Pokharapatra National Daily

धन्न म त्यो देशमा छैन !

-सुजता ढकाल
म के गर्छु यो देशमा बसेर ? यो प्रश्नको उत्तर सोच्न बाध्य मलाई कुनै मेरो क्षमतामा शंका र प्रश्न गर्ने मानिसले गरेको थिएन न देशबाट टाढा गएर कहिल्यै नफर्किने सोच बनाएको एनआरएनले जसले यो देशमा कुनै अवसरै देख्दैन । तर यो प्रश्न मलाई एउटा यस्तो देशप्रेमीले गरेको थियो जसको पुरै जीवन देशको लागि समर्पित भएर बितेको थियो र जसको चाहुरिएको छालामा पनि देशैको माटोमा बिलीन हुने प्रतिवद्धता जगजाहेर थियो । त्यो मानिस जसले आफ्नो जीवनको हरेक पल, हरेक निर्णय र आफ्ना हरेक इन्द्रियहरु देशको लागि समर्पीत गरेको थियो ।
जो बुझ्थ्यो मातृभूमी प्रतिको प्रेम र समर्पणको दायित्व र बुझाउँथ्यो घरमा आउने पाहुना देखी उसले चिया पिउने पसलेसम्मलाई । कहिलेकाँही त बीच सडकमै बसाइने उसको अदालत, देशलाई अन्यायमा पार्ने राजनीति र राजनीतिज्ञ विरुद्ध एक हुल मान्छे बटुलेर चर्को आवाजमा गरिएको बातले केस लड्थ्यो र लडाउँथ्यो । बिहान आँखा खोलेदेखी बेलुकी उसको बिरामी दिमाग र शरीरले आराम नपाउने बेलासम्म देश र राजनीतिको दिनहुँ चिन्तन, मनन र शिक्षण गर्थ्यो मानौँ देशको जिम्मा सबै उसैको काँधमा छ र परिवर्तन यदि जरुरी छ भने त्यो उसैको चिन्ताले मात्र परिपुर्ति हुन्छ। कहिले किताबले बेरिएर त कहिले टिभी, कहिले रेडियोको समाचारमा अल्झिएर र आआफ्नै बिचार र धाराले भरिएकाहरुहरु संग घेरिएर। उ कहिल्यै पनी देशका सामाजिक होस या राजनीतिक होस वा अन्य कुनै पक्ष, हरेक क्षणिक बात, विवाद र ज्ञानबाट उ टाढा रहनेथिएन मानौ अब उ बाच्ने अन्तिम बाहना नै त्यत्ती रह्यो । जीवनको उर्जाले भरिपुर्ण, धनले परिपुर्ण र ज्ञानले पुरीएको उमेर, उसले सबै आफ्नै मातृभूमी र देशको लागि बिताएको थीयो तर बाँकी रिटायर्ड भएपछीको खाली समयमा पनि पढेर र पढाएर बिताउँथ्यो ’देश’ । लाग्थ्यो अब उस्लाइ देश बाहेक अरु केही सोच्नु नै थिएन कि सोच्ने बिषयनै केही थिएनन ? वा अब त्यही अन्तिम विषय हो जसले उसको सास केही समय अझै चलायमान राख्न सक्छ ।
हाम्रो समाजको अनुसार उसको जीवन पूर्ण थियो, सन्तानलाई आफ्नो खुट्टामा उभ्याइसकेको थियो, बाचुन्जेल खान र लाउन पुग्ने सम्पती आर्जेको थियो र सबैभन्दा महत्वपूर्ण समाजमा बस्न चाहिने अर्थहिन, देखावटी सम्मान र मर्दा ‘विचरा राम्रो मान्छे थियो’ भन्ने वा पर्दा बाध्यता र उसले लगाएको गुनै तिर्न भए पनि साथ दिए जस्तो गर्दीने मान्छे पनि कमाएको थियो । अनी रह्यो कुरा ज्ञानको त्यो उसँग बाडेर नसकिने थियो, त्यसैले सायद ठाउँ बढि चाहिएर ज्ञानले दिमागमा एउटा छुटै ठाउँ बनाउन खोज्दा ब्रेन ट्युमरको बिरामी बनाएर छोडेको थियो, जसले कहिलेकाहीँ उसलाइ पागल हुने गरी र केहीले पागल भन्ने गरी सताउँथ्यो ।
