कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि तङ्रिन खोजेको अर्थतन्त्र फेरि थला पर्ने भएको छ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशमा फेला परेका छन । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टओमिक्रोन चाँडै फैलिने र खोपले काम नगर्ने हुँदा जोगिन सचेत गराएको छ।नयाँ भेरियन्ट विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।
कोभिड –१९ ले दुईवटा वर्ष थला परेको नेपाल जस्ता स्वास्थ्य पुर्वाधार नभएका मुलुकलाई झन थला पार्नेछ । पहिले सावधानी नअपनाउने पछि सबैभन्दा बन्द गर्ने प्रबृत्ति फेरि देखिएको छ । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलाका अनुसार आइतबार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको छ ।
गृह मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् । इजरायलले १४ दिनका लागि विदेशीहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने यूरोपका अधिकांश देशले अफ्रिकी मुलुकबाट हुने हवाईयात्रा माथि प्रतिबन्ध लगाएको छ ।
विज्ञहरूले नै, कोभिडको नयाँ भेरिएन्ट ‘खतरनाक’ हुन सक्ने चिन्ता व्यक्त गरिसकेकाले हामी बेलैमा सचेत हुनैपर्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुख्य नाकाहरूमा स्वास्थ्य जाँचको राम्रो व्यवस्था गर्नुपर्छ । यो भेरिएन्ट देखा परेका देशबाट आउने जो कोहीमाथि स्वास्थ्य निगरानी गर्ने र राम्रो चेकजाँचको व्यवस्था मिलाउनै पर्छ । सानो लापरवाहीले कुनै पनि बेला स्वास्थ्य विपत्ति आइलाग्ने र सिंगो देश नै संकटमा पर्न सक्नेतर्फ सरकार र सरोकारवालाहरूको ध्यान जान जरुरी छ ।
हाम्रो स्वास्थ्यको अवस्था कस्तो छ भने, विगतमा कोरोना संक्रमण फैलिएका बेला अक्सिजन र बेडको समेत अभाव भोग्नुप¥यो। पहिलो लकडाउनदेखि कोभिड व्यवस्थापनसम्बन्धी निर्माण गरिएका अस्पतालहरूको अवस्था के छ ? स्वास्थ्यकर्मीको व्यवस्थापन के कस्तो छ ? अक्सिजन प्लान्ट के कसरी सञ्चालन भइरहेका छन् ? विगतमा के कस्ता कमजोरी भए र त्यसबाट के सिक्यौ ? फेरि विपत्तमा प¥यौं भने हाम्रो स्वास्थ्य उपचारको व्यवस्था के कसरी गर्ने भन्नेमा सरकार र स्वास्थ्य संघसंस्थाहरूले बेलैमा समीक्षा र पूर्वतयारी थाल्नैपर्छ । घरमा आगो लागिसकेपछि कुवा खनेर न घर जोगाउन सकिन्छ, न त दुर्घटना नै टार्न सकिन्छ । बरु बेलैमा नयाँ भेरिएन्टबाट कसरी जोगिने र आपत् आइहाल्यो भने कसरी जुध्ने भनेर सरकारले नीति र कार्यक्रम बनाउनैपर्छ। जनतालाई आह्वान गर्नुपर्छ । सचेतनाका कार्यक्रम र स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयनमा लैजानुपर्छ ।