‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ १६ दिने अभियान चलिरहेको छ।समाजमा लैंगिक विभेद रहेसम्म महिला हिंसा कम हुँदैन समाजमा रहेको विभेद हटाउन संचार माध्यम र संचारकर्मीको भुमिका महत्वपूर्ण रहन्छ । पत्रकारितामा महिलाको सहभागिता बढ्न थालेपछि महिलाका मुद्दाहरू संचार माध्यममा आउन थालेका छन । महिलाका समस्या महिलाले उठाउनुपर्छ भन्ने मानसिकता छ।संचार माध्यममा महिलाका मुद्दा उठाउन र समाजलाई घच्घच्याउन पत्रकारितामा महिलाको सहभागिता बढाउन थालिएको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा महिला सहभागिता विगत केही समययतादेखि क्रमिक रूपमा वृद्धि हुँदै आए पनि उल्लेखनीय अवस्था छैन । महिला जनसंख्याको दाँजोमा पत्रकारितामा उनीहरूको सहभागिता अझै छैन । महिला पत्रकार अनलाइन हिंसामा परेको एक सर्भेक्षणले देखाएको छ । ८८ प्रतिशत महिला संचारकर्मी अनलाइन हिंसामा परेको सर्भेक्षणले ौल्याएको छ।यस सर्वेक्षणबाट जे जसरी तथ्याङ्क सार्वजनिक भएको छ, यसका आधारमा पत्रकारिता सहज छैन भन्ने देखाउँछ । पत्रकारिता पेसामा महिला सहभागितामा वृद्धि गर्न र महिलाका निम्ति सुरक्षित एवं मर्यादित छ भन्ने सन्देश दिनसक्नुपर्छ ।
सुरक्षित तथा मर्यादित पेसाका रूपमा पत्रकारिता क्षेत्रलाई प्रमाणित गर्न महिला पत्रकारमाथि हुने कुनै पनि किसिमका हिंसा रोकिनुपर्छ । महिला कार्यरत सञ्चारमाध्यम तथा सहकर्मीहरूको सल्लाह एवं सहयोग निकै प्रभावकारी हुन्छ । महिला पत्रकारले पनि कुनै पनि किसिमको हिंसाको प्रतिकार सुरुमै आफैँले पनि गर्नुपर्छ। महिलाले प्रतिकार गर्न के कस्ता कठिनाइ छन् भन्ने विषय बाहिर ल्याई समाधानको उपाय पहिल्याउनु पर्छ । अनलाइन हिंसाका कारण महिला पत्रकारको पनि कार्यशैली, गुणस्तर तथा व्यावसायिकता प्रभावित भइरहेको हुन्छ र त्यसको प्रत्यक्ष असर उनीहरूको पेसाप्रति परिरहेको हुन्छ । घरपरिवारलगायत अन्य तरहका दैनिक व्यवहार सम्हाल्नुपर्ने महिलाका निम्ति यस्तो स्थिति सिर्जना हुनु आफँैमा कठिन अवस्था मान्न सकिन्छ ।
महिला पत्रकारिमाथि भइरहेको यस प्रकारको हिंसा नियन्त्रण तथा निर्मूलै गर्नुपर्ने आजको आवश्यकता हो । यसका निम्ति सरकारले आवश्यक नियम, कानुन संशोधन, निर्माण, तर्जुमा तथा कार्यान्वयनका दिशामा तत्कालै पहल गर्नु उपयुक्त हुन्छ । महिला पत्रकारका निम्ति सहज तथा सुरक्षित कार्यस्थल निर्माणमा महिला कार्यरत सञ्चार माध्यम तथा सहकर्मीहरूको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुने देखिन्छ । महिला पुरुष सबैका निम्ति सुरक्षित तथा सहज वातावरण निर्माणबाटै समग्रमा सञ्चार जगत्को भलाइ हुन्छ । महिला पत्रकारलाई आवश्यक प्रशिक्षणसमेत जरुरी छ । पत्रकारिताको पेसागत प्रशिक्षणका साथै सुरक्षाका उपायहरूप्रति सार्वजनिक बहस जरुरी छ । नीगित, संस्थागत र संरचनागत सुधारबिना कुनै समाजले चाहेको परिवर्तन गर्न सक्दैन । पत्रकारिताका साथै सबै पेसा र व्यवसायका महिलाका निम्ति सुरक्षित कार्यस्थल अनिवार्य सर्त भएकोले पनि सुधार आवश्यक छ ।