Pokharapatra National Daily

अवस्थाप्रति गम्भीर बनौं

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।।यो संख्या अहिलेसम्मकै धेरै हो । नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५८० पुगेको छ । २४घण्टामा २७ सय ७ जनाले कोरोना जितेका छन । कोरोना जित्नेको संख्या दुई लाख ९२ हजार ४९०पुगेको छ । सक्रिय संक्रमित ७२ हजार ५६१ रहेको छ । २४घण्टामा ५४जनाको मृत्युु भएको छ।हालसम्म ३ हजार ५ सय २९ जनाले ज्यान गुमाएका छन । अस्पतालमा बेड नपाउने र अक्सिजन अभावमा ज्यान गुमाउनु परेको छ । स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको भन्दा अगावै संक्रमितको संख्या बढेको छ ।
वैशाख १ गते देशभर ६ सय ३ जना संक्रमित थिए। कोभिड—१९ का कारण ३ जनाको मृत्यु भएको थियो । २३ गते आइपुग्दा संक्रमितको संख्या ९ हजार ७० पुगेको छ । २३ दिनमा झन्डै १६ गुणा संक्रमण र करिब २० गुणा मृत्यु बढेको छ । यसको ग्राफ अति ठाडो गतिमा उकालो चढिरहेको छ । सबैभन्दा बढी प्रभावित बाँके जिल्लामा निषेधाज्ञा जारी गरेयता पनि हरेक ६ घण्टामा एक जना संक्रमितको ज्यान गएको खबर प्रकाशित भएको छ । झन्डै दुई सातामा भएको यो मृत्यु औसत मात्र हो । एक साता यताको तथ्यांक विश्लेषण गर्दा त दैनिक कम्तीमा ४ जनादेखि बढीमा १२ जनासम्मले ज्यान गुमाएका छन् । अस्पतालका शय्याहरू जटिल खालका संक्रमितले भरिभराउ छन् । नयाँ संक्रमितले अस्पतालमा शय्या पाउने अवस्था छैन । हरेक दिन स्वाब परीक्षण गराएकामध्ये ८० देखि ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । अब करिबकरिब घरघरमा संक्रमण पुगेको छ । कतिपय घरमा त पूरै परिवार संक्रमित छन् । स्वास्थ्यका मापदण्डबारे सचेतना फैलाउने र संक्रमितको उपचार गर्ने डाक्टरलगायत स्वास्थ्यकर्मीसमेत संक्रमण झेलेर सेवामा खटिएका छन् ।
नेपालमा गत वर्ष कोरोना सचेतना, संक्रमण रोकथाम र उपचारमा तीन तहकै सरकारले प्राथमिकता दिएर काम गरेका थिए । लामो समय निकै कडाइका साथ लकडाउन गरिएको थियो। सीमा नाका बन्द थिए । विदेशबाट आउने सबैलाई अनिवार्य रूपमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखिन्थ्यो । संक्रमितलाई आइसोलेसन सेन्टरमा राखिन्थ्यो । जटिल खालका संक्रमितका लागि अस्पतालमा अक्सिजनसहितको आइसोलेसन विशेष अस्पतालमा उपचार हुन्थ्यो। संक्रमित थोरै हुन्थे। उपचार गर्दा निको हुने बढी हुन्थे । गत चैतपछि कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । भारतमा दोस्रो चरणको कोरोना संंक्रमण बढेपछि त्यसको असर नेपालमा पनि परेको छ। दोस्रो चरणको कोरोनाको संक्रमण दर पनि बढ्दो छ। संक्रमित लक्षणसहितका छन्। अस्पतालमा भर्ना भएका संक्रमितमध्ये अधिकांशलाई अक्सिजनको आवश्यकता परेको छ। विगतमा जस्तो संक्रमितको पहिचान भइसकेपछि अनिवार्य रूपमा १० देखि १४ दिन आइसोलेसनमा राख्ने गरिन्थ्यो। अहिले संक्रमितको संख्या बढी भएकाले जटिल स्वास्थ्य समस्या नभएका सबैलाई होम आइसोलेसनमा पठाइन्छ । सरदर ९० प्रतिशत संक्रमित घरमै स्वउपचाररहत छन् ।
विगतमा संक्रमितको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट टे«सिङ गरी अनिवार्य कोरोना परीक्षण हुन्थ्यो । ‘परीक्षण गर्ने हो भने सबैमा कोरोना छ’ भन्ने अनुमानको आधारमा लक्षण देखिएका र समस्यामा परेका व्यक्तिबाहेकको कोरोना परीक्षण गर्न छाडिएको छ । राज्यका तीनै तह (स्थानीय, प्रदेश र केन्द्र) का सरकारबीच समन्वय र सहकार्यमा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचार प्राथमिकता हुनुपर्छ । विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ । पालिका स्तरमा अक्सिजनसहितका आइसोलेसन निर्माण गर्ने र अस्पतालमा आईसीयू र भेन्टिलेटर विस्तारमा लाग्नुपर्छ । अहिले बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यो सकारात्मक कदम हो । निषेधाज्ञा जारी गरेको एकदेखि दुई साता भइसक्दा पनि संक्रमित र मृृतकको संख्या घट्नुको साटो बढ्दो दरमा हुनु भनेको भुसको आगो जस्तै कोरोना समुदाय स्तरमा फैलिसकेको छ ।
जसरी पहिलो चरणमा सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दो दरमा भएपछि केन्द्र सरकारले टोली कर्मचारी खटाएर ठूलो संख्यामा कोरोना परीक्षण गरेको थियो, त्यसैगरी पीसीआर, एन्टिजेनलगायत प्रविधिमा गाउँ टोलमा पुगेर संक्रमितको पहिचान गर्नुपर्छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नुपर्छ । मापदण्ड पुगेका व्यक्तिलाई होम आइसोलेसन बस्न दिनुपर्छ । अरू सबैैलाई आइसोलेसन सेन्टर बनाएर राख्नुपर्छ । सामान्य लक्षण देखिएका संक्रमितलाई पालिकाले निर्माण गरेका अक्सिजनसहितको आइसोलेसनमा राखेर उपचार गर्न सकिन्छ । बढी जोखिम भएका संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्न सके सम्भावित क्षति जोगाउन सकिन्छ । बाँच्न सके नाच्न पाइने हुँदा जीवन नै सबै थोक हो । सबैभन्दा महत्त्वपूर्ण कुरा सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...