Pokharapatra National Daily

सहकारी दिवस २०७७

संगिता गौतम तिमिल्सिना
–कर्मशील साकोस पोखरा–८, सभागृहचोक, कास्की

आज ६४औं राष्ट्रिय सहकारी दिवस प्रथमत; सबै सहकारी अग्रज, अभियानता र सहकर्मी साथीहरुलाई नमन साथै शुभकामना ! आनन्द लाग्छ सहकारी शब्द उच्चाहरण गरि रहँदा र यसैको प्रेमी भएर यसैको शब्द शब्दलाई केलाउँदा, यसैका नीति, नियम तथा विधिलाई मानसपटलमा खेलाउँदा र यसैको माध्यमबाट बास्तविक समस्या परेका साथीहरुको थोर–बहुत मलमको रुपमा सहकारी मार्फत सहजिकरण गर्न पाउँदा ।
सन् १८४४ मा बेलायतको रोचडेल सहरका मजदुरहरुको आन्दोलन सहकारीमा रुपान्तर भए जस्तै नेपालको चितवन जिल्लाको शारदानगरका किसानहरुको आन्दोलनले पनि नेपालमा वि.स.२०१३ साल चैत्र २० गते सहकारी आन्दोलनको मूर्त रुप लिन सक्यो र सहकारीको विजारोपण भयो । आजको दिन बखान सिंह गुरुङ्ग सहकारीका नेपाली पिताको रुपमा हामीले पायौ र आज हामीले त्यसैको अनुसरण गर्दै लाखौ लाख मानवजीवनको उथानको लागि सहजीकरण गर्दै आएको छ र सरकारले पनि तीन खम्बे अर्थनीति अन्तरर्गत एउटा मुख्य खम्बाको रुपमा सहकारीलाई लिएको छ ।
सहकारी शब्द सह–सँगसगैँ, कारी–काम गर्ने अर्थात सँगसँगै काम गर्ने मानिसहरु भन्ने अर्थ दिन्छ । “एक थुकी सुकी, सय थुकी बगी” भन्ने उखानलाई चरितार्थ सहकारीले गर्दछ । समान किसिमका व्यबसाय, प्रवृत्ति वा वातावरण भएका मानिसहरुको समूहदूारानै सहकारी संस्था संञ्चालित हुन्छ । यसले एक पछि अर्काको समस्याको समाधान गर्दै सम्पन्नतामा पुयाउँदछ । हिजो हाम्रा आमा, दिदी, बहिनीका पोटुकाका टुप्पा र पछौरीका फुर्कामा गुटमुट्याईएका स–साना रकम, आज सहकारी मार्फत अर्ब र खर्बको रुप लिन सफल भएका छन् । फूर्सदिला दिदी–बहिनीहरुलाई साना लघु उद्यमबाट ठूलो उद्योगपति बनाउन सिकाएको छ । रोजगारीको मूलथलो बन्न बनाउन सिकाएको छ । अझ भन्नै पर्दा बैंक वित्तीय संस्थामा काम गर्ने भाई, बहिनीहरुलाई त एउटा Training Institute को रुपमा पनि काम गरेको छ । तर त्यसरी सिक्ने थलो मात्र बनाइनु हुँदैन । वास्तवमा सहकारीले जति चौतर्फी सुविधा दिने सायद कुनै पनि निकाय छैन होला । यसले आर्थिक पाटोलाई मात्र ध्यान नदिई सामाजिक,साँस्कृतिक आदि लगायतका विविध विधामा उल्लेखनीय भूमिका खेलेको हुन्छ । सहकारी सदस्य केन्द्रित सामुदायिक व्यबसाय हो ।
सहकारीमा सुशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । लाग्छ एउटा सहकारी नीति, विधि र प्रविधिमा राम्ररी चलाएको सहकारीकर्मीले तल्लो तहका सदस्यको समस्यालाई पहिचान गर्नुको सँगसँगै माथिल्लो लेभलको सदस्यको भावनामा पनि भिजेको हुन्छ र उनीहरुको इच्छा र आवश्यकता अनुसार सुहाउँदो भूमिका खेलेको हुन्छ । त्यसै भोलि देशको वहाकको रुपमा उभिन पनि उसले राम्रोसँग सक्छ । सच्चा