Pokharapatra National Daily

तिहार पर्वको महत्वलाई घट्न नदिऔं

नेपाली समाजले मनाउने ठूला चाडपर्व मध्ये तिहार मानिन्छ । तिहार दाजुभाइ दिदीबहिनीको मिलनको अवसरको रुपमा लिइन्छ । हरेक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्ल पक्षको द्वितीय तिथिका बीचका पाँच दिनसम्म मनाइने चाड तिहार हो । वैष्णवहरूले रामराज्याभिषेक, बौद्धहरूले बोध प्राप्ति र नेवारहरूले म्ह पूजाका रूपमा मनाउने गर्दछन । तिहारलाई फूलमाला र बत्तीको पर्व पनि भन्ने गरिन्छ । हाम्रो शास्त्रीय मान्यताअनुसार उज्यालोलाई समृद्धिको प्रतीकको रूपमा लिइन्छ । हाम्रा धार्मिक आस्थासँग जोडिएको दियो बालेर शुभारम्भ गरिने शास्त्रीय परम्परा रहेकोले यस पर्वलाई उज्यालोको पर्व अर्थात् विकास र समृद्धिको पर्व पनि भन्ने गरिन्छ ।
तिहारमा मृत्युका देवता यमराजको समेत पूजा गरिने हुनाले तिहारका पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । विशेषतः तिहारमा सम्पत्तिकी देवी महालक्ष्मीको भव्यताका साथ पूजाअर्चना गरिन्छ । लक्ष्मीलाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्धि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीको रूपमा मान्ने चलन छ । यसका साथै हिन्दु धर्मालम्बीहरूले गाईलाई लक्ष्मीको अवतारको रूपमा मान्ने चलन भएकोले लक्ष्मीको रूपमा गाईको विशेष पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको दिन आ–आफ्ना घर आँगन सफा सुग्घर गरी घरको ढोकादेखि पूजाकोठासम्मको बाटोमा रातोमाटोले लिपेर लक्ष्मीको आह्वान गर्ने चलन रहेको छ । लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाहरूले सिँगार्ने प्रचलन छ। यस दिन धनको सिंहासन मूल ढुकुटीको विशेष रूपमा पूजाअर्चना गरिन्छ ।
तिहारका पाँचै दिन आफैँमा अत्यन्त महत्वपूर्ण छन् । मानिसले प्रकृति, जनावर, पशुपन्छी,को पुजा गर्ने गर्दछन । प्रकृति पुजक पनिउ हो भन्ने तिहारले देखाउँछ । पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौँ दिन भाइ तिहार मनाउने चलन छ । क्रमशः यमराजको दूतको रूपमा काग, द्वारपाल कुकुर, वैतर्णी तार्ने गाई, शिवको वाहन तथा धर्ती सेवक गोरुको पूजा गरेपछि पाँचौँ दिनमा भाइ पूजा हुन्छ । तिहारको अन्तिम दिन वा कात्र्तिक शुक्ल द्वितीयाका दिन शास्त्रीय विधानअनुसार दिदी बहिनीहरूले दाजुभाइको दीर्घायु र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका र मखमली, सयपत्री, दुबो आदिको माला लगाई मिष्ठान्न भोजन गराउने चलन छ । दिदीबहिनीको हातबाट टीका ग्रहण गरिसकेपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई आफूसक्दो दक्षिणा दिने प्रचलन छ । यसरी हेर्दा घर परिवारका दाजुभाइ, दिदीबहिनीका बीचमा सौहार्दपूर्ण व्यवहार, आपसी सद्भावका साथै जमघट हुने अवसर जुटाइदिनु तिहारको सांस्कृतिक सौन्दर्यभित्रको सामाजिक पक्ष हो ।
तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैँमा शास्त्रीय छ। सुसंस्कृत छ। यस सन्दर्भमा तिहारको महत्व र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्छ । यसो भएमा हाम्रा चाडपर्वहरूका शास्त्रीय मूल्यमान्यता तथा सामाजिक महत्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै जान्छन्। नयाँ पुस्ताले समाजका स्थापित मूल्य मान्यतालाई शिरोधार्य गर्दै जान सक्छन्। यो आजको आवश्यकता हो। तिहारको सांस्कृतिक र सामाजिक महत्व हुँदाहँुदै पनि यसभित्रका विकृति र विसङ्गतिहरू मौलाइरहेका छन् । तिहारको नाममा पटका पड्काउने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने, झै–झगडा गर्नेजस्ता सामाजिक विकृतिहरू पनि समाजमा हुने गरेको छ । वास्तवमा समाज परिवर्तनसँगै आधुनिकताको नाममा भित्रिएका अनेक किसिमका विसङ्गतिको निराकरण गरी तिहारको गरिमालाई कम हुन दिनु हुँदैन । तिहारको सांस्कृतिक सौन्दर्यलाई आधुनिकताको नवनिर्मित व्यवहारले किमार्थ फिका बनाउनु हुँदैन। तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैँमा शास्त्रीय छ। सुशोभित छ। तसर्थ यो चाडको महत्वको बारेमा घर, परिवार र समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई सिकाउनु र बुझाउनु पर्छ। यसो भएमा हाम्रा चाडपर्वका शास्त्रीय मूल्य, मान्यता तथा सामाजिक महत्व नयाँ पुस्तामा पुग्न सक्छ र हाम्रा सांस्कृतिक पर्वको संरक्षण हुँदै जान्छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...