नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि उपाध्यक्ष वामदेव गौतम कुनै समुहमा नलागी एकता अभियानमा लाग्ने घोषणा गरेका छन् । सधैं पार्टीमा आफ्ना विचार स्पष्ट र प्रखर शैलीमा राख्ने नेताका रुपमा चिनिएका गौतम एकता अभियान चलाउन लागेका छन् । पार्टी विभाजनका बेला कित्ता स्पष्ट नगरेकाले उनलाई कतिपयले अस्पष्ट भएको भनेर पनि टिप्पणी गर्छन् । प्रधानमन्त्री केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपामा आउन गरेको आग्रह नेता गौतमले स्वीकार गरेका छैनन् । उपाध्यक्ष भएकोले मात्र होइन नेकपामा भएका नेता मध्ये ज्येष्ठ हुन । संगठन निर्माणमा अब्बल मानिन्छन् । प्रधानमन्त्री हुन बाँकी रहेका नेता हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बामदेवलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर पार्टी विभाजन रोक्न पटकपटक प्रस्ताव पनि गरेका हुन ।
नेकपा बनाउन महत्वपूर्ण भुमिका खेलेका गौतमका आफ्नै शैलीले गर्दा बेला बखत विवादमा पनि आउने गरेका थिए।नेकपा एमाले विभाजनको आरोप खेप्नुपरेको पुरानो कुरा संझेर यश पटक विभाजनका कृयाकलापमा सहभागी भएनन।अपजसको भारी बोक्नु नपरोस् भनेर नै एकताको कुरा गरेर बसेका छन । आफ्नो धारणा सदनमा प्रष्टसंग राखेका छन । राष्ट्रियसभाको सदस्य भएपछि पहिलोपटक बिहीबार सम्बोधन गर्ने क्रममा पनि उनले त्यो विशेषता गुमाएनन् । राष्ट्रियसभाको विशेष समयमा शुरुमै बोलेका गौतमले सम्बोधनका क्रममा केही खुलासा गरे भने केही विषयमा दावी पेश गरे । जीवनमा गणतन्त्र स्थापना र एउटै कम्युनिस्ट पार्टी बनाउने दुइटा उद्देश्य राखेको बताउँदै उनले पहिलो पूरा भएकोमा खुशी व्यक्त गरे भने दोस्रो पूरा भएर पनि असफल भएकोमा दुःख मनाउ समेत गर्न पुगे ।
वामदेवले तत्कालै नेकपाका दुवै विभाजित समूहमा सहभागी नहुने संकेत गरेका छन् । उनी देशभरका कार्यकर्ता समेटेर एकताको लागि अभियान चलाउने तयारीमा छन् । उनका समर्थक ओली र प्रचण्ड–नेपाल समुहमा लागेका छन।दुवैतर्फका आफ्नन समर्थकलाई एकताको लागि दवाव दिन सजिलो हुने ठानेको पनि हुन सक्छ । विशेषगरी पूर्व एमालेको तल्लो तहको ठूलो पंक्ति पार्टी विभाजनपछि दुवै पक्षमा खुल्न चाहिरहेको छैन । पार्टीको आधिकारिकता र सूर्य चिन्ह कता जान्छ भन्ने पनि उनीहरुले पर्खेका छन् । गौतमको नजर ती कार्यकर्तामा परेको छ । निर्वाचन आयोगले गर्ने निर्णय र सर्वोच्च अदालतको फैसला नआइन्जेल चलाउने अभियानले निराश भएर राजनीति छाड्न खोज्नेलाई रोक्ने पनि हुन सक्छ । नेताहरूको पदीय भागबन्डा नमिलेको हुँदा विभाजन भएको हो । सबैको चित्तबुझ्दो शुत्र तयार पारेमा ढिलो चाँडो एकतामा आउन दबाब पर्नेछ ।