Pokharapatra National Daily

राजकाजी अर्थात् समाज जोड्ने एउटा ‘सेतु’

निम्न/मध्यमवर्गीय गुरुङ परिवारमा जन्मेका राजकाजीलाई कतिबेला सामाजिक विभेद र असमानताले चिमोट्यो होला ? कतिबेला वर्गीय चेत र परिवर्तनको चाह मुखरित भयो होला ?
यी प्रश्नको उत्तर खोज्न २०४६ सालअघिको समाजमा पुग्नुपर्छ ।
देशमा पञ्चायती शासन थियो । पञ्चको रजगजको बेला भुइँमान्छेको कुरा कसले सुन्थ्यो र ? पञ्चहरु सबैलाई समान अर्थात् रैती देख्थे । ‘एउटै भाषाः एउटै भेषको नारा अलाप्थे । पिता केशबहादुर गुरुङ चाहिँ पवर्तको हुवास–४ बानीडाँडा हाल पैयू गाउपालिका–५ पाखोमा पसिना पोख्थे । छोरालाई ‘असल मान्छे’ बनाउने सपना देख्थे । असमानताप्रति असन्तुष्टि थियो तर विद्रोह गरिहाल्ने आँट थिएन । स्कूले जीवनमै राजकाजीले चाहिँ फरक देखिए । किन उस्तै मान्छे किन निच उच हुन्छ ? पञ्चहरुको शक्तिको स्रोत के हो ? के जात व्यवस्थालाई फेर्न सकिँदैन ? के आमा–दिदीहरुलाई चुलोचौकोबाट बाहिर निकाल्न मिल्दैन ? यी प्रश्नमा घोत्लने क्रममा नै उनी कम्युुनिष्ट विचारधारातर्फ तानिए । २०४६ सालको राजनीतिक परिवर्तनको बेला सानै थिए । राजनीतिक खुलापनपछि दलहरु संगठन बिस्तारको क्रममा विद्यालयसम्मै पुगे । राजकाजीले जनताको मुक्ति, वर्गीय विभेदको अन्त्य र समाजवादी राज्य व्यवस्थाको वकालत गर्ने तत्कालीन मशाल, एकता केन्द्र हुदैं नेकपा (माओवादी) रोजे । २०५१ सालसम्म आइपुग्दा राजकाजी पक्का ‘रातोमान्छे’ अर्थात् क्रान्तिकारी भइसकेका थिए । २०५१ साल फागुन १ देखि माओवादीले सशस्त्र संघर्षको बाटो रोज्यो ।
जनयुद्धको बाटोमा अघि बढौं भन्ने आह्वानसहित सैनिक पोशाक लगाएको, कम्मरमा खुकरी भिरेको, एक हातको मुठ्ठी कसेर अर्को हातले बन्दुक उठाएको युवक र युवतीको तस्वीर अंकित जनयुद्धको पहिलो पोस्टर उनको प्रिय बन्यो । गाउँका भित्ताहरुमा उनले ती पोष्टरमात्र टाँसेनन्, विद्रोहः जनताको अधिकार हो, जनयुद्धः जिन्दावाद,प्रतिक्रियावादी राज्यसत्ताः मुर्दावाद,नयाँ जनवादी क्रान्तिः जिन्दावाद,माक्र्सवाद– लेनिनवाद–माओवादः जिन्दावाद जस्ता नारासहित माओवादीले जनयुद्धमा समाहित हुन आह्वान गरेको अपिलको अर्थ बुझाउँदै हिँड्न थाले । अर्थात् सुरुमै उनी सशस्त्र संघर्षको आवश्यकताको व्याख्याता बने । राजकाजीबाट ‘कमरेड करन’मा बदलिए ।
जनयुद्धको पक्षमा बढ्दो माहौल रोक्न राज्य दमनमा उत्रियो । घरमा बस्ने अवस्था रहेन । उनी भूमिगत बने । करन चाहन्थे–बन्दुक बोकेर युद्धको मैदानमा उत्रिन पाइयोस् । तर, वैचारिक मोर्चामा अब्बल देखिएका उनलाई पार्टीले त्यही फाँटको जिम्मेवारी दियो । त्यसपछि सुरु भए–संघर्षका अविराम पाइलाहरु ! दुस्मनका आँखा छल्दै शोषित र उत्पीडितको बस्तीमा पुग्नुपर्ने ती दिनहरुमा थकाइ हुँदैनथ्यो । च्यूरा र पानीको भरमा चिसोमा रात काटेको,बालबाल दुस्मनको घेराबाट बाहिरिएको,जनमुक्ति सेनाको सफलतामा खुसीले नाचेको,सँगैको साथी गुमाउँदा धुरूधुरू रोएका अनगिन्ति स्मरणहरु उनीसँग अझै ताजै छन् । जनयुद्धको वैचारिक फाँटमा क्रियाशिल रहँदाकै बखत उनले पवर्तदेखि गोर्खा,लमजुङ,कास्कीको भूगोल चिने, दुःख र दर्दका कारणहरु बुझे अनि सत्ता किन उत्पीडितको मुक्ति चाहँदैन भन्ने तथ्य बुझे ।
२०५९ देखि ०६१ सम्मको कालखण्ड माओवादीका निम्ति बिर्सनलायक बन्यो । ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पार्टीको रणनीति कार्यान्वयन गर्ने क्रममा गण्डकीमा ठूलो क्षति भयो । हातमा बन्दुक हुँदैनथ्यो तर उनी रक्तबिज जन्माउने योद्धा थिए । माओवादीको ‘म’ पनि सुन्न नचाहने तत्कालीन शाही सत्ताले उनीजस्ता विचारकलाई तारो बनाउन थाल्यो । त्यही रणनीति अनुसार तत्कालीन शाही सेनाले कास्की इन्चार्ज राजविक्रम भुर्तेल र उनकी पत्नी सीता भुर्तेललाई पामेको एउटा सेल्टरमा झुक्याएर गोली ठोक्यो । त्यसपछि वैचारिक मोर्चा सम्हालेका विजय ढकाललाई पनि २०६१ साल पुस २९ गते कास्कीकै निर्मलपोखरीस्थित साम्नी भन्ने ठाउँमा हत्या ग¥यो । ती पीडाका दिनमा पनि करन जनताकै बीचमा रहे । लगत्तै माओवादी र तत्कालीन ७ दलबीच सहमति जुट्यो । २०६२/०६३ को जनआन्दोलनको बेला कास्की सेक्रेटरी रहेका करनले गाउँगाउँबाट जनतालाई पोखरा ओराल्ने काम गरे ।
जनआन्दोलन सफल भयो । माओवादी शीर्ष नेताहरु सार्वजनिक भएकै थिएनन् । तत्कालीन ७ दल र माओवादीबीच सहकार्य त थियो तर सद्भाव र विश्वास थिएन । करनको काँधमा सुप्रिमो प्रचण्ड र तत्कालीन वार्ता समितिका सदस्य एवं गृहमन्त्री कृष्ण सिटौलाको भेटघाट प्रबन्ध गर्नुपर्ने भयो । वार्ताको लागि प्रचण्डलाई सिक्लेसमा राखियो । जनमुक्ति सेना सिक्लेस पुग्यो । पहिलोपटक जनमुक्ति सेनाको सलामी खाएका सिटौलासँगै हेलिकोप्टरमा प्रचण्ड र बाबुराम भट्टराई काठमाडौं पुगे । नेपाली राजनीतिको दोस्रो अध्याय सुरु भयो ।
दोस्रो इनिङ्स सुरु जनआन्दोलन सफल भएपछि माओवादी सार्वजनिक ठाउँमा माओवादी नेताको खोजी हुन थाल्यो । देशलाई शान्तिको बाटोमा डोहोयाउन दलहरुसँगको सहकार्य जरुरी थियो । २०६३ साल असार २१ गते बुधबार पहिलोपटक अमर तमु र राजकाजी नेताको रुपमा नेपाल पर्यटन बोर्डको हलमा आयोजित सार्वजनिक मञ्चमा झुल्किए । संयोग कस्तो भने, त्यो मञ्चमा तत्कालीन पश्चिम पृतनाका पृतनापति प्रकाशबहादुर बस्नेत पनि उपस्थित एि । पातला र ख्याउटे तर आँखामा विद्रोहको ज्वाला बोकेका यी दुई नेता नै त्यसपछि माओवादीका ‘मानक’ बने ।
