‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको छ।धान दिवसको अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री देखि सेलीव्रेटी सम्म खेतमा पुगेर हिलोमा खेल्ने गरेका छन। असार१५ लाई दही च्युरा खाने दिनको रुपमा पनि मनाउने गरिन्छ । असार लागेसँगै अधिकांश नेपालीलाई छिपछिपे हिलो, दही–चिउरा, रोपाइँ, बाउसे, हलगोरु, रोपाहार, मेलो आदिको सम्झना हुन्छ । नेपालमा खाद्य सुरक्षा भनेकै धान हो भन्दा अतिशयोक्ति हुँदैन, किनकि करिब ६७ प्रतिशत खाद्य आपूर्ति धानबाटै हुन्छ भने खानपानमा करिब एकतिहाइ क्यालोरीको स्रोत पनि धान हो ।
क्षेत्रफल, उत्पादन, खपत आर्थिक क्षेत्रमा पु¥याइरहेको योगदान— सबैका आधारमा नम्बर १ मा छ धान बाली । चामलबाट देशमा विभिन्न समुदायले अनेक परिकार बनाउने र पवित्र कार्य वा विभिन्न संस्कारमा पनि प्रयोग गरिन्छ । नेपाल लगायत एसियाली राष्ट्रहरूको प्रमुख खाद्यान्न बाली हो, धान । संसारका सयभन्दा बढी मुलुकमा धानखेती गरिन्छ, तर वातावरणीय अनुकूलताले गर्दा एसिया महादेशलाई धान उत्पादनका दृष्टिले अग्रणी मानिन्छ । विश्वको कुल धान उत्पादनको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपतका यसै क्षेत्रमा हुने गर्छ । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यानमार— यी सात देशमा मात्र विश्वमा हुनेमध्ये ८० प्रतिशतभन्दा बढी धानको उत्पादन हुन्छ । नेपाल धान उत्पादनका हिसाबले १७औँ स्थानमा पर्छ ।
हाम्रो खानामा धान कतिको महत्त्वपूर्ण बाली हो भन्ने कुरा त दुई नेपाली भेट भएबाटै थाहा हुन्छ । उनीहरू सोध्छन्, भात खानुभयो । संसारकै सबैभन्दा अग्लो स्थानमा धान हुने देश नेपाल नै हो । नेपालमा धानखेती समुद्र सहतदेखि ६० मिटर उचाइमा रहेको स्थान (झापाको केचनाकलन)देखि ३०५० मिटरसम्मको उचाइमा रहेको स्थान (जुम्लाको छुमचौर जिउला)सम्म हुने गर्छ । यस्तै ७५ वटा जिल्ला (मनाङ र मुस्ताङ जिल्ला बाहेक)मा धानखेती गरिन्छ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३७.५ केजी चामलको खपत रहेको छ । हामीकहाँ करिब ५७ लाख टन धानको उत्पादन हुन्छ भने ६७ लाख मेट्रिक टन आवश्यक पर्छ । करिब १० लाख मेट्रिक टन धान अपुग छ । भन्सार विभागको आव २०७९–८० को तथ्यांक अनुसार, ४७ अर्ब, ५७ करोड ३६ लाख ८४ हजार मूल्य बराबरको धानजन्य (धानको बिउ, धान, चामल र कनिका) सामग्री आयात भएको देखिन्छ ।
एकातिर प्रायः युवा विदेश गई कमाउन थालेका छन् भने अर्कोतिर सडकका कारण गाउँठाउँमा नगद प्रवाह हुन थालेको छ, यसकारण मसिनो तथा बास्नादार चामल खानेहरु बढ्न थालेका छन् । चालु आवको गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा २१ अर्ब १३ करोड ७० लाख ५ हजार बराबरको धानजन्य सामग्री भित्रिएको देखिन्छ । जसमा धानको बिउ मात्रै ८८ करोड, ६५ लाख, २१ हजार मूल्य बराबरको; अन्य धान र चामल २० अर्ब, २४ करोड, ३२ लाख, ६४ हजार मूल्यबराबरको र कनिका नौ लाख २० हजार मूल्य बराबरको भित्रिएको थियो । आफ्नो ठाउँमा जे उत्पादन हुन्छ त्यो खाने चलन हराउनाले चामलको माग र आयात बढ्न गएको पाइन् । हावापानीको विविधताका कारण बढी उत्पादन हुने जातको धानको खेती हामीकहाँ कम हुने गर्छ । थोरै र टुक्रिएको जग्गाका कारण मेसिनको प्रयोगमा कठिनाइ भइरहेको छ । यस्तै सिँचाइ, मल र गुणस्तरीय बिउको अभाव छँदै छ । चैते धान सुकाउन असुविधा, बजारमा सस्तो मूल्यमा धान बेच्नुपर्ने किसानको बाध्यता र प्राविधिक ज्ञानको कमी, तीन तहको सरकारमा समन्वयको अभाव, उत्पादन लागत बढी हुनु आदि हाम्रा धानखेतीका मुख्य चुनौती छन् ।
जलवायु परिवर्तन लगायत चुनौती थपिएका छन् । बाढी, पहिरो र सुक्खा बढिरहेको छ । हिउँदे झरी हराइसक्यो, हिमाल कालापत्थरमा परिणत हुँदै गइरहेका छन् । युवा पुस्ता माटो छुन मन गर्दैनन् । खाद्यान्नको मूल्यवृद्धि अकासिँदो छ । धान र चामलको सबै जनतासामु उपलब्धता र पहुँचको कमी छ । लाखौँ युवा बेरोजगारी कारण बिदेसिएका छन् । उनीहरूलाई तत्काल रोजगारी दिने सरकारसँग कुनै योजना छैन । छोटो समयमा रोजगारी दिन सक्ने र आम्दानी गर्न सकिने भरपर्दाे क्षेत्र कृषि नै हो । यसपटकको बजेटमा कृषिमा लगानी दशक (२०८१–०९१) घोषणा गरिएको छ, तर कार्यान्वयन प्रभावकारी होला भन्ने कुनै विश्वासिलो आधार देखिँदैन । धान चामल निर्यात गर्ने नेपाल साँच्चै धान र चामलमा आत्मनिर्भर हुने हो भने धानको उत्पादन र उत्पादकत्व बढाउने उपाय अपनाउनैपर्छ । त्यसका लागि, कृषि यान्त्रिकीकरणमा जोड, व्यावसायिक उत्पादन, उत्पादन उपरान्त हुने क्षतिमा कमी गर्ने उपायको अवलम्बन, भण्डारणका पूर्वाधार विकास हुनुपर्छ प्रविधि र पूर्वाधारका पक्षमा जोड दिएमा राष्ट्रिय धान दिवस मनाएको सार्थक हुनेछ ।