Pokharapatra National Daily

आरोग्य पर्यटन वर्ष २०२७ः सम्भावनाको नयाँ आयाम

-दिपेन्द्र पहारी पर्यटन विज्ञ
१६ अप्रिल, २०२६, पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसको पावन अवसरले मानव जीवनमा स्वास्थ्य, सन्तुलन र आत्मिक शान्तिको महत्त्वलाई पुनः स्मरण गराउने अवसर प्रदान गरेको छ । पछिल्लो दशकमा विश्व पर्यटनको स्वरूपमा आएको परिवर्तनले घुमफिरलाई मनोरञ्जनको साधनबाट माथि उठाएर समग्र जीवनशैली सुधारको माध्यम बनाएको छ । यही परिवर्तित सन्दर्भमा आरोग्य पर्यटन (वेलनेस टुरिजम) एक उदीयमान र दीर्घकालीन सम्भावना बोकेको क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ । आजका पर्यटकहरू गन्तव्यमा दृश्यावलोकन संगै, आफ्ना शारीरिक, मानसिक र आत्मिक अवस्थालाई सन्तुलित गर्न यात्रा गर्न थालेका छन् ।
आरोग्य पर्यटनको वैचारिक आधार प्राचीन पूर्वीय दर्शनमा निहित रहेको छ । योग, ध्यान, प्राणायाम, प्राकृतिक उपचार पद्धति र आयुर्वेदजस्ता अभ्यासहरूले मानव जीवनलाई सन्तुलित, स्वस्थ र सार्थक बनाउने दीर्घ परम्परा बोकेका छन् । आयुर्वेद जस्ता ज्ञानप्रणालीहरूले शरीर, मन र आत्माको समन्वयलाई जीवनको आधार मानेका छन् । आधुनिक चिकित्सा प्रणालीले जहाँ रोगको उपचारमा केन्द्रित दृष्टिकोण अपनाउँछ, त्यहाँ आरोग्य पर्यटनले रोगको पूर्वरोकथाम, मानसिक सन्तुलन र जीवनशैली सुधारमा जोड दिन्छ। यही कारणले गर्दा विश्वव्यापी रूपमा यसप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ ।
नेपाल आरोग्य पर्यटनका लागि प्राकृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त अनुकूल गन्तव्य हो । हिमाली शीतलता, पहाडको हरियाली, स्वच्छ हावा, जैविक विविधता र सांस्कृतिक परम्पराले यहाँको वातावरणलाई स्वाभाविक रूपमा आरोग्यदायी बनाएको छ । विशेषगरी पोखरा यस सन्दर्भमा सम्भावना बोकेको शहर हो । यहाँको फेवातालमा देखिने छाया,हरियाली डाँडा, र शान्त वातावरणले मानिसको मनलाई गहिरो गरी स्पर्श गर्दछ । त्यस्तै विश्व शान्ति स्तूप जस्ता आध्यात्मिक स्थलहरूले ध्यान, साधना र आत्मचिन्तनका लागि उपयुक्त वातावरण प्रदान गर्दछन्। यस प्रकार पोखरा, पर्यटकीय गन्तव्यका अलावा “उपचारात्मक अनुभवको केन्द्र” बन्ने क्षमतासहित उभिएको छ ।
नेपालमा आरोग्य पर्यटनको आवश्यकता विश्लेषण गर्दा केही संरचनागत र समसामयिक पक्षहरू स्पष्ट देखिन्छन् । पहिलो, विश्वव्यापी रूपमा मानसिक तनाव, चिन्ता, र जीवनशैलीजन्य रोगहरूको वृद्धि भइरहेको छ । दोस्रो, कोरोना महामारीपछिको परिवेशले मानिसहरूलाई स्वास्थ्यप्रति अझ सचेत बनाएको छ । तेस्रो, परम्परागत उपचार पद्धतिहरूप्रतिको विश्वास पुनः स्थापित हुँदै गएको छ । यी सबै कारणहरूले नेपालजस्तो प्राकृतिक र आध्यात्मिक स्रोतसम्पन्न मुलुकका लागि आरोग्य पर्यटनको विकास अपरिहार्य बनेको छ । यसले पर्यटनको गुणस्तरीय रूपान्तरण र दिगोपनाको आधार पनि निर्माण गर्दछ ।
आरोग्य पर्यटनको प्रभावकारी सञ्चालनका लागि नीतिगत स्पष्टता, पूर्वाधार विकास र संस्थागत संयन्त्र अपरिहार्य हुन्छन् । यसका लागि योग तथा ध्यान केन्द्रहरू, आयुर्वेदिक उपचार सेवा, प्राकृतिक उपचार केन्द्र, शान्त र स्वच्छ आवासीय संरचना तथा वातावरणीय व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ । साथै, दक्ष जनशक्ति उत्पादनः जस्तै योग प्रशिक्षक, थेरापिस्ट, आरोग्य मार्गदर्शकको विकास अनिवार्य छ। स्थानीय समुदायलाई समेटेर होमस्टे, जडीबुटी उपचार, सांस्कृतिक अनुभवलाई आरोग्य पर्यटनसँग जोड्दा यसले समावेशी आर्थिक विकासमा योगदान पु¥याउँछ । डिजिटल प्रवद्र्धनमार्फत नेपाललाई “आध्यात्मिक तथा आरोग्य गन्तव्य” का रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्न सकिन्छ । यसै क्रममा नेपाल सरकारले सन् २०२७ लाई “राष्ट्रिय आरोग्य पर्यटन वर्ष” घोषणा गर्नु दूरदर्शी र रणनीतिक निर्णय हो । यसले आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकताको केन्द्रमा राख्दै दीर्घकालीन योजना निर्माण र कार्यान्वयनका लागि मार्ग प्रशस्त गरेको छ । यसको सफलताका लागि स्पष्ट कार्ययोजना, अन्तर–संस्थागत समन्वय, निजी क्षेत्रसँग सहकार्य र प्रभावकारी कार्यान्वयन अपरिहार्य हुन्छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा पर्यटन मन्त्रालय गण्डकीले ट्रेकिङ एजेण्ट्स एसोसिएसन अफ नेपाल गण्डकी को सहकार्यमा पोखरामा आयोजना गरिएको “राउण्ड फेवा भ्यु फेवा” पदयात्रासहितको योग र ध्यान कार्यक्रम, यस सन्दर्भमा अत्यन्त अर्थपूर्ण पहल हो । फेवाताल वरिपरि पदयात्रा गर्दै विश्व शान्ति स्तूप सम्म पुगेर योग र ध्यान अभ्यास गर्नु, आरोग्य पर्यटनको वास्तविक अनुभव हो । पर्यटन सरोकारवालाहरूको सक्रिय सहभागिताले यस क्षेत्रमा आरोग्य पर्यटनबारे साझा दृष्टिकोण निर्माण गर्न सहयोग पु¥याउँछ । यस्ता अनुभवमूलक कार्यक्रमहरूले पोखरालाई “आरोग्य–अनुभवको गन्तव्य” का रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यहाँ प्रकृति, शान्ति, आध्यात्मिकता र सक्रिय जीवनशैलीको अद्वितीय संयोजन पाइन्छ, जुन विश्व बजारमा प्रतिस्पर्धात्मक लाभका रूपमा प्रस्तुत गर्न सकिन्छ । यसले पर्यटनलाई आत्म–अनुभूति र पुनर्जीवनको प्रक्रियामा रूपान्तरण गर्दछ । आरोग्य पर्यटनको बहुआयामिक लाभहरू स्पष्ट रूपमा देखिन्छन् । पर्यटकहरूले मानसिक शान्ति, शारीरिक स्फूर्ति र आत्मिक सन्तुलन प्राप्त गर्छन् । स्थानीय समुदायले रोजगारी, सीप विकास र आयआर्जनका अवसर पाउँछन् । व्यवसायीहरूले गुणस्तरीय पर्यटक आकर्षित गरी सेवा विस्तार गर्न सक्छन् । सरकारका लागि यो विदेशी मुद्रा आर्जन, दिगो विकास र अन्तर्राष्ट्रिय छवि सुदृढीकरणको माध्यम बन्छ । यसरी आरोग्य पर्यटन समग्र अर्थतन्त्र र समाजका लागि बहुउपयोगी क्षेत्र हो ।
भविष्यतर्फ दृष्टि लगाउँदा आरोग्य पर्यटन विश्व पर्यटनको मुख्य प्रवाह बन्ने स्पष्ट संकेतहरू छन् । मानिसहरू अब बाह्य विलासिताभन्दा आन्तरिक सन्तुलन र जीवनको गुणस्तरतर्फ उन्मुख भइरहेका छन् । यस्तो परिवेशमा नेपालले आफ्नो मौलिकता–प्रकृति, संस्कृति र आध्यात्मिकतालाई समन्वय गरी विश्व बजारमा विशिष्ट स्थान बनाउन सक्छ । सन् २०२७ लाई सफल “राष्ट्रिय आरोग्य पर्यटन वर्ष” का रूपमा स्थापित गर्न केही रणनीतिक उपायहरू आवश्यक छन् । राष्ट्रिय स्तरमा एकीकृत गुरुयोजना निर्माण, अन्तर्राष्ट्रिय प्रचार–प्रसार सुदृढीकरण, सेवा गुणस्तरको मापदण्ड निर्धारण, निजी क्षेत्रसँग सहकार्य विस्तार, अनुसन्धानमा लगानी र प्रमुख गन्तव्यहरू–जस्तै पोखरा, लुम्बिनी लगायत हिमाली क्षेत्रलाई आरोग्य केन्द्रका रूपमा विकास गर्नुपर्छ ।
अन्ततः आरोग्य पर्यटन नेपालका लागि अवसर संगै, दिगो र गुणस्तरीय पर्यटन विकासको आधारशिला हो । पोखरा जस्तो अनुपम गन्तव्यले यस क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसका सन्दर्भमा गरिएका पहलहरूले सकारात्मक सन्देश प्रवाह गरेका छन्। अब आवश्यक छ–दृढ प्रतिबद्धता, समन्वित प्रयास र दीर्घदृष्टियुक्त योजना । यसरी अघि बढ्न सकेमा नेपाल विश्वकै अग्रणी आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित हुनेमा कुनै शंका छैन ।

प्रतिकृया दिनुहोस्