Pokharapatra National Daily

पोउवा संघमा भिसीटिएस र राजश्व चुहावटबारे अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाली अर्थतन्त्रमा देखिएको अनौपचारिक व्यवसायको योगदानलाई घटाउन करको दायरा बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली अर्थतन्त्रको करिब ४२ प्रतिशत जति हिस्सा करको दायराभन्दा बाहिर रहेको बताउँदै उनले ‘कालोधन’ बढ्दै जानु राष्ट्रको लागि घातक भएको बताए । पोखरा उद्योग वाणिज्य संघ तथा राजश्व अनुसन्धान कार्यालय बुटबलले बुधबार आयोजना गरेको भिसिटीएस तथा राजश्व चुहावट विषयक अन्तक्र्रियामा बोल्दै पूर्वअध्यक्ष मुल्मीले अर्थतन्त्रलाई पारदर्शी बनाउन सम्पत्ति शुद्धीकरण हुनुपर्नेमा जोड दिए । उनले पोखरा र समग्र गण्डकी प्रदेशले राजश्वमा दिएको योगदान बढाउनको लागि व्यावसायिक वातावरण निर्माण हुनुपर्ने पनि बताए । मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस )पनि व्यवसायी मैत्री हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै राजश्व अनुसन्धान कार्यालय बुटबलका प्रमुख राजश्व अधिकृत राजनकुमार बिसीले नेपालमा राजश्व चुहावट ठूलो समस्याको रुपमा रहेको बताए । उनले पेट्रोलले चल्ने मोटरसाइकलमा डिजेल हालेको बिल बनाउनेदेखि हुण्डी कारोबार गर्नेसम्मले कर छलेको जिकिर गरे । उनले व्यवसायीहरुलाई कसरी कर छल्ले भन्नेबारे नसोच्न र व्यवसाय बिस्तारमा लाग्न पनि आग्रह गरे । भिसिटीएस प्रणालीबारे ब्याख्या गर्दै उनले भिसीटिएसमा सामेल हुनु भनेको स्वच्छ व्यवसाय गर्नु पनि भएको बताए । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले विकसित देश हेरेर बनाइएका कर र राजश्वसम्बन्धी नीति नियमहरु नेपालमा कार्यान्वयन गर्न जटिल भएको जिकिर गरे । व्यवसायीहरुलाई पर्याप्त जानकारी दिएर मात्र कर र राजश्वसम्बन्धी नीति नियमहरु कार्यान्वयनमा ल्याउन माग गर्दै उनले व्यवसायीहरुले अन्जानमै ठूलो जरिबाना तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपनेै बताए । व्यवसायीहरु कर तिर्न तयार रहेको तर त्यसको लागि कर प्रशासन व्यवसायी मैत्री हुनुपर्ने उनको भनाई थियो ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद र महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको कार्यक्रममा राजश्व कार्यालय बुटबलका अनुसन्धान अधिकृत धनिश्वर अर्यालले भिसिटीएस प्रणाली प्रयोगबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको नै भिसिटिएस प्रणाली हो । कारोवारको पारदर्शीताका लागि व्यावसायिक प्रयोजनका लागि मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गरिन्छ ।व्यावसायिक प्रयोजनका मालवस्तु आयात र निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले विवरण भर्नु पर्दछ । यो प्रणालीमा प्रवेश गर्दा प्रयोगकर्ताले आफैंले युजर आइडी र पासवर्ड बनाउन सक्छन् ।
पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित अन्तरक्रियाको क्रममा व्यवसायीहरुले भिसिटीएस प्रणाली प्रयोग गर्दा परेका अप्ठेराहरुबारे जिज्ञासा राखेका थिए । पोखरा उद्योग वाणिज्य संघ यही माघ २५ गतेबाट ६७ वर्षमा प्रवेश गर्दैछ ।

प्रतिकृया दिनुहोस्