सम्बन्धमा उ मेरो छिमेकी पर्थ्यो र म बस्ने ठाँउ र उसको घरको दुरी एक नजरको वा सासभरको थियो नभए एकै चीत्तको हुँदो हो । त्यसैले त उ सँग समय हुँदा र खाली हुँदा मलाइ बोलाईहाल्थ्यो र म पनि भ्याएसम्म उसँग बात गर्न पुगिहाल्थे । उसको कुरा सुन्दा लाग्थ्यो, पुरानो कुरा नयाँ समयसँगै झन कती बढि मूल्यवान हुने रहेछन । उसँग बोल्दा समय बितेको पत्तै लाग्ने थिएन, किनकि जीवनको पृष्ठभूमी र कर्ममा केही फरक भएता पनि उसको सोच र उर्जा मेरो भन्दा आधुनिक र ज्यादा लाग्थ्यो। उसको समाजलाई हेर्ने दृष्टिकोणले कुनै पनि मस्तिष्कलाई जुनैपनी समाज प्रती प्रेम बसाइदिने सामर्थ्य राख्थ्यो । उ सगरमाथाको उचाइ देखी लालीगुराँसको सुन्दरताको बयान गर्थ्यो, सती प्रथाको उल्लंघन देखी छोरीचेलीका लागी बनाइएको नियम सम्म सबैको सकरात्मक पाटो हेर्थ्यो । संसारको फोहोर पखाल्न सक्ने उसको देशमा पानी छ भन्ने कुरा गर्थ्यो, उसको देशको सेना देख्दा अरुको पसिना चुहीएको कल्पना गर्थ्यो । बाक्लो हरियो जंगल देखाउथ्यो र भन्थ्यो कती भाग्यमानी छ उ ।
हरेक कुरालाई हेर्ने उस्को तरिका निकै फरक हुन्थ्यो, र फरक हुन्थ्यो उसको सोचाई, विशाल धरातलका फराकिला सोचाइ अनी तर्क । तर उ सँग समय भने दिन गनेर टाढिँदै थियो र उ टाढिँदै थियो चिया पसलेसँग, बहस गर्ने उसका साथीहरुसँग र उ हिँड्ने र अदालत बसाउने बाटाहरुसँग । तर पनि उ मोटामोटा किताबमा र खाली पानामा कलम लिएर यसरी डुब्थ्यो मानौँ उसलाइ मृत्युको भन्दा बढि किताब नसकी जाने भय छ, कथा नसकी जाने भय छ। केही कुरा जानी नसक्दै मरेर जाने डर छ। दुर बिदेशमा बस्ने सन्तानले बोलाँउदा जान नखोज्ने उ दिनभरि बार्दलिको कुर्सिमा बसि पढेर र लेखेर तल बाटामा हिँड्ने मान्छे हेरेर अनी थाकेपछी त्यही लडेर बिताएको देख्दा लग्थ्यो मान्छेलाई ठाउँ कती कम चाहिने रहेछ आफ्नो जीवन बाँच्न सिके।
त्यसदिन पनि उ आफ्नो सानो संसार सधैं जसरी बार्दलीमा बसेर नियाल्दै थियो र त्यत्तिकैमा उसको सानो संसारको सानो फ्रेममा म पर्न पुगेछु र बोल्ने साथी नपाएको उसले मलाई सधैं जसरी बोलायो । काम खासै नभएको भएर म पनि गफीन थालेछु। जीवनमा उसको समय, साथी र यहाँसम्म कि पुग्ने ठाउँ सँगै गफ गर्ने विषय पनि कम हुँदै गएका थिए। तर त्यस दिन एक्कासी ’के हुने होला है यो देश को ?’ बाट सुरु भएको थियो हाम्रो संवाद।
हुन त त्यस भन्दा पहिला पनि म सँग उसले देशका विषयमा धेरै कुरा गरेको थियो। मलाई बुझाउँदै जङ्गल देखी बाटोसम्मका बिरोधका कथा अनी दरबार हत्याकाण्ड देखी प्रजातन्त्र र लोकतन्त्रका मन्त्रहरु, कहिले कुलमान देखी रामे सम्मलाइ ओगट्ने कथा त कहिले विद्या देखी बिजुला सम्मका व्यथा । कहिले देशको लागी सहिद भएको उसको साथी अनी फेरी कहिले सत्तामा चुर भ्रष्टचार गर्ने पापी । उ सबैका कुरा गर्थ्यो, सबैको कथा लेख्थ्यो र सबैलाइ एकै समान देख्थ्यो ‘मान्छे’ समान । उसका कुरामा म कहिले ध्यान दिन्थे कहिले दिन्थिन तर आजको उसको प्रश्नमा म भिन्नता भने पक्कै महसुस गर्न सक्थे भिन्नता सोधाइमा, भिन्नता उत्तरको आसामा, अनी भिन्नता परिवेशमा ।