माओवादीका सैन्य संरचना कायमै थिए । युद्धको मोर्चामा सामेर रहेकाहरुको संगठन ‘वाइसीएल’ जनतासँग घुलमिल भएकै थिएन । कांग्रेस र एमालेसँग त्यसको मित्रवत् सम्बन्ध थिएन । आक्रमणमै उत्रने स्वभावका कारण यो संगठन बेलाबेला आलोचनामा परिरहन्थ्यो । त्यसका नेताहरुले बिगार गर्दा गुहार माग्न राजनीतिक दलका नेता र आम नागरिकहरु करनकहाँ आउँथे । राजनीतिक मोर्चा सम्हालेका करनले त्यो कालखण्डलाई युद्धको मोर्चाभन्दा पनि जटिल परिस्थितिको संज्ञा दिन्छन् ।
‘युद्धबाट आएकाले हामीसँग विद्रोह कायमै थियो । हाम्रा साथीहरुले बन्दुक छाडेका थिए तर चेत त्यागेको थिएनन् । फौजी मोर्चाका साथीहरु अर्काको कुरा सुन्नुभन्दा पनि भौतिक कारवाहीमा उत्रनु अस्वभाविक पनि थिएन,’रक्षात्मक देखिएका उनी आत्मसमीक्षा गर्दै भन्छन्,‘त्यो उपक्रममा केही गलत काम पनि भएकै हुन् । दुःख नपाउनुपर्ने साथीहरु पनि घानमा परेकै हुन् । त्यसमा हाम्रोमात्र भन्दा पनि हामीलाई हेर्ने साथीहरुको दृष्टिकोण पनि गलत थियो । हामीलाई तेस्रो ग्रहबाट आएको प्राणीको रुपमा हेर्दा वाइसीएलका साथीहरु बिच्कनु स्वभाविकै थियो ।’
करनले वाइसीएलको उग्रतालाई लगाममात्र लगाएनन्,सत्ताको आडमा गलत गर्ने प्रवृत्तिबमाथि कठोरताको नीति अंगाले । आफूकहाँ गुनासो बोकेर आउनेलाई उनले निराश बनाएनन् । गलत गर्ने वाइसीएलमाथि कारवाहीको डण्डा पनि चलाए ।
‘गुनासो लिएर आउने साथीहरुलाई मैले सकेसम्म निराश बनाउने काम गरिन । त्यो बेला म हिजो जनयुद्ध सुरु गर्दाका दिन सम्झन्थेँ । थोरै मान्छेले सुरु गरेको विद्रोहमा कसरी लाखौं नेपालीले समर्थन जनाएको तथ्यमा टेकेर उहाँहरुको मन जित्ने प्रयत्न गर्थेँ,’उनले भने,‘कसैको मन दुखाएर,समाजसँग टाढिएर संगठन बन्दैन भन्ने मान्यताकै कारण म आफैं युद्धको वैचारिक कमिसारबाट सामाजिक अभियन्ता पो बनेछु ।’
हो, २०६४ सालको संविधान सभाको निर्वाचनसम्म आइपुग्दा करन पार्टीको वैचारिक नेतृत्वमा थिए तर विकास–निर्माणका एजेण्डाहरुको सहजीकरणको जिम्मेवारीमा बढी डुब्न पुगे । नागरिक सरोकार,आर्थिक र सामाजिक विषयहरुका निम्ति विभिन्न राजनीतिक दल र तत्कालीन सरकारलाई ध्यानाकर्षण गराउने,साझा अभिमत निर्माण गर्ने कामको नेतृत्व उनको काँधमा आइलाग्यो । त्यो उपक्रममा उनले एमालेका नेता स्वर्गीय रवीन्द्र अधिकारी,नेपाली कांगे्रसका नेताहरु यज्ञबहादुर थापाहरुसँग काँधमा काँध मिलाए ।
यही योगदानको कदर गर्दै कास्की २ का जनताले उनलाई २०६४ सालमा संविधान सभा सदस्य चुने । संविधान सभा सदस्यको रुपमा नयाँ संविधान निर्माणसँगै उनले सदनमा पोखरा र समग्र गण्डकीको आवाज मुखरित गरे ।
