षाको लागि घरको आर्थिक स्थितिले नभ्याउने बारे पनि उनि राम्रो सङ अवगतै थिए । जहाँ समस्या त्यहाँ उपाय भनेझै उनको पढाईको लगावलाई मध्यनजर गर्दै गैरसरकारी संस्था आस्मान नेपालको सहयोगमा प्रमाणपत्र तह कुरिनटार बजारमा बसेर पढ्ने अवसर पाए । र त्यही बखत सोही संस्थाको माध्यमबाट एक वर्ष गाउँ गाउँ डुल्ने, त्यहाँका बासिन्दा, रहनसहन बारे जान्ने बुझ्ने मौका पनि मिल्यो । त्यो एक वर्ष उनको लागि जीवन रुपान्तरणको बाटो बन्यो, मनमा निकट भविष्यमा आफ्नो गाउँठाउँको लागि केहि गर्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको थियो र त्यसैका लागि काम गर्दै, पढ्दै अङ्रेजी विषयमा प्रमाणपत्र तह पनि उतिर्ण गरे । कागजको मुल्य यदी रुख भन्दा बढि हुन्छ भने नयाँ रुख रोपेरै भएपनी पुरानो काट्नु पर्नेरहेछ । उनले भने, ’मलाई मेरो गाउँठाउँको लागि केही गर्ने जोसले कागजको पछी कुदाएको थियो जसको लागि मैले गरिबी अशिक्षाले पिछडिएको मानिने हाम्रो चेपाङ जाती र केही समयकै लागि भएपनि आफ्नो गाउँ छोडेँ परिवार छोडेँ र त्यही भए मलाई कागज दिने रुख । त्यसपछी पनि म आत्तीइन र पढ्ने संकल्प छोडीन । सायद त्यसैले मझिमटार निवासी तिलक चेपाङको सहयोगमा चितवन भरतपुर स्थित बालकुमारी क्याम्पसमा छात्रवृत्तिमा पढ्ने अवसर मिल्यो । स्नातक तह भने मैले मेजर नेपाली लिएर सकेँ।’ उनी गफीदै गर्दा उनका ३ सन्तान दुई छोरी र एउटा छोरा आँगनमा खेलीरहेका देखिन्थे र सोध्ने क्रममा उनीहरुसँग पनी गन्थन गर्यौँ तर कुरा गर्दैगर्दा उनीहरु विद्यालय जाने हतारमा देखिन्थे । केही बेरमा स्कुल जान छ, हात खुट्टा धुन जाउ भन्दा आनाकानी नगरी उनीहरु घर छेउकै धारोमा सरसफाइ गरेको देख्दा लाग्यो पढाइले कती फरक पार्दो रहेछ ? बाटो भरी धुलाम्मै र हिलाम्मै फोहोर देखीएका बच्चाहरु भन्दा उनीहरु निकै फरक देखीन्थे । हुन त बस्तीमा सबैका बुबा राम्रै आम्दानी भएका शिक्षक पनि थिएनन तर पनी सरसफाइलाई सायद धन भन्दा बढि चेतना र इच्छाशक्ति चाहिन्थ्यो । खैर सरसफाइ बाहेक अर्को कुरा पनि थियो जुन चेपाङ बस्तीका अरु बालबालिकामा बाहेक सितारामका सन्तानमा बढि देखिन्थ्यो र त्यो थियो, पढ्ने इच्छाशक्ति र दुबै छोरीहरु आआफ्ना कक्षामा आउने प्रथम स्थान र हामीले उनीहरुको पढाइ सोध्दा पहिलो उत्तर नै आफ्नो गर्वका साथ भन्न मिल्ने वार्षिक परिक्षाको नतिजा थियो ।
यती समय बितिसक्दा पनी हाम्रो गाउँठाउँमा अभिभावकको चेतनाको कमिको कारण छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावनाको विकास नै नभएको देख्दा भने मन भकानीन्छ । अहिले माङराङबाट आठ कक्षामाथी खोरभन्ज्याङमा पढ्न जाने विद्यार्थीहरुको संख्या खासै उल्लेखनिय छैन, कमजोर आर्थिक अवस्थाका कारण विद्यार्थीहरु पढाइ छोडेर ज्यालामजदुरीमा लाग्ने गरेको उनले देख्छन र बदल्न प्रयत्न गर्छन तर कहाँ कुन ठाउँबाट उनी चुक्छन उनले थाहा पाउँदैनन । त्यससँगै उनका कति छिमेकीले पढेपनी राम्रो जागिर नपाइने, अवसर नपाइने हुनाले आफ्ना बालबालिकालाई आर्थिक जोहो गर्नमै बल गरेको पनी देखीयो र सायद अवसरको कमी पनि होला किनकी हामी बस्ने सहरमा नपुगेको अवसर त्यो बोट बिनाको पहरोमा किन र कसरी पुगोस ? तर केही गर्ने मौका पाए पछी पनि नहट्ने