कहिले सकारात्मक त कहिले नकारात्मक हुने मान्छेको स्वभाव नै हो र म पनि मान्छे नै हुँ। तर उसको प्रश्नको उत्तर मैले कुन शैलीमा दिनुपर्ने थियो ? म सोच्दै थिए किनकी न म राज्यको परिस्थितिबाट अन्जान थिए न उसको समेटिएर नसमेटिने प्रश्नको उत्तरबाट। यो विषयमा म पनि गलत त अवश्य हुन सक्थे तर उत्तरहिन यो देशको विषयमा कोहि हुन सक्दैन । त्यसैले उसको सुस्ताएको शरीर, थाकेको मष्तिस्क र चिन्तित बोलीलाइ नियालेर सकारात्मक भावमा सकारात्मक शब्द बटुल्दै के थिए, उस्ले मेरो भ्रामिक अभिव्यक्ती देखेर सायद कुरा फेर्न खोज्यो तर खासै टाढा पुग्न भने सकेन र फेरी त्यही बिषयमा फरक प्रश्न सोध्यो ’के गर्ने सोच छ त यो देशमा बसेर ?’ उ त्यस दिन अर्कै सुनिन्थ्यो मानौँ उसको प्रश्नले उत्तर सँगै मौनता पनि आशा गरिरहेछ, मानौँ उ भित्र धेरै कुराहरु छन र उ हिजोको जस्तो आज कुनै हालतमा छैन न उ, न उसको मन।नत्र ’के गर्ने’ सोच मात्र पनिको उत्तर नभएको मलाई ’यो देशमा बसेर’ले झन ठुलो मर्कामा पारी रहेको थियो, म उत्तरविहिन थिए किनकी मैले के गर्ने वा के गर्छु त्यो सबैको बारेमा सोच्न आँफुलाई समय कहिल्यै दिएकै थिइन तर मेरो परिस्थितिबाट अन्जान उ पनी पक्कै थिएन।
तर आज एक्कासी उ अर्कै लाग्न थाल्यो । पाको, शंकालु, स्मार्ट कि बिरामी?मानौँ केही कुराले उसलाई खाँदै छ भित्रभित्रै, तर मैले सोध्न भने सकिरहेकी थिइन । र त्यही सोध्न नसकेको प्रश्नको उत्तर मेरो मौनताले गर्दा उसले बिषय फेरी पनी मोड्दै, आँफैले दिन थालीसकेको रहेछ। पछी थाहा भो उसको सन्तान उसलाइ लिन आउँदै रहेछन, उतै उपचार गर्न तर उसलाई उसको आफ्नै देशमा मर्ने धोको सायद अपूरो हुने पो हो कि भन्ने पिरले खाइरहेको रहेछ। पहिलो चोटि मलाई किन उसँग बोलेछु जस्तो महसुस हुँदै थियो, सायद म स्वार्थी पनि भएकि थिए होला तर यदी कसैको दुःख कम गर्न सकिदैन भने दुःख सुन्नु मात्र कहाँ सम्मको सन्तोषको कुरा भयो र ?
त्यस दिन त्यो प्रश्न मनमा यसरी गाडीयो जसरी कुनै कापीको पानामा कलमको टुप्पो गाडीन्छ, बिस्तारै आफ्नो मसी कापीमा छोड्दै अनि शब्द बनाउँदै। र त्यो कुराले म भित्रै अर्कै मान्छे बनाउँदै थियो म भन्दा बेग्लै र भिन्न । त्यो दिन त्यही प्रश्न अरु कसैले सोधेको भए सायद मैले केही उत्तर फर्काएर बिर्सिन्थे पनि होला । तर त्यो प्रश्न यस्तो व्यक्तिले सोधेको थियो जसले आफ्नो जीवनभर सबैलाई आफ्नै देशमा बस्ने, आफ्ने देशमा मर्ने प्रेरणा दियो र देशैको लागि आफ्नो सबथोक खर्च्यो। आफ्नो उमेर, छोराछोरी, यहाँ सम्मकि आफ्नो स्वास्थ्य पनि, तर त्यो प्रश्न ?
