नेपालमा दुर्लभ एकसिङे गैँडा बढेको छ । चोरी शिकारीका कारण गैंँडाको संख्या घट्न सक्ने अनुमान गरिएकोमा संख्या बढेको गणनाले देखाएको छ । नेपालमा एकसिङे गैंडाको संख्या ७५२ पुगेको छ । सन् २०१५ पछि हालै गरिएको एकसिङे गैँडा गणनाको अन्तिम परिणामअनुसार यसपटक १०७ गैँडा बढेका छन् । नेपालले गैंडा संरक्षणका लागि गरेका प्रयासको कारण बढेको हो । पछिल्लो समय गैंडा शिकारी बिरुद्ध कडाइसाथ काम हुँदै आएको छ ।
गणनाको प्राप्त तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, पर्सा राष्ट्रिय निकुञ्जमा तीन, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा रहेका छन् । पछिल्ला पाँच वर्षमा अरू राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या वृद्धि भए पनि पर्सामा भने सन् २०१५ कै जति भेटिएका छन् । यस वर्ष चितवन र पर्सामा यही चैत ९, बर्दिया राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ गतेबाट गैँडा गणना गरिएको थियो । पर्यावरणीय सन्तुलनका लागि पनि सबै प्रकारका प्राणी तथा भौगोलिक विविधता सुरक्षित हुनुपर्छ । सबै प्रकारका वनस्पति तथा प्राणी सुरक्षित रहनु भनेको त्यो देश तथा क्षेत्रको पर्यावरणीय अवस्था सन्तुलित छ भन्ने पुष्टि हुनु हो । यसैका लागि नेपालले बाघ, गैँडा र अन्य लोपोन्मुख प्राणी तथा वनस्पतिको संरक्षणका लागि राष्ट्रियस्तरमा नै विशेष पहल गर्दै आएको छ । गैँडा गणना गर्दा गैँडाको आहारको अवस्था, पानीको स्रोत तथा घाँसे मैदानको अवस्था, गैँडा बासस्थानका चुनौती, गैँडा प्रजननको अवस्थालगायत सूचना सङ्कलन हुने भएकाले निकुञ्ज क्षेत्रको पर्यावरणीय अवस्थाबारे बृहत् जानकारी प्राप्त गर्न सकिनेछ ।
चालू आर्थिक वर्षमा चितवनमा मात्र चोरी शिकार र प्राकृतिक कारणले ३० वटा गैँडा मारिए । २०६७ सालमा सुरु गरिएको गैँडा शून्य चोरी शिकार वर्षपछि २०६८ साललाई शून्य चोरी शिकार वर्ष बनाउन सकिए पनि त्यसपछि गैँडा सिकारीको निशानामा पर्दै आएका छन् । विगत दुई दशकका तथ्याङ्क हेर्ने हो भने चोरी शिकारीभन्दा प्राकृतिक मृत्युले गैँडा जोखिममा परेका छन् । गत २२ वर्षको अवधिमा ४९८ वटा गैँडाको मृत्यु भएकोमा प्राकृतिक कारण ३३३ र चोरी शिकारीबाट १६५ गैँडा मरेकाले निकुञ्ज क्षेत्रमा हुने बाढी÷डुबान नियन्त्रण, गैँडा र अन्य वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा पनि उल्लेख्य ध्यान दिनुपर्ने हुन्छ । यी र यस्ता विविध घटनाले नेपालमा गैँडा सुरक्षण कार्य चुनौतीपूर्ण देखिएकाले गैँडा गणनाले यसको सङ्ख्या मात्र नदेखाएर विद्यमान चुनौती, सम्भावना र गर्नुपर्ने कार्यका लागि मार्गनिर्दिष्ट गर्नुपर्छ । एकातिर वन्यजन्तु मासिने क्रम बढ्दो छ भने अर्कोतिर वन्यजन्तु र मध्यवर्ती क्षेत्र (बफरजोन) का समुदायबीचको द्वन्द्वले स्थानीयले खेतीपाती मात्र गुमाएका छैनन्, पटकपटक मानवीय क्षति पनि व्यहोर्नु परेको छ । आरक्ष क्षेत्रमा उपयुक्त वातावरण नपाएकाले वन्यजन्तु मानव बस्तीतिर आएका हुन् कि ? बस्तीमा बस्नुपर्ने मानिस जङ्गल पस्ने वा बस्ने गरेकाले मानव बस्तीमा आउन नहुने जनावर बाध्यतावश बस्तीमा आउनुको कारणमा मानिसकै गतिविधि जिम्मेवार हुनसक्ने भएकाले मानव व्यवहार वन्यजन्तुमैत्री हुनु आवश्यक छ । ध्रुवे हात्तीको आतङ्क वा केही समयअघि तनहुँको भानु नगरपालिकामा बाघले गरेका वितण्डालाई हेर्दा वन र वन्यजन्तुको सुरक्षासँगै मानवजीवनको सुरक्षामा चुनौती थपिएकाले सन्तुलित मानव व्यवहार अपेक्षित छ ।
एकसिङे गैँडालगायत कुनै पनि प्राणीको जीवन सङ्कटापन्न हुनुमा उसको बासस्थान नै पहिलो कारण हुन सक्छ । बासस्थान भनेको प्राणीले विचरण गर्ने क्षेत्रदेखि आहार, प्रजननको वातावरण, बच्चा हुर्काउने अवसर, प्राणीको घनत्व, उनीहरू बीचको द्वन्द्व, मानव अतिक्रमणलगायतका समग्र प्राणीमैत्री अनुकूलन हो । नेपालका वनमा रैथाने घाँस विस्थापित गर्दै पछिल्ला वर्षमा मिचाहा प्रजातिका घाँस, झार तथा लहरा फैलँदै छन् । यिनीहरू प्राणीका लागि ढिलो लाग्ने विष (स्लो–पोइजन) सरह नै हुने भएकाले एउटा प्राणी बचाउन पानीको स्रोतदेखि रैथाने प्रजातिका वनस्पतिको रक्षा गर्नुपर्ने आवश्यकता बिर्सन सकिँदैन । भौतिक विकासमा वातावरणमैत्री क्रियाकलाप, आरक्ष क्षेत्रमा न्यून मानवीय गतिविधि, आहार तथा उचित उपचार प्रबन्ध मिलाएर गैँडा, बाघलगायतका प्राणी, पन्छी, सरीसृपको सुरक्षा गर्न सकिने भएकाले प्राणी गणनालाई औपचारिक कार्य मात्र बनाउनु भन्दा यसबाट देखिने आवश्यकता कार्यान्वयनको माध्यम बनाउनु आवश्यक हुन्छ ।