Pokharapatra National Daily

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।
आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताउनुभयो । भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उहाँले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम गरेको उल्लेख गर्नुभयो ।
‘नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान रहेको छ । उहाँका सिर्जनाबाट नेपाली भाषाको उन्नयन, प्रवद्र्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ ।’ भट्टले भन्नुभयो – ‘भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसंख्यामा पु¥याउनु रहेको छ । नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको छ ।’
आजको दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको र यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउने र भाषाप्रति सम्मान तथा नेपाली भाषाप्रति गौरव बढाउन मद्धत पुग्ने विश्वास प्रदेश प्रमुख भट्टको छ । आदिकवि भानुभक्तसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने भन्दै भट्टले हामी आफ्नो मातृभाषाको शक्ति एवं महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले पृथ्वी नारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय पढाउनुभएकी पोखरा २६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई आयोजकका तर्फबाट नगदसहित सम्मान गर्नुभएको थियो । यस्तै, भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि सहयोग स्वरुप प्रदेश प्रमुख भट्टले व्यक्तिगत रूपमा नगद २० हजारको चेक स्वकीय अधिकृत ललित ओझामार्फत् प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान पनि गर्नुभयो । आदिकवि भानुभक्त आचार्यको जन्म गण्डकी प्रदेशको तनहुँ जिल्ला, चुँदी, रम्घा गाउँमा २ सय ११ वर्ष अघि २९ असार १८७१ मा भएको थियो । भानु जयन्ती सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा मनाइने गरिन्छ । नेपाल मात्र होइन, नेपाली भाषी जहाँ जहाँ पुगेका छन्, नेपालीभाषी समुदायमा उत्साहका साथ मनाइँदैछ । भानुभक्तले आफ्नो ५४ वर्षको जीवन अवधिमा ‘रामायण’ लगायत ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘बधूशिक्षा’, ‘रामगीता’ र ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन् ।

प्रतिकृया दिनुहोस्