Pokharapatra National Daily

समताः सबैका लागि शिक्षा

-झलक प्रसाद शर्मा
प्रिन्सिपल
समता शिक्षा निकेतन, पोखरा

निर्धारित समयमा हामी पुग्दा प्रस्याङ्ग, मालेपाटनमा अवस्थित समता शिक्षा निकेतनमा विद्यार्थीहरु अनुशासित पुर्वक पढिरहेका थिए । शान्त वातावरण, अनुशासित विद्यार्थी र कर्मशिल शिक्षकहरुलाई देख्दा ज्ञानको भुमीमा पुगेको आभास भएको थियो । त्यसमा पनि कलात्मक तरीकाले सजाइएका बाँसले निर्मित कक्षा कोठा अनि वरिपरीको मनोरम दृश्यले त गुरुकुल कै झल्को दिन्थ्यो । समताका संस्थापक उत्तम सन्जेलको परिकल्पनामा, सबैका लागि शिक्षा भन्ने नाराका साथ २०५७ सालमा काठमाडौंको जोरपाटीमा मासिक रु १०० शुल्कको स्कुलको बीजारोपण गर्नुभएको थियो । अहिले त्यो स्कुल, विभिन्न सफलताका फुलहरु सँगै झाङ्गिएर नेपालका विभिन्न ठाउँ सहित ईन्डिया, श्रीलंका, म्यान्मार देखि बंङ्लादेशसम्म फैलिएको छ । जसमा अध्ययनरत करीब ४० हजार विद्यार्थीहरुले आफ्नो सुनौलो भविष्य कोरिरहेका छन् । त्यसको १० वर्ष पछी, २०६७ सालमा शुरु गरिएको पोखराको समतामा पनि करीब १००० जना विद्यार्थीलाई ४५ जना शिक्षक कर्मचारीहरुले शैक्षिक दिशानिर्देश गर्दै हुनुहुन्छ । समतालाई अझै नजिकबाट नियाल्ने प्रयास स्वरुप समता शिक्षा निकेतन पोखराका प्रिन्सिपल झलक प्रसाद शर्मा सँग पोखरापत्र दैनिकका दीपेन्द्र पहारीले गर्नुभएको कुराकानी ।

