Pokharapatra National Daily

कांग्रेसको चियापान

भारत निर्वासनमा रहेका नेपाली कांग्रेसका सभापति बिपी कोइरालाले २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्न थालेको चियापान कार्यक्रमलाई नेपाली कांग्रेसले परम्परा बनाएको छ । यस पटक पनि कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित चियापानमा सबै पार्टी र क्षेत्रको सहभागिता रह्यो । अलग पार्टीका नेताहरू चियापानमा समाले भएर शुभकामना आदानप्रदान गरे । पुराना र ठूला पार्टीका नेतृत्व गण एकै ठाउँमा उभिएर दलहरूका विरुद्ध गरिएको प्रचारको उचित जवाफ दिने प्रतिबद्धता जनाए ।
नेपालमा २०४६ को जनआन्दोलन अनि २०६२÷६३ को संयुक्त जनआन्दोलनपछि राजनीतिक दलहरूबाट सञ्चालित सत्ता अहिले प्रश्नको घेरामा छ । निराश जनताले पछिल्लो संसदीय निर्वाचनमा परिवर्तनकारी दललाई ‘पुराना’ भनाउनुपर्ने गरी नयाँ दल उदाएका छन। नयाँ दलले २०८४ को चुनावमा परिवर्तनका संवाहक पुराना दललाई सखाप पारिदिने चेतावनी दिन तम्सिएका छन। पाठापाठीको बुर्कुसीजस्तै त होला तर अब पनि जिम्मेवार राजनीतिक दलहरूले मेरै सिङ ठूला भन्ने दम्भ राख्ने हो भने नरहे बाँस नबजे बाँसुरी भन्ने आहान चरितार्थ हुन बेर लाग्दैन । प्राथमिकता राष्ट्र र नागरिकप्रतिको गम्भीर जिम्मेवारी हो ।
हो, त्यस्तो नहोस् भन्ने मनसुवा थियो बिपी कोइरालामा । राजनीतिक परिवेश र सन्दर्भ फरक छन् तर सार एउटै छ– नागरिक सर्वोच्चता र स्वतन्त्रतासहितको लोकतन्त्र अनि मुलुकको स्वाधीनता रक्षा । हिजो निर्दलीय निरङ्कुशता र त्यसको आडमा मुलुकको स्वाधीनता हडपिने खतरा, आज लोकतन्त्रको लाभ अनि जिम्मेवार राजनीतिक शक्तिहरूको लाचारीको फाइदा उठाई जिलौटा सल्काइदिएर डढेलो लगाइदिने खतरा । नेपालको जैविक प्रणाली नै ध्वस्त पारिदिने डढेलोको गुञ्जायसै समाप्त पार्न पनि सबै नेपालीबिच मेलमिलाप आवश्यक छ । अर्थतन्त्र उँभो लगाउन पनि ढिला गर्नुहुन्न । राजनीतिक दलहरू प्रतिबन्धित रहेको निरङ्कुश परिवेशमा सांस्कृतिक परम्परा सदुपयोग गरी चियापान कार्यक्रम आयोजना गर्नुको निहित उदेश्य थियो मुलुकको स्वाधीनता ।
बिपी कोइरालाले चाहेका भए भारतमै शासकीय मेजमानी खाएर बसी नेपालको राजतन्त्रलाई प्रजातान्त्रिक लेपन लगाउन सक्थे। तर उनले जोखिम मोले । फाँसीको खतरा भए पनि २०३३ सालमा राष्ट्रिय मेलमिलापका नीति लिएर स्वदेश फर्के। मेरो घाँटी पनि राजासँगै जोडिएको छ भन्दै हामी नेपाली विभाजित छैनौँ, हुन्नौँ भन्ने स्वाभिमान प्रदर्शन गरे । त्यो राष्ट्रिय स्वाभिमान अजेय, अभेद्य हुनु पर्छ । अहिले मुलुकले समृद्धिका लागि अख्तियार गरेको राजनीतिक प्रणाली, यसका संस्थापक राजनीतिक दलहरू अनि राज्य संस्था, निकायप्रति संशय विस्तारका प्रयत्न भइरहेका छन् । सोझो राजनीतिक बुझाइमा यो संशय जायज देखिएला तर यस्तो प्रयत्नका पछाडि मुलुकलाई पुनः निरङ्कुशता वा कुनै प्रकारको अतिवादी पञ्जामा राखेर स्वार्थसिद्ध गर्न खोज्ने तत्व रहेको अनेकौँ सङ्केत छन् । प्रमुख दलका शीर्ष नेताहरूले आफूहरूप्रति संशयलाई एकताबद्ध भएरै जवाफ दिने बताउनुले मेलमिलापकै राजनीतिको महत्ता बुझेको देखिन्छ । तर सत्ता स्वार्थका लागि मात्र होइन, सुशासनमार्फत राष्ट्रको आर्थिक विकास र नागरिक हितका लागि मेलमिलापको राजनीति हुनु पर्छ ।

प्रतिकृया दिनुहोस्

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...