सिताराम सर भन्छन, ‘गाउँमै आधुनिक कृषिको तालिम प्रदान गर्ने व्यवस्था, माटो सुहाउँदो बाली लगाउने बारे जानकारी हुने हो भने, तरकारी खेती गरेर पनी आर्थिक अवस्था उकास्न सकिन्थ्यो। यदी आर्थिक अवस्था सुधार हुन्थ्यो त बालबच्चालाई विद्यालय पठाउन पनि उनका बाबुआमालाइ गार्हो नहुँदो हो । र मैले बढि विद्यार्थी पढाउन पाउँथे। भोली म जस्तै यी बस्तीमा अरु देख्न पाउँथे जसलाइ हजुरहरु आज मलाई भेट्न र सोध्न आए जसरी आउँदा हुन तर त्यस पटक भने विचराको भाव लिएर होइन, बधाइ को हर्ष बाँड्न । अझ आठ कक्षासम्म पढाइ हुने गोइराङमा १० कक्षा सम्म पढाउन मिल्ने गरि पहल गर्न सके धेरै विद्यार्थीहरुले टाढा धाउनु पर्ने थिएन ।’
सिताराम सर पढाउन स्कुल जाने बेला भैसकेको थियो भने उनका छोरीहरु पहिल्यै साथीहरुसँग निस्किसकेका थिए । गन्तव्य एकै भएका कारण हामी सर सँगै निस्कने निधो गरेर केहीबेर अझै गफमा रुमलिदै थियौँ । त्यतीकैमा कुरा सितारामको विवाहमा पुगेको थियो । जब सफा चिटीक्क परेर मुहारमा सेताम्मै दन्तेलहर देखाउँदै उनकी श्रीमतीले भित्रबाट चिया लीएर आइन । उनी गाउँ पुगेपछी नै हामीले देखेकी एक मात्र आमा थिइन जसको उमेर आमा बन्न योग्य देखिन्थ्यो । त्यसैले उनको नाम र गाम पछी हामी उनको उमेर र विवाहको कुरासम्म पुग्यौँ र लजाएकी श्रीमतीको स्वभाव र मनोभाव बुझेर सायद सिताराम सरले आफ्नो प्रेमविवाहको कथा सुनाउन थाले । कसरी उनी उच्च शिक्ष पढ्न जान भन्दा पहिल्यै प्रेममा परे र उनकी श्रीमतीले पनि उनलाइ कुरेर बसीन, अनि विवाह गर्न योग्य उमेर भएपछी उनीहरुले आफ्नो वैवाहिक सम्बन्ध बसाए । त्यती भन्दा लाग्यो सायद कती धेरै फरक ल्याउछ शिक्षाले जीवनको हरकुनै पाटोमा चाहे त बोल्ने शैली होस या बस्ने शैली होस या हाँस्ने ।
हामी चाहान्थ्यौँ सिताराम सर अझै राम्राराम्रा कुरा सुनाउन, परिवर्तनका कुरा, क्रान्तिका कुरा अनि सफलताका कुरा जुन उनलाई राजनीतिले र भाग्यले नभइ शिक्षाले दिएको थियो । उनले आफ्नोमा हामी नयाँ मान्छे देखेर आएकी बुढीआमाको परिचय दिदैँ उनकै उमेर भएका आफ्नो बुबाका कुरा गर्न थाले । कसरी उनी झारफुक गरेर आम्दानी गर्थे र शिक्षाको अभाव र अज्ञानताको कारण अस्पतालै भुलेर गाउँका मान्छे सबै उनकोमा उपचारका लागि आउँथे । तर जब बाट सितारामले आफ्नो परिवारलाइ आफुले आर्जेको ज्ञानबाट आफ्ना बुबालाइ अस्पतालको महत्व बुझाए, उनका बाबुले हिजोआज झारफुकको काम छोडेको बताए । झारफुकका लागि आउनेलाइ उनी आजकल स्वास्थ्य चौकी जान सुझाउन्छ्न । यो सुन्दा हामी सितारामको कुरामा चर्को गरेर ताली पिट्न चाहान्थौ तर ताली मात्रले उनले र उनको पढाइले ल्याएको परिवर्तनलाइ सम्मानले समेट्न सक्ने थिएन, सायद त्यसैले हामीले ताली त बजाएनौ तर सम्मानमा मनैबाट शिर भने अवश्य झुकायौँ । स्कुल जाने बेला भैसकेको थियो र अघी झरेको लामो बाटो पनि त फर्किनु थियो त्यसैले हामी सिताराम सर तयार हुनेबेलासम्म फोटो खिच्नमा र आफ्नै गफमा रुमलीयौँ र केही बेरमै चिटीक्क सर्ट पाइन्टमा तयार सिताराम सरसँग गाउँ र बस्तीका कथा व्यथा अनि सरका सपना सुन्दै स्कुल तिर लाग्यौँ । –लेखक लेक सिटी कलेज एण्ड सेण्टरमा प्रथम वर्षमा अध्ययनरत छन् ।
सिताराम सरको सपना
प्रतिकृया दिनुहोस्