Pokharapatra National Daily

तरकारी र दुधमा आत्मनिर्भर बनाउदै सहकारी

श्रीकृष्ण सिग्देल, स्याङ्जा
सहकारी भन्ने वित्तिकै नाफामुलक हुन् भन्ने सन्देश पछिल्लो समय निकै छ । सहकारीले सहकार्यका आधारमा आफ्ना शेयर सदस्यको आर्थिक स्तरोन्नती गर्नुपर्ने हो । तर धमाधम खोलीएका सहकारीहरु शेयर सदस्यको आर्थिक स्तरोन्नती भन्दा पनि नाफामुलक ढंगले संचालन भइरहेका छन् । यसले सहकारीहरु शेयर सदस्यको समाजिक, आर्थिक र सहकार्यतामा खासै चासो नदिएको पाइरहेका बेला दुई बर्ष अगाडी स्थापना गरिएको सहकारीले आफ्ना शेयर सदस्यलाई तरकारी र दुधमा आत्मनिर्भर बनाउने अभियान शुरु गरेको छ ।
अकला नमुना साना किसान सहकारीले आफ्ना शेयर सदस्यलाई तरकारी खेती र दुधमा आत्मनिर्भर बनाउन अभियान शुरु गरेको हो । नमुना साना किसान र अकला कृषि सहकारीबाट छुट्टाछुट्टै कार्य सञ्चालन गर्दै आएका दुई सहकारी मर्जर भएपछि यो अभियानलाई शुरुवात गरेको छ । वालिङ नगरपालिका र गल्याङ् नगरपालिकाका केही वडाहरुका किसानलाई सहकारीमा आवद्ध बनाएर उनीहरुको आर्थिक उपार्जनमा टेवा पुग्ने खालका कार्यक्रम गर्दै आएको सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए । सहकारीमा दखल रहेका अर्याल स्याङ्जा जिल्लाका सहकारी अभियान्ता पनि हुन् । उनले सहकारी नाफामुलक भन्दा पनि सेवामुलक हुनुपर्ने धारणा व्यक्त गर्दै आएका थिए । अर्यालले सहकारीको नेतृत्व लिएपछि अहिले सहकारीमा आवद्ध भएका किसानहरुलाई समुहगत उनीहरुको आर्थिक स्तरोन्नतीका लागि कार्यक्रम अगाडी ल्याएका छन् । तरकारीमा आत्मनिर्भर बनाउन सहकारीले २ हजार किसानलाई मौसमी अनुसारको गुणस्तरीय विऊ विजन वितरण गरेको जनाएको छ ।
तरकारी र भैसी पालनमा व्यवसाय वालिङ र गल्याङ्मा सफल हुने देखिएपछि सहकारीले दुध र तरकारी खेती लगाउन किसानलाई अभिप्रेरित गरेको छ । किसानले लगाएको तरकारी र दुधको बिक्रिका लागि बजारको व्यवस्था समेत सहकारीले जिम्मेवारी लिने भएपछि किसानहरु दुवै व्यवसायमा आर्कशित बनेका छन् । सहकारी आफैले दुधडेरी संचालन गर्दै किसानको दुध खरिद गरिदिएको छ । भैसी र गाई पालन गर्ने किसानको पुश विमा देखि उनीहरुले उत्पादन गरेको दुध खरिद गरिदिने व्यवस्था मिलाएको सहकारीका कर्जा प्रमुख लक्ष्मी रेमीले बताईन् । उनका अनुसार दुधडेरीमा दुध विक्रि गरे बापत पाउने ४ लाख १६ हजार रकम समेत किसानले अनुदान पाइसकेका छन् । कर्जा प्रमुख रेग्मीका अनुसार अहिले सम्म किसानलाई कागती, अदुवा र घाँसको विऊ समेत वितरण गरेको बताईन् । हामीले सहकारीका शेयर सदस्यलाई विऊ विजन वितरण मात्रै गरेका छैनौ उनले भनिन्, ‘किसानलाई चाहिने सिपमुलक तालिम,आवश्यक सुझाव उपलब्ध गराएका छौं ।’ कतिपय किसानलाई सरकारबाट आउने अनुदानको प्रक्रियामा समेत पुलको काम पनि गरेका छौं उनले भनिन् । सहकारीले अहिले सम्म ३ करोड २५ लाख किसानलाई सस्तो व्याजदरमा लगानी गरेको जनाएको छ ।
सहकारीले आफ्ना शेयर सदस्यलाई आत्मनिर्भर बनाउने अभियान सुरु गर्ने हो भने रोजगारी माध्यमहरु बढ्न सक्ने स्थानीयहरु बताउछन् । सहकारीहरु आफ्नो सिद्धान्तमा अडिग नहुँदा सहकारी नाफामुलकमा जोडबल गरेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्