लगातार १५ वर्ष बंगलादेशमा शासन गरेकी शेख हसिना आफ्नो सरकार विरोधी आन्दोलनका कारण ज्यानै खतरामा परेपछि सोमबार देश छोडेर भागेकी छन् । सोमबार भारत पुगेकी उनी त्यहाँबाट अमेरिका जान खोजेकी थिइन्, अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।उनी लन्डन जाने तयारी गरिरहेकी छन् ।हसिनाको बहिर्गमनको खुसीयालीमा बंगलादेशमा हर्षोल्लास भइरहेको छ । आइतबार भएको निकै ठूलो हिंसात्मक झडपमा करिब १०० जना मारिएपछि सोमबार आन्दोलन झन् चर्केको थियो । देशव्यापी कर्फ्यू जारी भए पनि त्यसको अवज्ञा गर्दै विद्यार्थीहरूको नेतृत्वमा भइरहेको आन्दोलन चर्किएपछि हसिना देशै छोड्ने अवस्थामा पुगिन् ।
१९८१ फेब्रुरुअरी १६ मा अवामी लिगको अध्यक्ष भएपछि उनी मे १७ मा बंगलादेश फर्किइन् । त्यतिबेला उनलाई हजारौँ समर्थकले स्वागत गरेका थिए । हसिनाका पिता रहमानले सन् १९७१ मा बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । रहमानले बंगलादेशको स्वाभिमान र आत्मनिर्भरताको सपना बोकेका थिए । उनको हत्यापछि भने त्यही सपना बोकेर हसिना राजनीतिमा होमिएकी हुन् । १९८१ मा अवामी लिगको अध्यक्ष भएयता उनी राजनीतिमा सक्रिय थिइन् । सुरुआती दिनमा देशमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरिन् । निर्वासनबाट बंगलादेश फर्केपछि उनी बीएनपी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियासँग जोडिइन् । दुई नेतृहरूको अगुवाइमा १९९० मा भएको आन्दोलनले बंगलादेशमा हुसेन मोहम्मद एर्सादको सैनिक शासनलाई विस्थापित गर्न सफल भएको थियो । लोकतन्त्र स्थापित भएपछिको आमचुनावमार्फत सन् १९९१ देखि जियाले पाँच वर्ष शासन सत्ता सम्हालिन् । यसबीचमा हसिना र जियाबीचको सम्बन्ध चिसियो । उनीहरूको सम्बन्ध चिसिएसँगै बंगलादेशको राजनीति अस्थिर बन्न पुग्यो । हसिना भने १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेकी थिइन् । त्यसको पाँच वर्षपछि भने उनी जियासँग पराजित भइन् । जसका कारण २००१ देखि २००६ सम्म पुनः जिया प्रधानमन्त्री भइन् । यसबीचमा दुई नेतृहरूबीचको सम्बन्ध थप बिग्रियो । उनीहरूबीचको द्वन्द्व राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित नरही प्रतिशोधतर्फ अघि बढ्न थाल्यो ।
दुई नेतृबीचको राजनीतिक प्रतिशोधसँगैका विरोध प्रदर्शन, हिंसा र झडपहरूका कारण तोकिएको चुनाव हुन नसकेपछि सेनाले सत्ता हातमा लिएको थियो । पछि सेना प्रमुख जर्नेल मोहिन उद्दिन अहमदले अर्थशास्त्री फकरुद्दिन अहमदलाई प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्वको जिम्मा दिएका थिए । अहमद नेतृत्वको सरकारले जियालाई भ्रष्टाचार र हसिनालाई जबर्जस्ती असुलीसम्बन्धी मुद्दा लगाएर जेल हालेको थियो । मुद्दा फिर्ता लिइएपछि हसिना २००८ को जुन र जिया सेप्टेम्बरमा रिहा भए । सोही वर्षको डिसेम्बर २९ मा भएको चुनाव अवामी लिगले भारी मतले जितेपछि हसिना प्रधानमन्त्री बनिन् । २००९ यता उनी लगातार सत्तामा थिइन् तर दुई नेतृबीचको