केही दिनमै उ बाहिर जाने रहेछ त्यसैले कि अन्त्यमा सबै सँग थाकेर, आफ्नो दिमाग, आफ्नो देश, राजनीति आफ्नो समय अनि आफु आँफै ? खैर त्यो प्रश्न पनि उ सँगै उतै गयो अनी कहिल्यै फर्केर पनि आएन तर साँच्चै के गर्छु म यो देशमा बसेर ?
उ जस्तै हुन्छु देशप्रेमी ? अनी सिकाउँछु देशको पाठ अरुलाई ? तर मसँग त उ जस्तो बाँड्दै हिँड्ने ज्ञान पनि छैन न यो देश र समाजलाइ हेर्ने सकरात्मक र उर्जाशील सोच उसको जस्तै ।
उत्तरै नदिइ गएको उ उतै बिलायो, कहिल्यै नफर्किने गरेर तर उसको त्यो प्रश्नले सधैं मलाई उ आजपनी त्यही बार्दलीमा भएको महसुस गराउँछ, यहीँ भएको महसुस गराउँछ तर उत्तर मैले अझै पाएको छैन सायद यो प्रश्नको उत्तर दिने क्षमता नै म सँग छैन तर जाँउ पनि त कहाँ म उसले गरेको प्रश्नको उत्तर खोज्न ? उसले पाठ पढाएका विद्यार्थीसँग ? उ चिया खाँदै गफिने खाजा घरमा ? उसले पढ्ने पुस्तकमा कि बाटोमा बसाउने अदालतका अरु पात्रहरुसँग ? सायद उसले कोरीरहने कापीमा केही थियो तर त्यो कापी भने म सँग थिएन ।
आज पनी कोशिसको क्रम जारी छ। तर साँच्चै म के गर्छु यो देशमा बसेर? सायद गर्न सके त गर्ने धेरै कुराहरु छन, तर के गर्छु म ?
पार्टी फुटाउन हिँड्छु? जुटाउन हिँड्छु? अन्यायमा परेकालाइ न्याय दिलाउन हिँड्छु ? देशको लथालिङ्ग राजनीति बटुल्न हिँड्छु कि देशलाइ सही बाटो देखाउन हिँड्छु? फेरी न्यायको लागि बोले भने कतै म पनि मदन भण्डारी बन्नेपो हुँ कि ? राजा नभए पनि मेरो परिवारको दशा दरबार हत्याकाण्डको जस्तो पो होलाकि ? मेरी बहिनी निर्मला पन्त हुने त हैन कतै ? कि भाइ भोली खराब राजनीतिको सिकार बनेको देख्नुपर्ला?
थाहा त आजको दिन सम्म पनि हुँदैन, कि भोली के हुन्छ ? कहिले कहाँ के कसरी र किन हुन्छ? कतै महामारीका कारण बेड र अक्सीजन नपाएर मर्छु कि ? आदर्श मिश्राका बाबुजस्तै उपचार नपाएर? थाहा छैन ३ बर्ष देखी एकै कक्षामा अड्कीएर करियरै छोडीदिन्छु की ? पढेर जागीरै खान्छु ? फेरी जागीर पनी त के खाउला ? कसले दिन्छ मलाइ जागीर न ठाँउमा आफ्ना मान्छे न घुस खुवाउन पैसा।
त्यसपछि उसको प्रश्न छोटो लागेको थियो र एक्कासी सुन्दा अर्थहीन तर प्रश्न कती जटील रहेछ त्यो आज हरबखत उत्तर खोज्दा ज्ञात हुन्छ । प्रत्येक आज, खोज्छु खोजीरहन्छु तर हारे भने उत्तर खोज्न ? अनी त्यसपछी ?
