
-दिपेन्द्र पहारी पर्यटनविद्
नेपाल हिमालहरूको देश हो । यहाँका हिमश्रृंखलाले विश्व पर्वतारोहण इतिहासमा पनि अतुलनीय योगदान दिएका छन् । तिनै गौरवशाली हिमालहरूमध्ये धौलागिरी हिमाल विशेष महत्व बोकेको हिमशिखर हो । विश्वको सातौँ अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर) ले नेपालको साहसिक पर्यटन, पर्वतारोहण इतिहास र प्राकृतिक वैभवलाई विश्वमाझ चिनाएको छ । हरेक वर्ष मे १३ तारिखलाई “धौलागिरी दिवस” का रूपमा मनाइन्छ, किनकि सन् १९६० मा यही दिन पहिलो पटक मानवले धौलागिरी हिमालको सफल आरोहण गरेका थिए ।
“धौलागिरी” शब्द संस्कृत भाषाका दुई शब्द “धवला” र “गिरि” बाट बनेको हो । “धवला” को अर्थ सेतो, चम्किलो वा उज्यालो र “गिरि” को अर्थ पर्वत हो । त्यसैले धौलागिरीलाई “सेतो हिमाल” भनेर चिनिन्छ । यसको सेताम्मे हिमरेखा र विशाल आकृतिले जो कोहीलाई आकर्षित गर्छ । यो गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको धौलागिरी र रघुगंगा गाउँपालिकाको सीमाक्षेत्रमा पर्छ । पोखराको उत्तरपश्चिम दिशामा रहेको यो हिमाल पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।
धौलागिरी हिमाल पहिलो पटक सन् १८०८ मा विश्वसामु परिचित भएको थियो । बेलायती अन्वेषक क्याप्टेन विलियम वेबले यसको उचाइ मापन गरेपछि विश्व चकित बनेको थियो । त्यसअघि दक्षिण अमेरिकाको एन्डिज पर्वतमालालाई विश्वकै अग्लो पर्वतश्रृंखला मानिन्थ्यो । धौलागिरी पत्ता लागेपछि केही दशकसम्म यसलाई नै विश्वको सबैभन्दा अग्लो हिमाल ठानिएको थियो । पछि कञ्चनजंघा र सगरमाथाको वास्तविक उचाइ पत्ता लागेपछि यसको स्थान सातौँ अग्लो हिमालका रूपमा स्थापित भयो ।
धौलागिरी हिमालको अर्को विशेषता यसको भौगोलिक बनावट हो । धौलागिरी र अन्नपूर्ण हिमालको बीचमा संसारकै गहिरो खोँच मानिने कालीगण्डकी खोँच अवस्थित छ । धौलागिरीबाट करिब ३४ किलोमिटर पूर्वमा अन्नपूर्ण हिमाल रहेको छ । कालीगण्डकी नदी यही गहिरो खोँच हुँदै बग्ने भएकाले यस क्षेत्रको प्राकृतिक दृश्य अत्यन्त रोमाञ्चक देखिन्छ । धौलागिरी हिमश्रृंखला करिब १२० किलोमिटरसम्म फैलिएको छ, जुन कालीगण्डकी नदीदेखि पश्चिमको भेरी नदीसम्म विस्तार भएको मानिन्छ ।
धौलागिरी हिमाललाई विश्वका सबैभन्दा चुनौतीपूर्ण आठ हजार मिटरमाथिका हिमालहरूमध्ये एक मानिन्छ । यसको उत्तरपूर्वी मार्गलाई “नर्मल रुट” भनिए पनि धौलागिरीका सबै आरोहण मार्गहरू प्राविधिक रूपमा कठिन छन् । यही कारणले अनुभवी र दक्ष पर्वतारोहीहरू मात्र यसको आरोहण गर्न इच्छुक हुन्छन् । धौलागिरीमा पाँच प्रमुख धारहरू तथा दक्षिण र पश्चिमी फेस रहेका छन् । यस हिमालको मौसम अत्यन्त अस्थिर हुने भएकाले हिमपहिरो, तीव्र हावाहुरी र चिसोले आरोहीलाई ठूलो चुनौती दिन्छ । धौलागिरी हिमाललाई सन् १९५० को दशकमा “असम्भव हिमाल” का रूपमा पनि हेरिन्थ्यो । फ्रान्सेली पर्वतारोहण टोलीले सन् १९५० मा नेपाल आएर अन्नपूर्ण हिमाल आरोहण गर्दा धौलागिरीको कठिन स्वरूप देखेर यसलाई छाडेको थियो । त्यसपछि अर्जेन्टिनेली, स्वीस, जर्मन तथा अष्ट्रियन टोलीहरूले पटक–पटक प्रयास गरे तापनि सफलता हात लागेन । सन् १९५४ मा अर्जेन्टिनेली टोलीले प्रयास ग¥यो, सन् १९५५ मा स्वीस–जर्मन टोली आयो, सन् १९५६ मा फेरि अर्जेन्टिनेली टोली फर्कियो, सन् १९५८ मा पुनः स्वीस टोलीले प्रयास ग¥यो, तर सबै प्रयास असफल बने ।