सहकारीकर्मी स्वार्थी हुनुहुँदैन, सबैलाई सम्मान गर्नुपर्छ । थोरै शेयर हुनेको अधिकार पनि उत्तिकै हो भने धेरै हुनेको पनि अधिकार उत्तिकै हुनुपर्छ । यही त सहकारीको शेयर समान हुनुपर्छ भन्ने मान्यता पनि अगाडि सरेको छ । यो सन्दर्भ जहायज पनि छ किनकी सहकारीमा समान व्यवहार र समान पहुँच हुनको लागि दायित्व पनि समानै हुन जरुरी छ । ‘सुखी नेपाली, समृद्ध नेपालको’ परिकल्पना साकार पनि सहकारी मार्फतमै सम्भव छ । सुखी भनेको,मानिसलाई जिउनको लागि आवश्यक सम्पूर्ण तत्वहरुको सहज उपलब्धता हुनुको साथै स्वयंम जीविकोपार्जन गर्न सक्नु हो भने समृद्ध नेपाल भनेको, यहाँ बसोबास गर्ने नेपालीलाई कुनै पनि सहायता छिमेकी सित लिन नपर्नु आफूलाई आवश्यक बस्तु वा सेवा आफ्नै देशभित्र उपलब्ध हुनु हो । यसको लागि उद्यमशीलताको आवश्यकता पर्दछ । यो उद्यमशीलता सहकारीले नै सिकाउँछ ।
हामीमा पैदा हुने अल्छीपना वा आलस्यता हाम्रो प्रगतिको सबै भन्दा घातक तत्व हुन, जसले भोलि भन्ने हाम्रो बानी बसेको हुन्छ–भोलि फेरी साँच्चैको भोलि हो, त्यो कहिल्यै पनि आउँदैन । आजै हामीसँगै छ र आज जहिले पनि आजै आएको हुन्छ त्यो भोलि बन्न सक्दैन भन्ने हामी सहकारीकर्मीले बुझ्नुपर्छ । भोलि शब्द प्रगतिको बादक हो । सहकारीकर्मी वा अभियानताले भोलि शब्दको अनुसरण गर्न हुँदैन । सहकारी क्षेत्रको प्रर्बद्धनको लगि विद्यालय तहको पाठ्यक्रममा आधारभूत सहकारी शिक्षा सम्बन्धी विषयबस्तुलाई समावेश गर्नुपर्छ र देशका समस्त युवाहरुमा सहकारी भावना भिजाएर क्षेत्रगत तथा भूगोलको आधारमा उत्पादन गरी आत्मनिर्भरको बाटोलाई रोज्नुपर्छ । सच्चा सहकारीकर्मी लगनशील र मेहेनेती हुनुपर्छ । नेपालमा सहकारी क्षेत्रको संख्यात्मक विकास उत्साहजनक भए तापनि गुणात्मक विकास हुनको लागि प्रयास भईरहेको छ । हाल मुलुकभर २९८८६ सहकारी संघसंस्थाहरु क्रियाशील रहेका छन् । १ राष्ट्रिय सहकारी महासंघ, १ राष्ट्रिय सहकारी बैंक, २० वटा विषयगत केन्द्रिय सहकारी संघहरु क्रियाशील रहेका छन् । त्यस्तै गरी संघीय संरचना अनुसार थुप्रै प्रदेश एंवम् स्थानीय तहहरुमा संघहरुको गठनको तयारी भएको छन् । यसैगरी कास्कीको हकमा एउटा जिल्ला सहकारी संघ र ५ वटा विषयगत संघहरु छन् भने २०७५ सालमा Cooperative Manager Club कास्कीको गठन भएको छ । अन्तमा सम्पूर्ण सहकारी मनहरुमा सादुवाद व्यक्त गर्दै पुन शुभकामना दिन चाहान्छु । हामी सहकारीकर्मी र अभियान्ताले कुनै पनि अफ्ट्यारो वातावरण रअसजिलो परिस्थितिलाई सजिलो र सहजीकरण गर्ने हो ।
सहकारी स्वच्छ सामुदायिक सेवा गर्ने संस्था हो । यसमा आबद्ध सदस्यहरुले एउटा कुवामा रहेको सगंलो र चिसो पानी सबैले पिएर प्यास मेटाएको अनुभूति गर्न सकुन भन्दै शुभकामना लेखनलाई यही बिट मार्दछु । जय सहकारी !

प्रतिकृया दिनुहोस्