Pokharapatra National Daily

पोखरामा कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन सुरु

कृषि जैविक विविधतामा धनि मुलुक नेपालले यसबाट फाइदा लिन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ ।
मंगलबारदेखि पोखरामा सुरु भएको कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागीहरुले विश्वकै दुर्लभ कृषि जैविक विविधतामा नेपाल त्यसको अथाह सम्भावना भएको नेपालले यसबाट खासै फाइदा लिन नसकेको बताउनु भएको हो । अझै पनि नेपाल यस क्षेत्रबाट व्यवसायिक हुन नसकेको बताउँदै सहभागीहरुले यसको उचित संरक्षण, संर्बद्धन र उत्पादन गरी त्यसबाट उचित ढंगले फाइदा लिन सक्नुपर्नेमा बताउनुभयो ।
फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा पोखरामा सुरु भएको उक्त तालिमको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले उद्घाटन गर्दै नेपालमा ६ हजार ६ सय १८ प्रजातिका बालीहरु उत्पादन हुने गरेको बताउनु भयो । उहाँले रैथाने बाली संरक्षण चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमबाट रैथाने वाली संरक्षणमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । मन्त्री शाहले नेपाल जैविक विविधताको धनी देश भएको दाबी गर्दै यसबाट नेपालले फाइदा लिन नसकेको जनाउनु भयो । कृषि जैविक विविधता संरक्षणमा संघ, प्रदेश र स्थानिय तह गरेर तीनै तहका सरकारले यसमा संरक्षण, सम्बद्र्धन सहित उत्पादन र आम जनतालाई कसरी फाइदा पुग्छ त्यस तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो । लोपोन्मुख रैथाने बालीको संरक्षण गर्दै प्रविधिको प्रयोग गरेर उत्पादन बृद्धि गर्ने, वातावरण अनुकुलन गर्ने, कार्य सहज बनाउँदै दीगो उपयोगिता गर्न जरुरी रहेको दाबी गर्दै मन्त्री शाहले गुणात्मक विकास गर्न जरुरी रहेको उल्लेख गर्नु भयो । उक्त कार्यक्रमको अध्यक्षता भने वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडी गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले जैविक विविधता संरक्षणको जिम्मेवारी बिषेश गरी किसानहरुले नै गर्नु पर्ने बताउनु भयो । फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसनका नेपाल र भुटान प्रतिनिधि केन सिमिजुले जैविक विविधता जोगाउनु चुनौतिपूर्ण रहेको बताउनु भयो । जैविक विविधतामा नेपाल धनी भएसंगै यहाँ जलवायु परिवर्तनको जोखिममा पनि बढ्दो रुपमा रहेको उहाँको भनाई थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारीले प्रविधिको प्रयोग मार्फत कृषि उत्पादन बढाउँदा जैविक विविधताको संरक्षणमा ध्यान दिन आग्रह गर्नु भयो । कृषि र वनलाई एकीकृत योजना बनाएर नेपालले काम गर्ने प्रयास गरिरहेको बताउदै उहाँले कृषि जैविक विविधताको क्षेत्रमा नेपालले संरक्षण, सम्वद्र्धन र उपयोगिताको नीति अवलम्वन गरिरहेको उल्लेख गर्नु भयो । आईआईईडीका वन डाईरेक्टर डन्कन म्याक्विनले नेपाल जैविक विविधिकरणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नु भयो । जैविक विविधिकृत कृषि प्रणाली अप्नाएर उत्पादन र मुनाफा पनि बढाउने र कृषिलाई थप सहज बनाउन प्रत्यत्नशील रहेको उहाँको भनाई थियो । फरेष्ट एण्ड फार्म फ्यासिलिटीका म्यानेजर लुईस मिगुईल अपारिसियोले सामाजिक, आर्थिक परिवर्तनसँगै वातावरण सन्तुलन कायम राखेर जलवायु परिवर्तन न्यूनिकरणका लागि उत्थानशील हुनुपर्ने बताउनु भयो । पोखराको पाँचतारे होटल पोखरा ग्राण्डमा मंगलबार देखि चार दिन चल्ने उक्त सम्मेलनमा नेपाल सहित ३२ देशका १ सय ७३ जना सहभागि हुनु भएको छ ।
नेपालबाट १ सय जना कृषि विशेषज्ञ, कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरुको सहभागिता रहेको छ भने अन्य ७३ जना अन्य ३१ देशका प्रतिनिधिहरु रहनु भएको छ । वन तथा कृषि उत्पादक संघहरुको समेत सम्मेलनमा सहभागिता रहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनकी वन तथा कृषि सहज कार्यक्रमकी नेपाल सहजकर्ता रक्षा शाहले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्