Pokharapatra National Daily

गण्डकीका मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्राबधान भए अनुरुप गण्डकी प्रदेशका दुई मन्त्री बाहेक अन्य मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो वेवसाइडमा सार्वजनिक गरेको सम्पति विवरण अनुसार दुई जना मन्त्री बाहेक मुख्यमन्त्री सहित अन्य मन्त्रीले सम्पत्ति विवरण बुझाएका हुन् ।
युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ)ले म्याद नाघिसक्दा पनि अझै पनि सम्पत्ति विवरण बुझाएका छैनन् । नेकपा माओवादी केन्द्रका भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।
मुख्यमन्त्री पोखरेल सहित मन्त्री कुमार खड्का, मधुमाया अधिकारी, हरिशण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले जेठ २९ गते शपथ लिएका थिए । बाँकी ६ जना मन्त्री साउन ८ गते सपथ लिएका थिए । मन्त्री मनाङे तीन पटकसम्म मन्त्री बनेका हुन भने मन्त्री चन्द्रबहादुर बुढाको मन्त्री भएको करिब ३३ दिन भएको छ ।
गण्डकी प्रदेशका कानून, संञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाको सम्पत्ति विवरणमा हेर्दा अन्य मन्त्रीहरुको तुलनामा चल तथा अचल सम्पत्ति बढी भएको उल्लेख गरिएको छ । पोखरा ८ नयाँबजार निवासी मन्त्री थापाले एक करोड २० लाखको गाडी चढ्दै आएका छन भने उनको पोखराको लेकसाइडमा होटल सहित विभिन्न ठाँउमा व्यवसायीक प्रयोजनका लागि ६ वटा घर तथा भवनहरु रहेका छन् । मन्त्री थापा र उनको परिवारसंग हाल करिब १ सय ६८ रोपनी भन्दा बढी जग्गा रहेको छ भने करिब ३० करोड जसो ऋण समेत रहेको छ । उनको घरमा हाल ५५ हजार १ सय ५ रुपैया मौजदात रुकम रहेको छ भने विभिन्न बैंकहरुमा करिब ७ करोड रहेको छ । उनीसंग ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा रहेको उनले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पोखरा वुटिक होटल, बगैचा रिसोर्ट, सिटि ट्रेड मल, गण्डकी ट्रेड हाउस, रोयल हिमालयन रिसोर्ट लगायतमा उनको लगानी भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा मन्त्री थापा र उनको परिवारजनको डेढ दर्जन भन्दा बढीमा करोडौंको शेयर लगानी रहेको छ ।
त्यसपछि सम्पत्ती विवरण हेर्दा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा अन्य मन्त्री भन्दा केही धनि देखिन्छन । मुख्यमन्त्री पोखरेल, मन्त्री थापा सहितका अधिकांश मन्त्रीहरुले व्यक्ति, सहकारी देखि विभन्नि बैंकहरुसंग ऋण लिएका छन् । स्याङ्जा भीरकोट स्थायी घर भएका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको भीरकोट र काठमाडौं नागार्जुनमा घर रहेको छ । मन्त्री र उनको परिवारको नाममा काठमाडौं र स्याङ्जाका भीरकोट नगरपालिकामा विभिन्न ठाँउमा जग्गा रहेको छ । मन्त्री श्रेष्ठसँग अन्य मन्त्रीको तुलनामा सवै भन्दा बढी सुन रहेको छ । उनको नाममा १ किलो १९ तोला सुन रहेको छ भने उक्त सुन पैतृक तथा पेवा सम्पत्ति भएको मन्त्रीले सम्पति विवरणमा उल्लेख गरेका छन् । साथै उनीसंग ७ किलो २ तोला चाँदी रहेको श्रेष्ठले सार्वजनिक गरेका छन् । श्रेष्ठ र परिवारको नाममा करिब ७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
उनले ७ करोड ९० लाख रुपैयाँ बैंक मार्फत ऋण लिएका छन् । मन्त्री श्रेष्ठसँग ४५ लाख मुल्यको एउटा कार, २ वटा स्कुटर छ भने स्याङ्जाको भीरकोटस्थित सुन्तला बगैंचाबाट प्रति वर्ष ६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । पोखरा महानगरपालिका–१६ स्थायी घर भएका भैतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यबस्था मन्त्री कुमार खड्काको ७ आना जग्गामा साँढे दुई तले घर रहेको छ । मन्त्री खड्काको विभिन्न बैंक तथा वित्तीय संस्थामा १ करोड रुपैयाँ बचत रहेको छ ।