‘एउटा पार्टीको जिम्मेवार नेताको रुपमा करनजीले पोखराको समग्र आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता सह्रानीय छ । अर्काको कुरा सुन्ने र जिज्ञासु स्वभाव पनि करनजीको विशेषता हो,’नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सामाजिक अभियन्ता आनन्दराज मुल्मीले एउटा कार्यक्रमको दौरान भनेका थिए,‘राजनीतिज्ञहरुमा अर्काको कुरा सुन्ने धैर्यता हुँदैन,इतर पार्टीका व्यक्तिलाई सहयोग गर्नेहरु पनि विरलै भेटिन्छन् । आर्थिक र सामाजिक मुद्दा संवोधन गर्न साझा अवधारण निर्माण गर्नुपर्छ भन्नेमा सहमत हुनु उहाँको अर्को विशेषता हो । आलोचनाबाट नेपालको राजनीतिक नेतृत्व मुक्त छैन तर करन कम आलोचित र आलोचना सुन्न सक्ने व्यक्ति हुन् ।’
राजनीतिक नेतृत्वसँग जनताको असन्तुष्टि हुन्छ र रहन्छ । करन अपवाद रहने कुरै भएन । सिंगो माओवादी नै आलोचित हुँदा त्यसको थोरै भाग करनसम्म आउँछ नै । करन त्यसलाई स्वीकार्छन् ।
‘हामीबाट गल्ती नभएको हैन, भए । २०६४ मा प्राप्त जनादेश अनुसार हाम्रो पार्टी अगाडि बढ्न नसकेको पक्का हो । हामी गल्ती गर्दै, सच्चिँदै अगाडि बढेको पनि सत्य नै हो,’उनी भन्छन्,‘समावेशी, समानुपातिक, गणतन्त्र र संघीयता,आत्मसम्मान,नारी मुक्तिजस्ता विषयहरुबाट हामी टाढा गएका छैनौँ । रुपान्तरण र परिवर्तन हाम्रा एजेण्डा हुन् । यी मुद्दा बोक्ने क्रममा हामी पनि रुपान्तरण भएका छौँ । अहिलेको नेकपा र तारा चुनाव चिन्ह त्यसकै प्रमाण हो ।’
पछिल्लो समय धेरै पढ्ने र अर्कालाई आफ्नो विचारमा तान्ने खुविको विकास गरेका यी कमरेड एकाएक चुनावतिर मोडिए ।
साँच्चै ! उनलाई चुनाव पो लागेको छ त ! फागुन २१ गते हुने चुनावमा उनी कास्की क्षेत्र नम्बर १ बाट प्रत्यासी बनेका छन् । प्रचण्ड संयोजक रहेको नेकपाका यी उम्मेदवारले पछिल्लो जेनजी आन्दोलनको मर्म र भावना पनि बुझेका छन् । देशमै रोजगारी, श्रमको सम्मान र भ्रष्टाचारमुक्त समाज अहिलेको पुस्ताको चाहना हो भन्ने गुनेका छन् । कफी सपमा घण्टौं किताबमा घोत्लिने करनले बेरोजगारीबाट निराश बनेको युवाले चुरोटको मुस्लो आकासतिर फ्याँक्दै नेतालाई धिक्कारेको सुनेका छन् । गाउँबस्ती चहार्दा बुढाबुढीले सरापेको अनुभव पनि बटुलेका छन् । यी मुद्दाहरुसँगै जनजीविकाको सवाल,सीमान्तकृत,उत्पीडित र दलितहरुको चाहनालाई पनि मनमा लिएका छन् । सामाजिक न्याय,समावेशी विकास र जनमुखी शासन उनको पनि चाहना हो ।
‘जेनजीको भावना, आम नेपालीको चाहनालाई सदनमा पु¥याउने चाहनाले म चुनावी मैदानमा आएको हुँ,’उनी भावुक सुुनिन्छन्,‘हिजो के भयो भन्ने हैन, अब के गर्ने भन्ने स्पष्ट दृष्टिकोण राख्ने हो । मान्छेको आयू कति पो हुन्छ र ? हिजो मर्न नडराएर युद्धमा होमिएको हुँ । दुस्मनको घेरा तोडियो,मरिएन । उपहार प्राप्त जीवनमा केही त गरौँ भन्ने छ । बाँकी त जनताकै हातमा छ । तर, म यत्ति भन्छु–मैले नेपाली समाजको बनोट र वर्गीय विभेदले निम्त्याएको जटिलता भुलेको छैन । यो जटिलता अन्त्य हुँदा जेनजी पुस्ताको माग स्वतः संवोधन हुन्छ ।’

 

 

प्रतिकृया दिनुहोस्