 विद्यालयप्रती आम जनसमुदायको धारणा कस्तो पाउनुभएको छ ?
विद्यालयका शुरुवाती दिनहरुमा निकै कठिनाई भोग्नुप¥यो । निजी शैक्षिक संस्थाहरुबाट, आर्थिक रुपमा सस्तो शुल्कको विद्यालय खोलेर हामीलाई चुनौती दिने, जस्ता खालका आरोप पनि झेल्नु पर्यो । अन्यले विदेशी डलरबाट चल्ने स्कुल भनेर भ्रम पनि फैलाए । यती कम शुल्कमा कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भनेर कैयौले शंका पनि नगरेका होइनन् । तर जब पहिलो एस.एल.सी ब्याचको नतिजा उत्कृष्ट आयो, तब पोखरा मात्र नभएर पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु समतामा पढ्न आउन थाले । हाल आएर हामीले प्राप्त गरेको शैक्षिक उपलब्धीले गर्दा समुदाय लगायत सबैको विश्वास जितेका छौ र सबै जना विद्यालय प्रति सकारात्मक भएको पाएका छौ ।
 विद्यालयका उपलब्धिहरुलाई कसरी मापन गर्नुहुन्छ ?
यस विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरु नेपालका प्राय जसो सबै विश्वविद्यालयहरुमा मेडिकल, ईन्जिनियरिङ लगायतका विषयहरुमा छात्रवृत्ति पाउन सफल भएका छन् । त्यति मात्र नभई, अष्ट्रेलिया, न्यूजील्यान्ड जस्ता मुलुकहरुमा छात्रवृतीमै उच्च अध्ययन गरिरहेको थाहा पाउदा गर्वको महशुस हुन्छ ।
 विद्यालयको सफलताको पछाडि के कारण छ ?
हामी संस्कार सहितको शिक्षामा बढी जोड दिन्छौ । जस्तै, नमस्कारबाट शुरु भएको दिन नमस्कार बाटै अन्त्य गर्न सिकाउछौ । तसर्थ, पहिला अनुशासन अनि दोस्रो शिक्षा भन्ने तथ्यलाई अङ्गिकार गर्दै लगेकाले सफलता मिलेको हो भन्ने विश्वास छ ।
 समताको सिकाइ प्रक्रिया, के कुरामा पृथक छ ?
शैक्षिक सिकाइ र रचनात्मक कृयाकलापमा विद्यार्थीहरु स्वतन्त्र छन् । विद्यालयप्रतिको लगावले नै विद्यार्थीहरुलाई अझ धेरै मेहेनत गर्न अभिप्रेरित गरिराखेको छ । त्यसमा शिक्षक वर्गको शिक्षण कुशलताले प्रमुख भूमिका खेलिरहेको छ । शायद यिनै पक्षहरुमा हामी पृथक छौ ।
 कस्ता किसिमका चुनौतिहरु सामना गरिरहनु भएको छ ?
कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु आँफैमा एक चुनौतिपूर्ण कार्य हो । यद्यपी धेरै मनकारी व्यक्ती तथा संस्थाको सहयोगमा हामीले सो चुनौती पार गर्दै शैक्षिक यात्राका अघि बढिरहेका छौ । विद्यालयलाई भौतिक पुर्वाधारको हिसाबले अझै सुधार गर्दै लैजानुपर्ने अर्को चुनौती थपिएको छ । जसका लागि पनि सहयोगी मनहरुको अपेक्षा गरेका छौ ।
 कस्ता विद्यार्थीहरु लक्षित समुहमा परेका छन् ?
समतामा सबै किसिमका विद्यार्थीहरु अध्ययनरत छन् । यसमा पनि न्युन आय भएका अभिभावकहरु परिस्थितीवस बसाई सराई गर्दा कति राम्रा विद्यार्थीहरुहरुले पनि बीचमै हाम्रो स्कुल छाडी अन्य बिद्यालय जानुपर्दा दुख लाग्छ । तर केही अभिभावकहरुले टाढा बसाई सराई गरेपनी आफ्ना छोरा छोरीहरुलाई टाढैैबाट हाम्रा स्कुलमा पढ्न पठाउनहुन्छ, जुन एकदम सकारात्मक रुपमा लिएका छौ ।
 विद्यार्थीहरुको आर्कषण बढ्नाको कारण के होला ?
आफ्ना दाइदिदीहरु, आफन्त र छरछिमेकमा रहेका समताबाट सफलता प्राप्त गरेका विद्यार्थीहरु देखेर नै नयाँ विद्यार्थीहरु समतामा आफ्नो भविष्य सुनिश्चित बनाउन आउछन् । अनी अर्को कुरा, यहाँको अध्ययनशिल वातावरणले जो कोहीलाई पनि आकर्षण गर्ने गर्दछ ।
 समताबाट उतिर्ण विद्यार्थीहरुको निजामती सेवामा प्रवेश गर्न कत्तिको इच्छुक पाउनुभएको छ ?
हाम्रा विद्यार्थीहरुको निजामती क्षेत्र प्रती निकै लगाव छ । एउटा उदाहरण का लागि, एस.एल.सी २०७२ ब्याचका पुर्व विद्यार्थी अर्जुन सुबेदीले नेपाल आर्मी को सेकेन्ड लेफ्टिीनेन्ट हुन सफल भए । तर ईंग्लिश मीडियममा पढेका विद्यार्थी लाई लोकसेवाको परीक्षा दिदा अनुवादमा समस्या देखिएको छ । जसले गर्दा आशातित नतिजा हासिल गर्न सकिरहेका छैनन् । त्यसैले, निकट भविष्यमै उत्तिर्ण विद्यार्थीहरुलाई लक्षित गरी विशेष तयारी सत्रहरु सन्चालन गर्ने सोचमा छौ ।
 भविष्यका योजना के कस्ता छन् ?
हामी छिट्टै नै नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको, यहिको माटो र भुगोल सुहाउदो कृषिमा उच्च शिक्षा प्रदान गर्ने तयारीमा जुट्दै छौ । यस कार्यमा सबैको साथ र सहयोग मिल्ने नै छ भन्ने विश्वास लिएका छौ । किनकी कृषिबाट नै समग्र देशको समृद्धिको कल्पना गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्