खड्काले अमरदीप सहकारीमा ५१ लाख ५० हजार रुपैयाँ र जन्मभूमि एजुकेशन फाउण्डेसन प्रालिमा ५ लाख मुल्य बरालको सेयर रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् । उनले उज्ज्वल खड्कालाई ६० लाख रुपैयाँ र हरिबहादुर थापालाई २५ लाख रुपैयाँ ऋण दिएको विवरण समेत सर्वजनिक गरेका छन् । बागलुङ काठेखोला ८ मा स्थायी घर भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको श्रीमतीको नाममा ४८ लाख ५० हजार मुल्य बराबरको घर रहेको छ । दाइजो र पुर्खौली सम्पत्तिबाट प्राप्त गरी मन्त्री शर्मासँग २५ तोला सुन र १ किलो चाँदी रहेको छ भने करिब ३ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बचत रहेको छ । उनी र उनको परिवारको नाममा विभिन्न कम्पनीमा करिब एक करोड रुपैयाँभन्दा बढी रकमको शेयर रहेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरमा श्रीमतीको नाममा ५ लाखको जग्गा र १५ लाख लगानीमा बनेको साढे दुई तले पक्की घर रहेको सम्पक्ति विवरणमा उल्लेख छ । जन्मथलो तनहुँको भई हाल नवलपुर बस्दै आएका मुख्यमन्त्री पोखरेलले कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएका छन् । उनीसंग ५ तोला सुन छ । साथै उनको नाममा विभिन्न ठाँउ काठमाडौंको साङ्ला जग्गा किनेका छन् । एभरेस्ट बैंकमा तलबको रकम ५ लाख रुपैयाँ वचत भएको छ । पोखरा महानगरपालिका– २२ मा स्थायी घर भएका प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनको घरमा ६० हजार मुल्य बराबरको गाई रहेको छ । १ रोपनी ४ आना २ पैसाको जग्गामा हाल पुरानो घरमा बस्दै आएका मन्त्री बरालसंग ४७ लाख रुपैयाँमा जग्गा किनेका छन् । अर्थमन्त्री बरालले ३ लाख रुपैयाँ नगद र ४ तोला सुन रहेको सम्पति विवरणमा उल्लेख गरेकाछन् । एभरेस्ट बैंकमा तलबबापतको ३ लाख रुपैयाँ बचत रहेको उल्लेख गरेका मन्त्री बरालले पेश गरेको सम्पति विवरणमा एनआइसी एसिया बैंक मार्फत १ करोड रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । बरालका परिवारका नाममा २ मोटरसाइकल र एउटा स्कुटर रहेको छ ।
लमजुङको दुधपोखरीमा स्थायी घर भएकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीसँग करिब ३ सय रोपनी जग्गा सहित घर समेत रहेको छ । जनयुद्धमा श्रीमान गुमाएकी मधुमायाले शहीद परिवारलाई सरकारले दिएको राहतबापतको रकमबाट चितवनको २ ठाउँ र मकवानपुरको १ ठाउँमा जग्गा किनेको सम्बपक्ति विवरणमा उल्लेख गरेकी छन् । उनीसँग ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेको छ ।
स्याङ्जा बिरुवा २ स्थायी घर भएका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा परिवारसंग २५ वटा बाख्रा, ७ सय ५० वटा सुन्तलाका वोट रहेको छ । छोराछोरीको रेमिट्यान्सबाट पोखरा महानगरपालिका–१४ मा ४० लाख रुपैयाँमा जग्गा किनेको उनले पेश गरेको सम्पति विवरणमा उल्लेख गरिएको छ । उनीसँग ३० तोला सुन र २० तोला चाँदी छ । विभिन्न बैंकमा १५ हजार नगद देखाएका थापाले ६१ लाख ५० हजार रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । ६ रोपनी जग्गामा मन्त्रीका छोराले चलाएको नर्सरी रहेको छ भने उत्तः नर्सरीबाट बार्षिक रुपमा सुन्तला ५० हजार, अलैची २ लाख, चियाका करिब १ लाख बिरुवा समेत उत्पादन गर्दै आएछन् ।
गोरखा पालुङटार स्थायी घर भएका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको बुवाको नाममा पुख्र्यौली संयुक्त घर जग्गा रहेको छ । उनको परिवारको नाममा पालुङटारमै ३ लाखको जग्गा छ भने ८ तोला सुन र ५ तोला चाँदी रहेको मन्त्री आचार्यले पेश गरेको सम्पत्ति वितरणमा उल्लेख गरेकाछन्। आमुल फर्निचर ३० लाखमा खरिद गरेको उल्लेख गरेका उनले कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिएका लिएका हुन्। जनता समाजवादीबाट प्रतिनिधित्व गरेका मन्त्री आचार्यको विभिन्न बैंकमा ५० हजार बचत छ ।

प्रतिकृया दिनुहोस्