सायद त्यसपछि सोध्छु अरुलाई म पनी उ बनेर । सायद उ भन्दा धेरै भिन्न भएर किनकि मसंग उसको जस्तो ज्ञान छैन, कुनै पनि कुरामा बहस गर्न सक्ने हिम्मत र उ जस्तो बन्ने प्रेरणा पनी ।
तर अझै अरु कतीले उ जस्तै प्रश्न गर्ने वातावरण सृजना हुन्छ ? अझै कती सतीले सरापेको देश भन्दै न्यायको घाँटी निमोठीरहन्छन ? अझै कती महामारी भन्दै घर भित्र बसाइन्छ, अनि महामारीले समाते पछी उपचार पाए उपचारमा लाग्ने खर्चले मारीन्छन जनता ? अनी नसमाते भोकमरी र सोकमरीले ? कती खान नपाएर मर्दैछन, कती उपचार नपाएर गल्दैछन र कती न्यायको लागी लड्दै छन ? तर फेरी उत्तर दिन्छ पनी त कसले ?
किनकी उत्तर दिने मान्छे त हिजोआज आफ्नै हिसाबमा ब्यस्त छन, अमुक भएर बसेका छ्न, भ्याक्सिन ल्याउँदा पाइने कमिसनको हिसाब, चुनावमा लाग्ने खर्चको हिसाब, भोटको हिसाब र जितेपछी गर्ने भ्रष्टचारको हिसाबमा ।
तर उसको प्रश्नको उत्तर भने मैले दिन सकिन । उसंग म हारेँ, तर म भन्दा बढि उ हारेको थियो आफ्नै देशप्रेमको भावसँग, आफ्नै देशसँग ।
उ ? उ त केबल एक पात्र मात्र थियो, नामविहिन पात्र तर उ हामी धेरैको दिमागमा बस्ने देशभक्त पनी थियो, देशप्रेमी थियो । हामी भित्रको देश प्रतीको दायित्त्व बुझाइदिने सोच थियो, जुन एउटा त्यस्तै प्रश्नसँग हराएर गयो । जुन बाहिरि देशको दशा सँग डराएर गयो। र एकदिन त्यसै गरी तिमीलाइ प्रश्नको उत्तर सोच्न लगाएर, प्रश्न सोध्न सक्ने बनाएर तिमीलाइ पनी छोडेर जान्छ। ज्ञान सबै छोडेर, किनकी ज्ञानको भोकालाइ के अर्थ ? गरिबलाइ के थाहा ज्ञानले कसरी पेट भर्छ ? अस्पतालमा मृत्यु कुरेकालाइ के थाहा ज्ञानले कसरी औषधीको काम गर्छ ?
न कुर्सीमा बस्नेलाइ थाहा छ ज्ञान भए कुर्सी बढाउन मिल्छ, घटाउन मिल्छ अनी अडाउन पनी तर के अर्थ यो सबैको ?
सकरात्मक सोच र विचारले मात्र उ र म बाँच्न सक्ने रहेनछौ र देशप्रेम मात्रले पनि हामीलाइ जीवीत बनाउन सक्दो रहेनछ। किनकि हरेकको भाग्य र बल सत्तामा पुग्ने हुँदैन, हरेकलाइ उ जस्तै राजनीति र देशको ज्ञान बाड्ने मन हुँदैन । धेरै हुन्छन देशसँग हारेका, देशको प्रेम मात्रले खान नदिएर खाडी भासीएका, अझै धेरै हुन्छन न्यायको लागी गुहार माग्दामाग्दै आफु र आफ्ना गुमाएका । तर ती सबै तमाम मान्छेमा पनी उ हुन्छ । नेपालमा पढ्न मन नलागेर विदेश पस्ने युवामा पनी उ देख्छु म, अनी बाटामा मागेर भोक टार्नेमा पनी तर ? उनीहरु भित्र बसेको उसले देश चलाउन त सक्दैन । यदी चल्थ्यो भने किन खाडी पस्थे म ? किन माइतीघर मन्डलामा हुने धर्नामा दिनरात बस्थे म ? किन एक छाक भात बाँड्न आउनेको बाटो कुर्थे म? किन उ र म सबै बाट थाकेर देशै बाट टाडा भाग्थ्यौँ र भन्थ्यौँ, ‘धन्न म त्यो देशमा छैन !’
–लेखिका लेक सिटी कलेज एण्ड रसिर्च सेण्टरमा विए प्रथम वर्षमा अध्ययनरत छिन् ।

प्रतिकृया दिनुहोस्