द्वन्द्व भने झन् बल्झिँदै गएको थियो । ‘बेगम–युद्ध’ का नामले चर्चित हसिना र जियाबीचको द्वन्द्व बंगलादेशको राजनीतिमा हाबी छ । सँगै चार दशकभन्दा लामो समय लोकतन्त्रका लागि आफ्नो जीवन हत्केलामा राखेकी हसिनाको व्यवहार भने फेरिँदै गयो । पछिल्लो कार्यकालमा त हसिना लोकतन्त्रवादीबाट तानाशाहीको बाटोमा निरन्तर अघि बढेको भन्दै उनको थप आलोचना भइरहेको थियो । अझ भनौं, २०१४ यता त जियासहित विपक्षीहरूप्रति हसिनाको प्रतिशोधको पारो चढेको थियो ।
सन् २०१४ को जनवरीमा विपक्षी दलले अस्वीकार गरेको निर्वाचनमार्फत तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको अन्तर्राष्ट्रियस्तरमा नै आलोचना भएको थियो । सन् २०१८ मा उनी चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएको चुनावमा पनि विपक्षीले धाँधली भएको आरोप लगाएका थिए । ती आरोपहरूको कुनै किसिमको प्रभाव हसिनामा भने परेन । गत पुसमा भएको संसदीय चुनाव पनि प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निस्पक्षताको प्रश्न उठाउँदै बहिष्कार गरेको थियो । विपक्षीले बहिष्कार गरेको चुनावको विश्वसनीयतालाई लिएर अन्तर्राष्ट्रिय जगतबाटै प्रश्न उठ्नु स्वाभाविक थियो । अघिल्लो चुनाव जस्तै यस पटक पनि हसिनाले विपक्षीको बहिष्कारका बीच चुनाव गराइन् । चुनावमा प्रधानमन्त्री हसिनाको बंगलादेश अवामी लिग विजयी भयो । चुनावबाट उनी पाँचौँ पटक (लगातार चौथोपटक) प्रधानमन्त्री बनेकी थिइन् ।
बंगलादेशको जातीय संसद् (राष्ट्रिय संसद्) मा ३५० सांसद हुन्छन् । गत पुसमा २९९ निर्वाचन क्षेत्रमा चुनाव भएको थियो । स्वतन्त्र उम्मेदवारको मृत्यु भएपछि नवगाउँ–२ को चुनाव स्थगित गरिएको थियो । बाँकी ५० सिट महिलाका लागि आरक्षित थिए । उक्त चुनावमा हसिनाको दल २२३ सिटमा विजयी भयो । अवामी लिगपछि भने स्वतन्त्र उम्मेदवारहरूले धेरै सिट जिते । ६१ क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भए । संसद्को प्रमुख प्रतिपक्षी जातीय पार्टी ११ सिटमा खुम्चियो । यसअघि २०१८ मा भएको चुनावमा अवामी लिग २५८ र जातीय पार्टी २७ सिटमा विजयी भएका थिए । चुनावमा ४० प्रतिशतभन्दा पनि कम मतदान भएको थियो । बीएनपीले धाँधलीपूर्ण चुनाव मानेन । चुनाव बहिष्कार गरेको बीएनपीले समस्या समाधानका लागि हसिनाको राजीनामा र तटस्थ निकायलाई नयाँ चुनाव गराउने जिम्मा दिनुपर्ने माग गर्दै आएको थियो । हसिनाले भने उक्त माग अस्वीकार गर्दै आएकी थिइन् । त्यसका साथै प्रतिपक्षले सरकारविरोधी प्रदर्शनका लागि उक्साएको हसिनाको आरोप थियो । त्यसपछि चर्केको आन्दोलनमा सोमबारसम्म तीन सय जना मारिएका थिए । विपक्षी माथि निरंकुश र प्रतिशोध र इन्टरनेट बन्द गरेर आन्दोलन दमन गर्न खोज्दा आरक्षण विरुद्ध शुरु भएको आन्दोलन चर्किदा हसिनाको नराम्रो पतन भएको छ । सेनाको समर्थनमा अन्तरिम सरकार बन्ने भएको छ । एकजनाको निरंकुशता विरुद्ध विद्रोह गर्दा अर्को नियन्त्रित शासन भोग्ने अवस्था आउने हो कि भन्नेबारे सोच्नुपर्छ ।