नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको बहत्तर वर्ष लाग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र षड्यन्त्र र छलछामका लागि हो कि जनताका लागि हो भन्ने निर्केयौल हुन सकेको छैन । नेपाली जनताले आफ्नो देशको विकास र स्थायित्वका लागि पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था छ । जनताको मतलाई भन्दा शक्तिकेन्द्रको स्वार्थ र पदीय महत्त्वाकांक्षाका लागि षड्यन्त्रमा चल्ने नेता र दल रहेसम्म वास्तविक प्रजातन्त्रको लागि देशभक्त नेपालीले खबरदारी गर्नुपर्नेछ । ७१ वर्षको अघि १०४ बर्षको जहानीया राणा शासन अन्त्यको घोषणा भएको दिन फागुन ७ हो । जहानीया शासन अन्त्य भै जनताले राजनीतिक अधिकार पाएको दिन हो । नेपालमा राणा शासन अन्त्य भइ २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र स्थापना भएको हो । राणा शासन अन्त्य भएपनि सम्पूर्ण शक्ति पराजीत भएको थिएन । आन्दोलनकारी शक्ति, राणा र राजतन्त्र बीच संझौता भएर प्रजातन्त्र आएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतको ठूलो साथ र समर्थन रहेको थियो । भारतको मध्यस्थतामा भएका सहमति देशको स्थायित्व र प्रजातन्त्रको संस्थागत हुन सकेन। राजतन्त्रबाटै प्रजातन्त्रमाथि खतरा उत्पन्न भयो । नेपाली जनताले चाहेको जस्तो प्रजातन्त्र पाउन धेरै संघर्ष र आन्दोलन गर्नुप¥यो । २००७ सालमा राजा त्रिभुवनले जनतासामु गरेको आफ्नो संविधान आफै बनाउने घोषणा अनुसार बल्ल कार्यान्वयनमा आएको छ । हामीले प्राप्त गरेको लोकतन्त्र÷प्रजातन्त्र जप्ने मन्त्र होइन । कसैले आफूलाई लोकतन्त्रवादी प्रजातन्त्रवादी भनेर मात्र पुग्दैन । कसैले आफूलाई लोकतन्त्रवादी प्रजातन्त्रवादी भनेर पुग्ने अवस्था छैन । व्यवहारमा लोकतन्त्र छ कि छैन महत्वपूर्ण हो । नेपालका राजनीतिक दल र तीनका नेताले अपनाउने व्यवहारले लोकतन्त्र कति मजवुत छ भन्ने कुरा स्पष्ट हुन्छ । सत्तामा पुग्नका लागि नेपालका राजनैतिक दल र नेताहरु आन्दोलन गर्न सक्षम छन् ।
बहुमतको स्थिर सरकार टिक्न नसक्ने अवस्थाका लागि नेताहरूको कुण्ठा, ईष्या, घमण्डले काम गरेको छ । जुन दलसँग बहुमत छ त्यही दलभित्र खेल्ने रोग शक्तिकेन्द्रहरुले गर्दै आएका छन् । कांग्रेसले दुइ तिहाई बहुमत ल्यउदा होस या पटक पटक बहुमत ल्याउँदा दलभित्रको आन्तरिक खिचातानीलाई खेल्ने काम गरेकै हो । नेकपाको बहुमतमा खेल्ने काम भयो । सबैभन्दा ठूलो दल नेकपा एमालेमा खेल्ने काम भएको धेरै भएको छैन । कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन पनि खेल्ने काम भएको छ। नेपालमा अस्थिरता कायम राख्न सधैं एउटै प्रबृत्ति हावी भएको छ । २००७ सालदेखि २०१७ सालसम्म दलहरुबीच बेमेलले गर्दा प्राप्त उपलब्धी संस्थागत हुन सकेन । अहिले पनि त्यही अवस्था छ । जुन जनताले नचाहेको र दलहरुको प्रतिबद्धता विपरितको क्रियाकलाप हुन् । संविधान जारी भए पछि भएका चुनावले स्थानीय तह, प्रदेश र संघीय सरकारको अनुभव जनताले गर्दैछन् । २०१५ सालको चुनावपछि कांग्रेसले दुईतिहाईको सरकार गठन गरेको थियो । त्यसलाई डेढ बर्षमै राजा महेन्द्रले ‘कु’ गरेर ढाले । नेकपाले बहुमत प्राप्त गरेर स्थिर सरकार दिएकोेमा चिन्तित भएका शक्तिले सरकार ढाल्न ने पहिले नेकपा र पछि एमालेमा खेलमा एकहद सम्म सफल भएका छन ।
जनतालाई दिने सेवा र शासन सत्तामा रहनेको व्यवहारले गर्दा जुन जोगी आएपनि कानै चिरेको थैलो भिरको उखान जस्तो बन्न पुगेको छ । नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख मुलुक बनाउने कुरा अहिलेका गतिविधिले ठेस लागेको छ । प्रजातन्त्रमा सबैभन्दा ठूला जनता हुन्छन् । जनतामा गएर ताजा जनादेश लिन खोज्नु प्रजातन्त्र बलियो बनाउन खोज्नु हो । कसैले जितेको र कसैले हारेको अनुभुति नगरी जनताको जित, देशको स्वाभिमान कायम हुनेगरी शासन संचालन गर्न सके मात्र प्रजातन्त्र बलियो हुन सक्छ । प्रजातन्त्र ल्याउनको निम्ति प्राण आहुति दिने र आन्दोलनमा लाग्ने सबैलाई यस अवसरमा स्मरण गर्न चाहन्छौं । सिमित बर्गले मात्र राज्यको साधन श्रोतको दोहन गर्ने बहुसंख्यक जनता नयाँ खालका शोषण र उत्पिडनमा पर्ने हो भने लोकतन्त्र बलियो हुन सक्दैन ।
सत्तामा पुगेकाहरुले जनतालाई आफुजस्तै सम्पन्न छन् भन्ने सोचाईका कारण जनतामा असन्तुष्टि बढ्दै गएको छ । जनताको असन्तुष्टिलाई निरंकुश र राजावादीले खेल्ने ठाउँ नदिन लोकतान्त्रिक आचरण देखाउनु आवश्यक छ । लोकतन्त्रका दुई वटा पक्ष छन्, एउटा राजनीतिक अधिकारहरू प्राप्ति, रक्षा, विकास र उपयोग हो भने अर्को, राष्ट्रिय हितहरूको संरक्षण र सम्वद्र्धन हो । प्रजातन्त्रका विषयमा चर्चा गरिरहँदा राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि गरिएका आन्दोलनहरूमा योगदान गर्नेहरूप्रति उत्तिकै सम्मान र श्रद्धा गरिनुपर्दछ । प्रजातन्त्र—लोकतन्त्रलाई सत्ता प्राप्तिको दाउपेच र सडक आन्दोलनमा पोखिइरहने विषयका रूपमा नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न तथा जीवनशैली र सोचलाई लोकतान्त्रिक बनाउन सदुपयोग गरौँ । लोकतन्त्र—प्रजातन्त्र, राष्ट्रिय हित र स्वाभिमानका लागि समर्पित सबैप्रति साँचो सम्मान हुनेछ ।