Pokharapatra National Daily

प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकताः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको आज आयोजित १६औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “परम्परागत रूपमा प्रदान गरिएको शिक्षाको ढाँचालाई परिवर्तन गरी प्राविधिक र व्यावसायिक नागरिक उत्पादन गर्ने शिक्षाको खाँचो छ । त्यसतर्फ सरकारले नीति बनाउनुपर्छ ।” राष्ट्रपति पौडेलले जनज्योति क्याम्पसले भिमादको मात्रै नभई आसपासका छिमेकी जिल्लाका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो ।
अस्थिर राजनीतिले देश विकासमा बाधा पुगेको बताउँदै राष्ट्रपति पौडेलले राजनीतिलाई स्थिर बनाएर देश विकासमा जुट्न दलहरूलाई आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले मुलुकको विकासका लागि सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेको चर्चा गर्नुहुँदै भन्नुभयो, “मैले सबै दलहरूलाई भनेको छु, विकासका लागि एकजुट हुनुस्, अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्यो ।”
राष्ट्रपति पौडेलले वर्तमान संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बचाउन म निष्ठापूर्वक लागिरहने तपाईहरूसँग कवुल गर्दछु ।”
उहाँले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र हरेक नेपालीलाई एकपटक नआई नहुने खालको भानु साहित्य उद्यान बनाउनुछ ।” राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डका रूपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले त्यसको लागि राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी छ भन्नुभयो ।
संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी हो जसले भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्छ भन्नुभयो ।
सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशकअघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपतिले तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको गन्तव्यको रूपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले जिल्लाको विकास निर्माणका लागि आफूले निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो । पौडेलले भन्नुभयो, “एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना, बुद्धसिंह मार्गलगायतमा राम्रो काम हुँदैछ । त्यसलाई समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।” कार्यक्रममा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले विकासका सवालमा राजनीति गर्न नहुने बताउँदै राजनीतिक दलबीच सहमति र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेले क्याम्पसले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । क्याम्पस प्रमुख केशवराज काफ्लेका अनुसार क्याम्पसमा तीन सय विद्यार्थी अध्ययनरत छन् । यहाँ भिमादका अलवा आसपासका पालिका र जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । विद्यालय भवन रु एक करोड १८ लाख लागतमा निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस्