Pokharapatra National Daily

व्यवहारिक पाठ्यक्रमको आवश्यकता

नवराज रेग्मी
-क्याम्पस प्रमुख
भद्रकाली बहुमुखी क्याम्पस
२०६६ सालमा स्थापना भएको पोखराको भद्रकाली बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अन्तर्गत बिए तथा बिबिएसको अध्ययन अध्यापन हुन्छ । करीब ३७५ विद्यार्थी अध्ययनरत क्याम्पसमा २२ शिक्षक कर्मचारी रहेका छन् । स्थापनाकोे छोटो समयमा नै क्याम्पसले यस क्षेत्रको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसै सन्र्दभमा भद्रकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज रेग्मीसँग पोखरापत्र दैनिकाका दीपेन्द्र पहारीले गर्नुभएको कुराकानीः
 क्याम्पस स्थापनाको उद्देश्य बताइ दिनोस न ?
यस क्षेत्रमा न्युन आय भएकाहरुको लागि सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पसको आवश्यकता महशुस गरी सामुदायिक क्याम्पसको रुपमा भद्रकाली बहुमुखी क्याम्पसको स्थापना भएको हो ।
 हाल क्याम्पसको भूमिका कस्तो छ ?
हाम्रो क्याम्पसबाट अध्ययन पुरा गरेका विद्यार्थीहरु देश विदेशका विभिन्न क्षेत्रहरुमा अब्बल साबित भईरहेकाले पनि क्याम्पसको समग्र भूमिका उत्साहजनक रहेको हामी पाउछौ ।
 शिक्षा क्षेत्रलाई वर्तमान समाजसँग जोडेर हेर्दा कस्तो पाउनुभएको छ ?
हामीले शिक्षामार्फत समुन्नत समाज निर्माण गर्न कोशिस गरिरहेका छांै । सोही हिसाबले समाजमा स्थिरता कायम हुनुपर्ने हो तर पछिल्लो समयमा समाजमा अव्यवस्था व्याप्त छ । अनि अर्को कुरा, राष्ट्रले खोजे जस्तो जनशक्ति निमार्ण गरी समाजलाई अघि बढाउन पनि फरक खालको शिक्षा नीति अवलम्बन गर्नुपर्ने हुन्छ । यो मामिलामा हामी धेरै पछि छौं ।
 हालको पाठ्यक्रमलाई परिमार्जनको खाँचो छ र ?
अहिलेको युग भनेको एक्सप्लोजन अफ नलेज र एक्सप्लोजन अफ पपुलेसन को हो । थोरै समय अगाडि र पछाडि पनि हामीले धेरै किसिमका चुनौतिहरु सामना गरिरहेका छौं । यस्तो परिवर्तनको युगमा हामी वर्षौ पुराना पाठ्यक्रम प्रयोग गरिरहेका छौ । यसमा समय अनुसार आमुल परिमार्जनको खाँचो छ ।
 कस्तो शैक्षिक नीतिको परिकल्पना गर्नुहुन्छ ?
अहिले शिक्षित युवाहरु शैक्षिक प्रमाणपत्र बाकसमा थन्काएर विदेशतिर जानुपर्ने बाध्यता छ । यसलाई रोक्न शिक्षा र समाजबीच रुपान्तरणको खाँचो छ । अबको एक मात्र विकल्प भनेको नै व्यवहारिक शिक्षा हो ।
 पोखरा जस्तो पर्यटनको राजधानी शहरमा कस्तो शिक्षाको खाँचो छ ?
पक्कै पनि पोखरा एक पर्यटकीय शहरका रुपमा आफ्नो पहिचान बनाइरहेको शहर हो । तर हाम्रो निश्चित कोर्षहरुमा पोखरा सम्बन्धी सामाग्री समाबेश हुन नसक्नु विडम्बना पनि हो । पर्यटकीय शहरमा चाहिने जनशक्ति निर्माण गर्न पाठ्यक्रम पनि सोही अनुसार हुनुपर्ने हुन्छ ।
 अहिले विद्यार्थीको विषय छनौट प्रतिको मानसिकता कस्तो पाउनुभएको छ ?
+२ पास गरेपछि साथीहरुको लहलहैमा लागेर विषय चुन्नुभन्दा थोरै जिम्मेवार भएर विषय छनौट गर्नु उपयुक्त हुन्छ । यसो गर्दा सही विषयको छनौटले भविष्यमा पछुतो पनि हुँदैन र ड्रप आउट रेट पनि घट्दै जान्छ ।
 राम्रो नतिजा ल्याउन विद्यार्थीमैत्री वातावरणको कत्तिको आवश्यकता हुन्छ ?
प्रत्येक शिक्षालयमा विद्यार्थीमैत्री वातावरणको आवश्यकता हुन्छ । चाहे प्रशासनिक कार्य होस् या सिकाई प्रक्रिया, सबैमा विद्यार्थीमैत्री वातावरणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हाम्रो क्याम्पसमा शतप्रतिशत विद्यार्थीमैत्री वातावरण रहेको छ ।
 यहाँको क्याम्पसका अरु विशेषताहरु के के छन् ?
अनुभवी प्राध्यापक, कुशल प्रशासन, भौतिक पूर्वाधरले सम्पन्न र कुनै अवरोध बिनाको शान्त वातावरण नै हाम्रा विशेषता हुन् । साथै बेलाबेलामा भिजिटिङ प्रोफेसर मार्फत अतिरिक्त ज्ञानसँगै सीपमैत्री वातावरणतर्फ पनि जोड दिएका छौं ।
 शिक्षा क्षेत्रका चुनौतिहरु बारे बताई दिनोस् न ?
सामुदायिक क्याम्पस भएकाले आर्थिक चुनौती त भई नै हाल्यो । त्यसबाहेक शैक्षिक प्रतिस्पर्धा अर्को चुनौतीको रुपमा खडा छ । यद्यपी, शिक्षकको मेहनत, विद्यार्थीको लगनशीलता, अभिभावकको विश्वास र समुदायको अपनत्वसँगै रचनात्मक सहयोगले नै ती चुनौतीहरु पार गर्दै शैक्षिक सफलताहरु प्राप्त गरिरहेका छौं ।

प्रतिकृया दिनुहोस्