अन्ततः सन् १९६० मा स्वीस–अष्ट्रियन टोली नेपाल आयो, जसको नेतृत्व म्याक्स आइजेलिनले गरेका थिए । टोलीमा कर्ट डिएम्बर्गर, पिटर डिनर, अर्नेस्ट फोरर, अल्बिन स्केलबर्ट, निमा दोर्जे शेर्पा र नावा दोर्जे शेर्पा लगायतका पर्वतारोही सहभागी थिए । यो अभियान पर्वतारोहण इतिहासमा विशेष मानिन्छ, किनकि पहिलो पटक “यति” नामक पिलाटस पोर्टर विमान प्रयोग गरी हिमाली क्षेत्रमा सामग्री ढुवानी गरिएको थियो । फ्रेन्च पास क्षेत्रमा सामग्री पु¥याउने क्रममा विमान दुर्घटनामा परेको थियो, तर पाइलट अर्नेस्ट स्याक्सर र प्राविधिक सकुशल बचेका थिए । उनीहरू पैदलै पोखरा फर्किएका थिए । अनेक कठिनाइका बाबजुद अभियान जारी रह्यो ।
सन् १९६० मे १३ तारिखको दिन मौसम सफा थियो, हावा लगभग चलेको थिएन । यही अवसरलाई उपयोग गर्दै पर्वतारोही धौलागिरीको चुचुरोमा पुगे । यससँगै धौलागिरी पहिलो पटक मानव पाइला पुगेको हिमाल बन्यो । नावा दोर्जे धौलागिरी आरोहण गर्ने पहिलो नेपाली बने । यो आरोहणसँग जोडिएको अर्को रोचक तथ्य के छ भने १३ जना पर्वतारोही अभियानमा थिए, उनीहरूले १३ तारिखमा सफलता पाए र धौलागिरी आरोहण गरिएको १३औँ आठहजारे हिमाल बन्यो ।
धौलागिरी बेसक्याम्प करिब ४,७५० मिटर उचाइमा छ । त्यसपछि क्रमशः ५,८५० मिटर, ६,४०० मिटर र ७,४०० मिटरमा तीनवटा क्याम्प स्थापना गरेर चुचुरोतर्फ यात्रा गरिन्छ । धौलागिरी सर्किट ट्रेक पनि नेपालकै सबैभन्दा साहसिक पदयात्रामध्ये एक मानिन्छ । फ्रेन्च पास र धम्पुस पास हुँदै गरिने यो पदयात्राले हिमनदी, विशाल उपत्यका, भीर, जङ्गल र हिमाली गाउँहरूको अनुपम अनुभव दिन्छ । गुरुङ र मगर समुदायको संस्कृति, जीवनशैली र आतिथ्यले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ ।
धौलागिरी क्षेत्र जैविक विविधता, प्राकृतिक शान्ति र कम भीडभाडका कारण पनि विशेष मानिन्छ । अन्नपूर्ण वा सगरमाथा क्षेत्रजस्तो अत्यधिक पर्यटक चाप यहाँ नदेखिने भएकाले यो क्षेत्र अझै प्राकृतिक र शान्त वातावरणमा रहेको छ । यही कारणले साहसिक पर्यटक र पर्वतप्रेमीहरू धौलागिरीलाई विशेष आकर्षणका रूपमा लिन्छन् । धौलागिरी दिवस, नेपाली पर्वतारोहण इतिहास, साहस, धैर्यता र राष्ट्रिय गौरवको प्रतीक हो । धौलागिरीले विश्वलाई सिकाएको सन्देश स्पष्ट छ—प्रकृतिको सम्मान गर्दै साहसिक यात्रालाई जिम्मेवार र दिगो बनाउनुपर्छ । सेतो हिमाल धौलागिरी आज पनि हिमाली सपनाको उज्यालो प्रतीक बनेर विश्वभरका पर्वतारोहीलाई चुनौती र प्रेरणा दिइरहेको छ ।





