Pokharapatra National Daily

असुरक्षित हवाई सेवा

हवाई सेवाको साढे ६ दशक लामो अबधिमा आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले हवाई सुरक्षामाथि ठूलो प्रश्न उठेको छ । पोखरा विमान दुर्घटना नेपाली आकाशमा भएको १०४ औँ हवाई दुर्घटना हो । व्यावसायिक आन्तरिक उडानमा यो ५० औँ दुर्घटना हो । नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो दुर्घटना पनि हो । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार आन्तरिक उडानमा यति धेरै मानवीय क्षति भएको यो पहिलो दुर्घटना हो । पोखरामा आइतबार भएको हवाई दुर्घटनामा परी हालसम्म ६८ जनाको ज्यान गइसकेको छ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।
नेपाली आकाशमा भएका अन्तर्राष्ट्रिय उडानसहितको इतिहास हेर्ने हो भने पनि यो तेस्रो ठूलो दुर्घटना हो । व्यावसायिक आन्तरिक उडानतर्फ सन् १९६९ को जुलाई १२ मा हेटौंडामा भएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा ३५ जनाको ज्यान गएको थियो । आन्तरिक उडानतर्फ नेपाल एयरलाइन्सकै सन् २००० को डडेल्धुरा जोगबुढा दुर्घटना (२५ जनाको मृत्यु), तारा एयरको सन् २०१६ को म्याग्दी दुर्घटना (२३ जनाको मृत्यु), ताराकै सन् २०१० को ओखलढुंगा दुर्घटना (२२ जनाको मृत्यु) र गत वर्ष भएको मुस्ताङ दुर्घटना (२२ जनाको मृत्यु) सबैभन्दा ठूला हुन् । एकातिर व्यावसायिक आन्तरिक उडानमा चाप बढ्दो छ भने अर्कोतिर त्यसको चुस्त व्यवस्थापन हुन नसक्दा हवाई यातायात असुरक्षित भएको छ । पोखरा दुर्घटनामा व्यावसायिक आन्तरिक उडानतर्फ नेपालले अहिलेसम्मकै ठूलो मानवीय क्षति व्यहोरेको छ । व्यावसायिक आन्तरिक उडानमा भएका ५० दुर्घटनामध्ये २१ दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । २९ दुर्घटनामध्ये पोखराबाहेक मात्रै ३ सय ६४ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ भने नेपाली आकाशमा सन् १९९२ मा एकै वर्ष दुई ठूला दुर्घटना भएका थिए । भट्टेडाँडामा भएको पाकिस्तान इन्टरनेसनल एयरको दुर्घटनामा १६७ र ग्घ्याङफेदीमा भएको थाई एयरवेजको दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए । सन् २०१८ मा त्रिभुवन विमानस्थलमै भएको यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो ।
प्राधिकरणका अनुसार नेपालमा अहिलेसम्म एक इन्जिनयुक्त आठवटा दुर्घटना भएका छन् भने ३६ वटा हेलिकप्टर दुर्घटना भएका छन् । १० अन्तर्राष्ट्रिय वायु सेवाका उडान दुर्घटनामा परेका छन् । सन् १९९५ मा नेपालमा पहिलो पटक बाराको सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । यी दुर्घटनामा आइतबारको पोखारा दुर्घटनाबाहेक नै ८ सय ४९ को मृत्यु भइसकेको छ । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भएको अभिलेख छ । आइतबार भएको दुर्घटना भएको विमानमा चालक दलका ४ र ६८ गरी ७२ जना सवार थिए । यती एयरलाइन्सका अनुसार विमानमा सवारमध्ये ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए भने उनीहरूमध्ये ५३ नेपाली नागरिक थिए भने ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्ट्रेलियन, १ आइरिस र १ फ्रान्सेली गरी १५ जना विदेशी नागरिक थिए । यो दुर्घटनाको अन्तर्राष्ट्रिय संचार माध्यमले दिएको समाचारले नेपालको हवाई सुरक्षामा गम्भीरतापूर्वक लिन बाध्य बनाएको छ । सरकारले आकस्मिक मन्त्रिपरिषदको बैठक बसेर सोमबार शोक विदा दिने निर्णय गर्नुका साथै पूर्वसचिव नागेन्द्र घिमिरे नेतृत्वको छानविन आयोग पनि बनाएको छ । पाँच सदस्यीय आयोगलाई दुर्घटनाको कारण पत्ता लगाउनुका साथै भोलिका दिन अपनाउनुपर्ने सावधानीबारे सुझाव दिन कार्यादेश दिएको छ । पटक हुने यस्ता घटनाले नेपाली आकाशमाथि सर्वसधारणको मात्रै होइन, अन्तर्राष्ट्रिय समुदायको नेपालको हवाई सेवाको सुरक्षामाथि विश्वास घटाइरहेको छ । नेपालको आन्तरिक हवाई उड्ययन इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षति निम्ताएको आइतबारको दुर्घटनाले भने नेपाली आकाशलाई सुरक्षित गर्न सरकारको स्पष्ट योजना मागेको विज्ञहरु बताउँछन ।
नेपाल हरेक पटक हुने जहाज दुर्घटनापिच्छे जाँच गर्न ‘दुर्घटना जाँचबुझ आयोग’ गठन हुन्छन् । आयोगले दुर्घटना हुनुका कारणसहित यस्ता दुर्घटना हुन नदिन कसले के गर्ने ? के नगर्ने ? भन्नेसम्मका सुझाव संगालेर प्रतिवेदन दिन्छ । तर यस्ता प्रतिवेदनको सुझाव न सरकारले पढ्छ, न कार्यान्वयनका लागि तत्परता देखाउँछ यस्ता छानविन प्रतिवेदन कर्मकाण्डी मात्र हुन् । ‘तत्कालीन आक्रोश मत्थर पार्न आयोग गठन हुन्छ, तर कार्यान्वयन गर्ने समयमा स्थिति शान्त भइसकेको हुन्छ,, ‘कर्मकाण्डी शोक वक्तव्य र छानविनको मारमा नेपाली हवाई सेवाका उपभोक्ता परेका छन् । यो नेतृत्व सचेत र जिम्मेवार नहुँदाको परिणाम हो। यसबाट पाठ सिकेर सुरक्षाको उपाय खोज्ने र गुमेको शाख उठाउने काम गर्नु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

