
गण्डकी प्रदेश सभा भवन निर्माण हुने भएको छ । उक्त भवनको आज एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नु भएको हो ।
३ बर्षमा निर्माण हुने उक्त भवन जति सक्दो छिटो दुई बर्षमै सक्ने गरी काम गर्न उहाँले ठेकदार कम्पनीलाई आग्रह गर्नु भयो । उक्त भवनको लागत रकम भ्याट र मूल्य अभिवृद्धि कर सहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँ ९६ पैसा रहेको छ । भवन निर्माणका लागि २०८१ माघ १८ गते सम्झौता भइसकेको छ र ३ वर्षभित्र अर्थात् २०८४ माघ १७ गतेसम्म सम्पन्न गर्ने योजना रहेको शहरी विकास तथा यातायात व्यवस्थापन पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । श्रेष्ठ एन्ड सन्स कम्पनीले उक्त भवन बनाउने गरी ठेक्का पाएको हो । भुइँतलामा एक हजार ८४६ वर्गमिटर, पहिलो तला एक हजार ४९६ र दोस्रो तला ७३९ वर्गमिटरका हुने छन् । नयाँ प्रदेश सभाको भुइँतलामा सभामुख, प्रदेश सभा सचिवालय, उपसभामुख, विषयगत समिति रहने भएको छ भने पहिलो तलामा सय जना क्षमताको हल बन्ने छ ।
दोस्रो तलामा प्रदेश सभा बैठक हेर्न चाहने संचारकर्मी, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान रहने भएको छ ।