राजनीतिमा नयाँ पुस्ता र वैकल्पिक शक्तिको नारा हरेक निर्वाचनमा उठ्ने गरेको छ । चुनावको मुखमा युवा पुस्ता र पुराना दल विरुद्ध नयाँ शक्तिलाई नेतृत्व दिनुपर्ने आवाज चर्काे रुपमा उठ्ने गर्छ । पुराना राजनीतिक दलको पुरानो नेतृत्व विरुद्ध संचार माध्यम, सामाजिक संजालमा तत्कालै विस्थापित हुनेगरी अभियान चलाइन्छ । बाहिर जतिसुकै अभियान चलाएपनि ठुला र पुराना दलमा पुरानै नेतालाई अघि सारेर चुनावमा जाने भएका छन । मंसिर ४ गते हुने निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । काङ्ग्रेसको संस्थागत निर्णय नगरेपनि सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई अघि सार्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बन्ने चाहना सार्वजनिक गरिसकेका छन । अन्य राजनीतिक दलबाट नयाँ नेतृत्वलाई अघि सार्ने अवस्था देखिदैन ।युवाले नेतृत्व गरेका र वैकल्पिक शक्ति बन्नेछ उद्घोष गरेकाहरु पाँच वर्ष नपुग्दै अन्तै ओत लाग्न पुगेका छन । राजनीतिमा युवा सहभागिता बढाउनुपर्ने आवाज उठेको छ ।
पुराना राजनीतिक दलमा युवाले अवसर नपाएको गुनासो गर्दै नयाँ राजनीतिक दल खुलेका छन । नयाँ दल खुलेको युवालाई नेतृत्वमा स्थापित गर्न हो । नयाँ दलप्रति जनताले विश्वास गरिहाल्ने अवस्था अझैसम्म बनेको छैन । नयाँ दल खुल्ने तर टिकाउ नहुने गरेको छ । भएका पुरानै दलबाट युवाले अवसर खोजेका छन । पुरानै दलबाट उमेदवार बनेका युवालाई जनताले पत्याएका छन । जुन दलले युवालाई विश्वास गरेर उमेदवार बनाए उनीहरूले जितेका छन।युवालाई उमेदवार नबनाउने दलले युवाबाट पराजय भोग्न बाध्य भएका छन । पुराना र ठूला दलले युवाको भावना बुझ्न नसक्दा मतदाताको राम्रो झापड खाएका छन।वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन । निर्वाचनले राजनीतिक दललाई गतिलो पाठ सिकाएको छ । निर्वाचित मध्येका प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय ३४ युवा निर्वाचित भएका छन । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्ने गरिन्छ ।
वडाध्यक्षमा दुई हजार तीन सय १२, महिला सदस्यमा तीन हजार दुई सय ३३, दलित महिला सदस्यमा तीन हजार छ सय ६ र सदस्यमा चार हजार ८१९ निर्वाचित भएका छन् । ४१ देखि ६० वर्षका ५२ दशमलव २७ प्रतिशत, ६१ देखि ८० वर्षका ६ दशमलव ५२ प्रतिशत र ८० भन्दा माथिका शून्य दशमलव ०४८ प्रतिशत निर्वाचित भएका छन् । राजनीतिक दलले युवालाई भन्दा प्रौढलाई विश्वास गरेकोे कारण ठूला दलले अपेक्षित परिणाम निकाल्न सकेका छैनन् । आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका १८ हजार तीन सय ४७ र ६१ देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक दुई हजार दुई सय ९१ निर्वाचित छन् । यसैगरी ८० वर्षभन्दा माथिका १७ निर्वाचित भएका छन् । वडाध्यक्ष तीन, चार दलित महिला सदस्य र १० वडा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनमा कूल ३५ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
देश निर्माण गर्नेछ भनेकै युव शक्तिले हो।अहिले शासन सत्ता चलाएका राजनीतिक दलले जे जति सफलता हासिल गरेका छन युवाले नेतृत्व गरेको बेलामा सफलता हासिल गरेका छन । जनताले विश्वास गरेकोे पनि युवालाई दलले परिचालित गरेको बेलामा भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ठुला र पुराना दलले युवालाई बहुसंख्यक स्थानमा उमेदवार बनाउन सकेमा नयाँ खुलेको दलप्रति जनताको पहिलो रोजाइ बन्न सक्दैन । बूढो गोरुले ,,, ओगटेर बसे भने नयाँ दलप्रति चासो बड्छ । निर्वाचन परिणाम दलहरूलाई सप्रने कि विस्थापित हुने गतिलो पाठ सिकाएको छ । पुरानालाई सम्मान गर्दै समानुपातिकमा समेट्ने र सक्षम र दृष्टिकोण भएका युवालाई समेटेर जान सकेमा नयाँ पसल चुनावपछि सुक्दै जानेछ ।