Pokharapatra National Daily

जीवन भोगाइ पछिको बुझाइ

सुजता ढकाल, पोखरा
जीवन अन्वेषण गर्दै जाने क्रममा धेरै ठाँउहरु पुगेँ अनि धेरै मनिसहरुसंग भेटे पनि । यात्राहरुका यस्तै क्रममा भेट भएको थियो शान्ति गुरुङ अनि सानुमाया चेपाङ सङ । हुनलाई दुई फरक नाम तर यदि भाग्य हुन्छ र लेखिन्छ भने दुबैको भाग्य सायद एउटै हातले लेखेको हुनपर्छ । एक सय ७४ कि.मि. लामो धेरै गाउठाउँ अनि शहरहरु जोड्ने पृथ्वी राजमार्गले हुग्दि पुल, धादिङबाट दक्षिण पश्चिम लागे पछि १०–१२ कि.मि. मात्र माथि बसेको बेनिघाट रोराङ गा.पा.– १० स्थित गोइराङ गाँउलाइ कहिल्यै विकास सङ जोड्न सकेन अनि सकेन जोड्न सुख सङ ।
कैँयौ वर्ष फेरिए, देशमा सत्ता र सरकार फेरिए, अनि फेरिए राजमार्गमा हिँड्ने गाडिहरु प्रत्येक घडी, तर गोइराङको त्यो उजाडलाग्दो पाखोमा बसेका ती साना साना घरका कथाहरु कहिल्यै फेरिएनन् ।
हुन त जीवनमा सुख नदेखेका मानिसलाइ दुःखले पिरोल्दैन रे, केहि पल त्यस्तै पनि लाग्यो जब मैले गोइराङका कथाहरु आँफैले पहिल्याउने मौका पाँए । बिजुली एकै बर्ष आगडी आएको भए पनि, गोइराङका जीवनहरु अझै अँध्यारो मै बाँचिरहेका थिए । विकासको नाममा छ महिना पहिला आएको बाटो मात्र थियो अनि अरु विकासका पुर्वाधारबाट टाढिए जस्तै टाढा टाढा बसाइएका थिए घरहरु । सायद एउटा घरको रित्तो कसौँडि अर्को घरले बजेको नसुनोस भनेर वा अर्कै घरको फाटेको कपडा सिलाउँदै गरेको अर्को घरकाले नदेखुन भनेर ।
पोखरा लेकसिटि कलेज एण्ड रिसर्च सेन्टरमा सामाजिक कार्य र पत्रकारिता पढिरहेकी मलाई समाज पढ्न खुब मन लाग्ने अनि लाग्ने मन समाजमा बस्ने विवेकशील प्राणी भनिने मानिसको कथा सुन्न । त्यसैले कैवाल्य संस्थामा कार्यरत उम्मिद दाइले धादिङ जाने कुरा गर्दा आँफुलाइ रोक्न सकिन र गएँ आँफै सङ पढीरहेका साथी बसन्त पहारी अनी फोटोग्राफर सुवास दाइ सङ । मनमा एउटा बेग्लै कल्पनाले घर बनाइसकेको थियो अनि त्यहाँ भेट हुन सक्ने पात्रहरुले दिमागमा आफ्ना लागि ठाँउ बसाइसकेका थिए। बाक्लो चेपाङ बस्ती अनि गुरुङ मगर मिश्रित ठूलो गाँउ हेर्दा कुनै द्वन्द पछि घायल छोडिएको मान्छे जस्तै देखिन्थ्यो । बाटो खन्दा लागेका चोटहरु अझै ताजा नै देखिन्थे, मानौँ चोटहरुले चिच्याउँदै गुहार्दै छन् खोज्दैछन मलम आँफूलाई अनि बस्तिका आफ्ना आफन्तहरुलाई । स्कूल र शिक्षा व्यवस्था अवलोकन गर्न विद्यार्थीहरुका लागि केहि स्टेसनरी र खेलकुद सामाग्री मात्र लिएर गएका हामीलाई अरु औषधिको अभावले पिरोल्न थालिसकेको थियो । पहिलो दिन झमक्क साँझमा पुगेका हामी थकाइ अनि अफ्ट्यारोले थोरै मात्र कुरा गर्यौ तर हामीले बास बसेको घरका मालीक प्रकाश गुरुङले आफ्नो गाउँ बस्ती अनी बसोबास गर्ने मान्छे सबैको विस्तृत जानकारी दिए । अनि दोस्रो दिन विद्यालय अवलोकन र गाँउ भ्रमणमै बितेकाले केहि कुरा भइरहेको थिएन ।
