Pokharapatra National Daily

‘विद्याकी खानी सरस्वती माता पूजा महिमोत्सव’

शिव प्रसाद गौतम –पोखरापत्र
सरस्वती माता विद्याकी अधिष्ठात्री हुन् । अधिष्ठात्री भनेको देवताहरु मध्ये सवै भन्दा बढी मानिएकी देवी हुन् । कुनै वस्तु, स्थान वा कार्यकी स्वामिती वा संरक्षक, इष्टदेवी, कुलदेवी सरस्वती भगवती हुन् । सरस्वती माता विद्याकी खानी हुन् ।
शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान, पढाइद्वारा आर्जन गरिने बुद्धि र कुनै विषयबारे वर्णन वा विवेचना गरिएको शास्त्र विज्ञान शिक्षा हो । सिकेर सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक वा व्यवहारिक विषयको बोध शिक्षा हो । विद्या वा वाणीकी अधिष्ठात्रीका रुपमा मानिएकी देवी शारदा, विद्या, भाषा र वाणी सरस्वती हुन् । श्रीपञ्चमी वा वसन्त पञ्चमीका दिन उत्साह तथा आराधनासाथ गरिने विद्याकी देवीको पूजा सरस्वती पुजा हो ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पुजा गरिन्छ । देवी देवता प्रसन्न पार्न, अनुकुल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्ति पूर्वक गरिने कार्य, देव देवी आदिलाई जल, फूल, अक्षता, द्रव्य नैवेध्य आदि चढाएर गरिने धार्मिक कार्य पूजा हो । आदर सत्कार मान सम्मान, कसैलाई प्रसन्न वा अनुकुल पार्नका निम्ति गरिने आराधना, प्रार्थना पूजा हो ।
पाउ सरस्वती हामी सवैले विद्याको वरदान
शरणागत छौं प्रभुका पदमा बालक हामी अजान
आज २०७७ साल माघ ४ गते माघ शुक्ल पञ्चमीका दिन (श्रीपञ्चमी) सरस्वती पूजा, वसन्त पञ्चमी, वसन्त श्रवण, रति काम पुजा र हल सारो गर्ने पर्वहरु परेको सूर्य पञ्चाङ्गपात्रोले जनाएको छ । आजको दिन विद्या आर्जन गर्नेहरुका लागि विशेष महत्वको दिन हो । श्रीपञ्चमीमा पैसाको कारोवार गरिने चलन थियो । आजकै दिन साहुले असामीलाई ऋण दिने र असामीले पनि आजकै दिन सय कडा दश रुपैयाका दरले (वार्षिक) सावा व्याज बुझाएर ऋण फरफारक गर्ने प्रचलन थियो । आजकल मलखादमा च्याउ उम्रेझै उम्रेका वैक सहकारी र ढिकुटी प्रथाले गर्दा यो प्रचलन लोप भएको छ । आझै काठमाडांैको हनुमान ढोकामा विशेष समारोहका साथ जयदेव कवि लिखित “गीतागोविन्द”काव्यको कुनै भाग सुनाउने सुन्ने काम हुन्थ्यो । शिवका नेत्रबाट उत्पन्न अग्नीले नष्ट भएका काम देवको अर्धाङ्गनी पुराणमा वार्णित मदनकी पत्नीको पनि पूजा गरिन्थ्यो । मदन भनेका रतीका पति काम देव हुन् । आजको दिन कृषकहरुका लागि पनि विशेष महत्वको दिन हो । प्रायःवर्षे वाली लगाउने वेलामा पानी वर्षे पछि सर्व प्रथम हलो चलाउदा भूमि पूजा गरेर मनाउने उत्सव, वसन्त पञ्चमी जस्ता कृषि वर्षमा पहिला पटक हलो जोत्ने कामलाई हलसारो गर्ने भनिन्छ । कृषकहरु आजबाट वर्षा प्रारम्भ भएको मान्दछन् । आजैका दिन हली परेली गरेर आपसमा मिलेर भारा पर्म गरेर खेती गर्ने प्रचलन थियो । अहिले त कृषि प्रधान देशमा वेसाएर खाने घिन लाग्दो प्रचलन छ ।
आजै वाल वच्चाका अभिभावकले सरस्वतीको पुजा आज गरी आफ्ना शिशुलाई अक्षरारम्भ गराउँछन् । आज सरस्वती मन्दिरहरुमा मेला लाग्छ । आफ्ना वाल वच्चाहरुलाई अक्षर लेख्न लगाउनेहरुको घुइचो हुन्छ । स्कूल र क्याम्पसहरुमा पनि सरस्वतीका मुर्ति चित्रहरु राखेर पूजा आराधना गरी सरस्वतीको प्रसाद टीका लगाई प्रसाद वितरण गरेर सरस्वतीको भजन किर्तन नाचगान गरी खुसियालीका साथ सरस्वती पर्व मनाइन्छ । ॐ श्री सरस्वत्यै नमः

प्रतिकृया दिनुहोस्