संस्कृति र प्रकृतिले भरिपूर्ण पोखरा, पर्यटकको रोजाईको प्रमुख गन्तब्य पनि हो । फुड टुरिजमले समग्र पर्यटन व्यवसायमा नै अहम् भुमिका खेल्ने गर्दछ । पोखरामै रहेर विगत लामो समयदेखि पोख्रेली पर्यटन क्षेत्रमा अर्गानिक खानाको सफल प्रयोग गर्दै एक अर्गानिक अभियन्ताको छाप छोड्न सफल, लेकसाइडस्थित एएम पिएम अर्गानिक क्याफेका सञ्चालक डेविड सिंहसँग पोखरापत्र दैनिकका दीपेन्द्र पहारीले गरेको कुराकानीः
डेविड सिंह
-युवा पर्यटन व्यवसायी
तपाईंको अर्गानिक यात्रा कहाँ र कहिले बाट सुरु भयो ?
सन ८० को दशकबाट नै पारिवारिक व्यवसायकोे रुपमा हामीले पोखरामा उत्पादित स्थानिय अर्गानिक फलफुलहरुको बजारीकरणको शुरुवात गरेका थियौं । सन् १९९८ बाट भने म स्वयं अर्गानिक क्याफे व्यवसाय मार्फत अर्गानिक यात्रामा लागे । रेडीमेड कफि चल्तीमा हुदाँ पोखरामै अर्गानिक कफि पस्कन शुरु गर्यो । त्यसपछि भने अन्य अर्गानिक परिकार पनि मेनुमा थप्दै लग्यौं ।
सामान्य कफि र अर्गानिक कफिमा के फरक थियो ?
एक त स्वाद र स्वास्थको हिसाबले पर्यटक पनि अर्गानिक कफिको खोजीमा थिए र हाम्रो क्याफेमा आउन थाले । अर्को कुरा, स्थानीय रुपमै उत्पादित कफिलाई सपोर्ट पनि हुँदै गयो ।
विशेष कुन देशका पर्यटकले अर्गानिक स्वाद मन पराउछन् ?
हुन त अहिले सबै देशका पर्यटकले अर्गानिक स्वाद मन पराएता पनि विशेष अमेरिकन र यूरोपियन हाई क्लासका पर्यटकको रोजाईमा अर्गानिक स्वाद पर्दछ ।
तपाईंको सफलताको पछाडि त्यस्तो के रहस्य छ ?
हामी भेजीटेरियन फुडलाई प्राथमिकता दिन्छौ । त्यसमा पनि प्राकृतिक र मेडिसिनल विशेषताका अर्गानिक परिकार नै हाम्रो विशेषता हो । जस्तै, हामी सिस्नोलाई स्मूथीको रुपमा पेश गर्छौ जुन स्वाद र स्वास्थ्यको हिसाबले अत्यन्त लाभदायक हुन्छ ।
तपाईंको विदेश भ्रमणको अनुभवमा तात्विक रुपमा कस्ता खाना प्रचलनमा छ ?
विदेशमा हाल दुई किसिमका खाना प्रचलनमा छन् । फास्ट फुड र अर्गानिक फुड । फास्ट फुड कम आम्दानी भएकाले खान्छन् । फास्ट फुड स्वादिष्ट भएता पनि स्वास्थ्यको हिसाबले अर्गानिक फुड नै रोजाइमा पर्छ । अर्गानिक फुड भने मिडल र हाई क्लासका विदेशीले खान्छन् जुन स्वाद र स्वास्थ्यको दृष्टिकोणले उच्च तहको हुन्छ ।
खानाको अलावा अरु कुन अर्गानिक वस्तु प्रयोगमा छ ?
आजकल अर्गानिक कटन, सिल्क र सिस्नोको लुगाहरु अर्गानिक वस्तुको रुपमा प्रयोगमा छन् ।
पोखराको लेकसाइडमा अर्गानिक उत्पादन कसरी प्रस्तुत हुनुपर्छ जस्तो लाग्छ ?
अबका दिनमा परिकार मात्र अर्गानिक नभएर हामीले रेस्टुरामा प्रयोग हुने सामान पनि रीसाईकल्ड टाईपको हुनुपर्छ । जस्तो, कप, प्लेट आदि नै किन नहोस् । हामीले व्यवसायीक हिसाबले पोखरामा नै पहिलो चोटी मिनरल वाटर रीफिलिङ गर्ने सुविधाको शुरुवात गरेका थियौं, जसले प्लास्टिकका बोटल बिस्थापन गर्न निक्कै सहयोग पुगेको थियो । पर्यटकले एकैदिन सयौं लिटर मिनरल वाटर समेत रीफल गरेको हामीलाई सम्झना छ । साथै, लेकसाइडलाई नै प्लास्टिक फ्री जोनको रुपमा विकास गर्दै जानुपर्छ । यसरी अर्गानिक खानासँगै पर्यावरण जोगाउन समेत मद्दत पुग्न जान्छ ।
खाना र जीवन बिच कस्तो सम्बन्ध छ ?
हामीले जे खान्छौ, त्यस्तै सोच्छौ र व्यवहार गर्छौ । त्यसैले स्वस्थ खानाले स्वस्थ विचार जन्माउँछ र जीवन नै सुन्दर बनाउँछ ।
तपाईंको पर्यटकीय यात्राको कुनै रोचक घटना बताइदिनोस न ?
सन् २००३ को कुरा हो । म ईन्डियाको मनाली घुम्न जाँदा एक ब्रिटिश पर्यटक जेफ स्टोनले, हाइकीङ टु स्तुप एण्ड क्लीन अप क्याम्पैनको अवधारणा प्रस्ताव गर्नुभयो । त्यसपछि हामी सबैले सोही हाइकीङ आयोजना गरेर बाटोमा भेटिएका सबै फोहोर उठाई सफा बनायौ ।
पर्यटन क्षेत्रमा कुन कुरा सुधारको अपेक्षा राख्नुहुन्छ ?
हामीसँग प्रकृति, संस्कृति र पुर्वाधार पर्याप्त भएतापनि त्यसलाई प्रस्तुत गर्ने प्रोफेसेनल शैलीको खाँचो छ । त्यसमा सुधार गर्न सके पर्यटन क्षेत्रमा अझै धेरै सुधार गर्न सकिन्छ । अनी अर्को कुरा, व्यवसाय गर्दा क्षणिक लाभलाई मात्र नहेरी दिगो पर्यटन विकास तर्फ हामी सबैले जोड दिनुपर्छ, जसले आगामी पुस्तालाई समेत हामीले धेरै कुरा सुधारिएको हिसाबले सुम्पन सकौं ।