सहकारीमा खबरदारी आवश्यक

नेपालमा २०१३ साल चैत २० गते चितवन जिल्लामा स्थापना भएको ‘बखान सहकारी’ संस्था नै पहिलो मानिन्छ । मुलुकमा स्थापना भएका मौजुदा करिब ३२ हजारको हाराहारीमा...

मेलमिलाप र सदभावको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

आगलागी नियन्त्रणमा जोड देऊ

फाल्गुन चैत्र महिनामा आगलागीका कारण बर्सेनि मानवीय क्षतिका साथै अर्बौं रुपियाँको भौतिक संरचना एवं वनपैदावार नष्ट हुने गरेको छ । यस वर्ष पनि सुक्खा मौसम...

पोखरा पर्यटकीय शहर घोषणा

पोखरालाई नेपालको पर्यटकको राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त आयोजनामा भएको एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको...

अन्तर्राष्ट्रिय महिला दिवस

‘महिलामा लगानीः सभ्य र समुन्न समाजको थालनी’ लाई ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज...

भ्रष्टाचारको बेथिती

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा नेपालले अझै निकै संघर्ष गर्नुपर्ने देखिएको छ । तीनै तहका सरकारमा कार्यकारी भूमिकामा रहने राजनीतिज्ञ, कर्मचारी र आमनागरिकमा सुशासनप्रतिको दायित्वबोध...