त्यसैले एक दिन अनि दुइ रात वितिसक्दा पनि कुरा हुन नपाएको र सोध्न नसकेको प्रश्न, अफ्ट्यारो मान्दै सोधेकी थिए, १४ महिने बाबु पिँठ्युमा बोकेर बेलुका खाएका भाडा माझ्न निस्केकी शान्ति गुरुङलाई । उनको शारिरिक बनावटबाट अनुमान गर्न सकिन्थ्यो, उनको भर्खरै फकृदैँ गरेको उमेर, जसलाई उनैको पिँठ्युमा खेलिरहेको कोपिलाले थिच्दै थियो । त्यत्तिका समय उनि मुनिकै छानो बाँडेर बसेकी मलाई खोइ किन आएनन् पहिले यति धेरै प्रश्न? अनि आए पनि त कहिले? तब,जब केहि बेरमै फर्किनु थियो पोखरा । कति महिना भयो नि बाबु? बाट सुरु भएको मेरो प्रश्न कति बेला किन यति छिटै बिहे गरेको नि? मा पुगेछ थाहै भएन । १४ महिने बाबु आफ्नी आमा अनि र मेरो संवाद सुनेर झिझिँदा पो झसङ्ग परे ।
बाबा सानैमा बित्नु भयो, ६–६ वटा छोराछोरीलाइ हुर्काउन आमालाइ धौधौ थियो, त्यसैले दुइ जना ठूला दाइहरुले ज्याला मजदुरीको बाटो रोझे, म भन्दा ठुला दुई दिदिहरुले बिहे गरिसकेका थिए, तर म र सानो भाइ भने एक घण्टा लगाएर स्कूल जान छोडेका थिएनौ पढ्नलाइ जीवन बाहेकको पढाइ । म पाँच कक्षा पढेर ६ कक्षामा जाने बेला भएको थियो, त्यत्तिकैमा म भन्दा १ कक्षा माथि पढ्ने केटा सङ प्रेममा परेँ अनि सुरु भयो मेरो जीवनको अर्को अध्याय ।
एक घण्टा लगाएर कहिले भोको पेट त कहिले खाली खुट्टा हिँड्दा बिरक्त लाग्थ्यो अनि झन बढि बिरक्त लाग्थ्यो घरको गरिवी अनि परिस्थिति देखेर । त्यसैले दिदीहरुले जस्तै खुसि पाउने आशामा यो बाबुको बाबासंग भागेर बिहे गरेँ । मेरो हजुरआमाले म सानो हुँदा सुनाउने कथा जस्तै लाग्यो मलाइ उनको कुरा । सानै उमेरमा बाबाआमाले झुक्काएर बिहे गरिदिने कथा,हजुरआमाको कथा तर शान्तिको कुरा हजुरआमाको कथा भन्दा फरक थियो, किन कि उनलाइ उनका बाबाआमाले झुक्काएर गरिदिएका थिएनन् उनको बिहे । यती भनीसक्दा उनको आँखामा भरिएको आँसुको गहिराइ अनि बोलिमा छोपिएको पछुतो र लाज सायदै आज कलमले लेख्न सक्ला तर मैले प्रस्ट देख्न सक्थे उनका हरेक शव्द अनि आँखामा । मैले बाल्टीबाट पानी झिक्दै गर्दा उनले दोहोराएका शब्द “आज पछुतो लाग्छ“ अझै पनि मेरो दिमागमा गडेर बसेको छ, तर खोइ किन त्येसै बेला पनि फेरी किन?भनेर सोध्न मन लागेन, सायद किनकी मैले देखिसकेकी थिए उनको उत्तरमा आउन सक्ने दृश्यहरु, उनका जेठाजु प्रकाश गुरुगंको परिवार संगै बसेसी उनैको घरमा बस्दा, खादा अनि नियाल्दा ।
गरिवी अनि पिडा बाट भाग्न उनले बिहे गरेकी थिइन, उनलाइ पढाइको बाटो भन्दा सजिलो लागेको थियो बिहेको बाटो। त्यसपछी उनको पिडा कम भयो कि भएन थाहा भएन तर गरिवी भने उनले व्याख्या गरे जस्तै थियो अझै पनी।तर सायद उनले त्यसबेला स्कुलको १ घन्टाको बाटो केहि बर्ष अझै हिँडेको भए आज उनको गन्तब्य सायद अर्कै हुन्थ्यो होला । अब त स्कूल पनि नजिकै छ, फेरी पढ्न जान मन लाग्दैन? मेरो प्रश्नमा उन्को उत्तर मुस्कान थियो, लाज अनि संकोचले भरिएको मुस्कान अनि बिस्तारै तेर्सो गरेर बारम्बार हल्लाइएको शिर ।
साएद भन्न खोज्दै थिइन अब त लाज लाग्छ, बाबु पनि त छ, कसरी ? अब बाबुलाइ पढाउछु, म अनि यसको बा जस्तो हुन दिन्न यसलाई । लागेको थियो, शान्तिको कथा मगजमा धेरै बेर अढिदैन, कलेजमा पढेका पाठहरु जस्तै, तर अहँ! त्यसो भएन। करिब ६ महिना अघि मात्र ६ बर्ष लगाएर आएको बाटोबाट तल झर्दैगर्दा पनी उनको कथा हामीसँगै गाडी चडेर तल हुग्दी पूल सम्मै आयो, छोराको कान जचाँउने बाहाना बनाएर, अनि सँगै भेटाइदियो उनी भएकै कथाको अर्को पात्र सानुमाया चेपाङ सँग । त्यसो त हिजो अस्तिको बसाईका देखाइ अनि भोगाइबाट म प्रस्ट थिए, शान्ति गुरुङको कथा उनि मात्रमा सिमित नभएर सबै गोइराङ गाउँकै कथा हो तर पनि फेरी म झस्किए, सानु मायाको उमेर सुनेर ।
काखमा १० दिने नानी बोकेर तल हेल्थपोस्ट सम्म जँचाउन हिडेको त्यो सानो शरीर मात्र १५ बर्षको रहेछ अनि २ बर्ष पुरानो रहेछ उन्को बिहेको कथा ।
तर बल्ल टुसाँउदै गरेका स्तनबाट उनले एउटा अर्को शरीर पाल्दै थिईन अनि पाल्दै थिईन भविष्यकी उनलाई। सानुमायालाई बढि प्रश्न गर्न उनको सुत्केरी शरीर अनि झारा टार्न मात्र खनीएको अफ्ट्यारो बाटोले दिएन तर नानी काखमा समाएर चिम्लिएका उनका बन्द आँखामा पनि म देख्न सक्थे उनको कथा, शान्तिको जस्तै उनको बिहेको कथा अनि सानी छोरीको भोलि फेरी दोहोरीन सक्ने कथा, जुन म चाहन्न थिए दोहोरियोस्, अनी सुन्न परोस म जस्तै कोइ अरुले, उनको बिहेको बाटोको कथा अनि पछुतोको व्यथा, कुनै पनि कारणले ।
गोइराङ जान पनी नानाथरी बाहाना अनी घुर्की लगाएर गएकी मलाइ सानुमाया र शान्तीको कथाले आफ्नो जीवन एक चोटी फेरी फर्केर हेर्न बाध्य बनाएको थियो। कसरी म स्कुल जान बाबाआमालाई यो र त्यो किन्दीन माग गर्थे, कलेज जाँदा होस या साथीहरुसंग बाहीर घुम्न जादा होस, पैसा माग्न कती सजीलो थियो, २१ बर्ष लागिसक्दा पनि सानै छेस् भनेर कतै जान दिन अफ्टयारो मान्ने बाबाआमालाई मैले बारम्बार सम्झीरहेकी थिए । यसपाली रिसले होइन प्रेमले, सम्मानले अनी कृतज्ञताले । कसरी हरेक कुराका लागि, नचाहीदो माग देखी अती आवश्यक अर्ती दिएका पल सम्म, मैले एकाएक सबै सम्झीरहेकी थिएँ । त्यती सबै माझ मेरा गोइराङ नामक कथाका पात्रलाइ धन्यवाद संगै नराम्रो मानीदिनु बाहेक म अरु केही गर्न सकीरहेकी थीइन। तर मेरो हातमा भएको र गर्न पनि सक्ने प्राथना थियो जुन मैले गरीरहेकी थिए उनीहरुसंग छुटेपछी आज यो लेखीरहदा सम्म उनीहरुका लागि, उनीहरुका काखमा खेलेका नानीबाबु देखी उनीहरु जस्तै, भेट हुन नपाएका बेनीघाटका अरु पात्र अनी छुटाउनै नमील्ने सरकारका योजना र नितीहरुका लागि जस्ले कुनैदीन शान्ती अनि सानुमायाको जस्तो जीवन अरु बन्न दिनेछैन, अनि दिनेछैन रोज्न सजीलो शिक्षा माथी बिहेको बाटो । लेखीका लेक सिटी कलेज एण्ड रिसर्च सेन्टरमा विए प्रथम वर्षमा अध्ययनरत छिन् ।

प्रतिकृया दिनुहोस्