Pokharapatra National Daily

दल फुटाउने अध्यादेश फिर्ता गर

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशको आडमा शासन चलाएको आरोप लगाउने कांग्रेस सभापति शेरबहादुर देउवा अहिले आफैंले नेतृत्व गरेको सरकारले सदन अन्त्य गरे लगत्तै अध्यादेश सिफारिस गरेको छ । विपक्षी नेकपा एमाले पार्टी विभाजन गर्न असाध्यै खुकुलो प्रावधानसहित अध्यादेश पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । अरुको पार्टी फुटाउने निहित उद्देश्य पूर्तिकै निम्ति संसद छलेर अध्यादेश ल्याउनु अनैतिक काम हो । प्रमुख प्रतिपक्षी दल एमाले विभाजन गरेर माधव नेपाल पक्षलाई सजिलो गरिदिने तत्कालीक उद्देश्य अध्यादेशले राखेको छ । चलिरहेको संसद अधिवेसन हठात् अन्त्य गरी अध्यादेशमार्फत कानून ल्याएर अलोकतान्त्रिक चरित्र उदांगो बनाएको छ।, संसद र संसदीय प्रणालीको जननी दावी गर्नेले देखाएको व्यवहार बनावटी थियो भन्ने प्रमाणित भएको छ ।
विगतमा आफैंले लिएका अडानहरूलाई आज उनीहरु विर्सेका छन। मौसमअनुसार मत बदल्ने, स्वार्थ अनुसार अडान फेर्ने नेताका कारण देशले मुल्य चुकाउनु पर्छ । देउवा–प्रचण्डले हिजो लिएको अडान र आज चालेको कदममा चरम विरोधाभाष देखिएको छ । क्षणिक स्वार्थपूर्तिका लागि उनीहरूले आफ्नो राजनीतिक इमान नै दाउमा लगाएका छन् । ओलीमाथि वर्तमान सत्तारुढ गठबन्धनले लगाउँदै आएका आरोपहरुमध्ये एउटा थियो, संसद छलेर अध्यादेशमार्फत् शासन गर्न खोजेको । गठबन्धनका नताहरूले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिने गरेका थिए । ओलीले गरेका गल्तिहरु सच्याउँदै शानदार शासन चलाएर देखाउने प्रतिवद्धतासहित देउवा प्रधानमन्त्री बनेका हुन् । तर, जुन अध्यादेश विगतमा ओलीले चौतर्फी विरोधपछि फिर्ता लिएका थिए, त्यसैलाई अझ विभत्स रूपमा देउवाले जारी गरेका छन् ।
ओलीले ल्याएको अध्यादेश प्रतिगमन थियो भने यो कसरी अग्रगमन हो प्रश्नको जवाफ सत्ता गठबन्धनसँग खोजिने छ । अध्यादेशको विरोध गर्ने एमालेले विगतको गल्तीप्रति माफी माग््नुपर्छ । आत्मालोचनाबिनाको विरोधले ओलीमाथि पनि उही प्रश्न उठ्छ– आफूले निर्णय गर्दा सही, अर्कोले गर्दा गलत ? ओलीले तत्कालीन समाजवादी पार्टी फुटाउन ल्याएको अध्यादेशमा संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान राखिएको थियो । तर, देउवाले ल्याएको अध्यादेशमा त्यो संख्या २० प्रतिशतमा झारिएको छ । शेर बहादुर देउवा कार्यकालमा देखिएको विसंगति अहिले दोहोरिनु बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्दा पनि बाङ्गाको बाङ्गै जस्तै हो ।
नेपालमा यसै पनि दलहरु अत्यधिक भएर कोलाहल छ । भोलि ठूला दलहरु क्रमशः चोइटिदै संसदभित्रै टुक्रे पार्टीहरुको बिस्कुन लाग्न सक्ने परिस्थित अध्यादेशले निर्माण गरिदिएको छ । यसले नेपालको दलीय प्रणालीमा अस्थिरताको नयाँ श्रृंखला आरम्भ गर्न सक्छ । लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँछ । देउवालाई, कुनै पनि बहानामा देशको राजनीतिक प्रणाली नै लथालिंग पार्ने गरी कानून तोडमोड गर्ने छुट छैन । देउवा स्वयम्का लागि पनि यो अध्यादेश आत्मघाति नहोला भन्न सकिन्न । एमाले फुटाउनका लागि उनले निकालेको अस्त्र भोली उनीतिरै फर्किन सक्छ । कांग्रेस सभापतिको भूमिकामा समेत रहेका देउवाले पार्टीलाई एकतावद्ध राख्न सकेका छैनन् । रामचन्द्र पौडेल उनका स्थायी प्रतिपक्षका रूपमा छन् ।
पार्टीभित्र अनेकन गुट–उपगुट छन् । भोली कुनै गुटको नेताले २० प्रतिशतको संख्या निश्चित गरेर पार्टी फुटायो भने देउवासँग पछुताउनुको विकल्प हुँदैन । कांग्रेसका १३ जना सांसद मिलेर पार्टी फुटाउन चाहे भने यो अध्यादेशले बाटो खोल्नेछ । अझ माओवादी फुटाउन त ११ जना सांसद मिले पुग्छ । सरकारले जारी गरेको अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ । संवैधानिक प्रावधानअनुसार मन्त्रीपरिषदका निर्णयलाई अस्वीकार वा खारेज गर्न सक्ने अधिकार राष्ट्रपतिमा हुँदैन । यद्यपि, निर्णयमा पुनर्विचारका लागि एकपटक राष्ट्रपतिले सरकारलाई फिर्ता पठाउन सक्ने प्रावधान छ । हिजोका दिनमा ओली सरकारले निर्णय गरेलगत्तै विनासोचविचार त्यसमा लालमोहर लगाइदिएको भनेर विपक्षीहरुबाट राष्ट्रपतिको आलोचना भएको थियो । आज सत्तामा आएका उनीहरुले नै राष्ट्रपतिमाथि तत्काल प्रमाणीकरणका लागि दवाव थोपर्ने छन् । जे भए पनि विगतमा चरम विवादास्पद बनेको विषय भएको हुँदा राष्ट्रपतिबाट एकपटक पुनर्विचारको माग हुनु अपेक्षित छ । सर्वोच्च अदालतको फैसलालाई टेकेर यो अध्यादेशलाई तत्काल कार्यान्वयन गर्नुहुन्न ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...