क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको ख्रिष्टियनहरु बताउने गर्छन । उनले मुक्ति, प्रेम र शान्ति दिएकोले विश्वासमा क्रिश्चियन समुदायले क्रिसमस डे तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा सो दिनलाई मनाउने गरिएको छ। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि.सं २०६३ पछि भव्य रुपमा मनाउन थालिएको हो ।
नेपालमा लोकतान्त्रिक शासन व्यवस्था स्थापनापछि सबै धर्म, सम्प्रदाय, जातिले आ आफ्ना चाड पर्व मनाउन पाएका छन । धर्म निरपेक्ष राष्ट्र घोषणापछि क्रिश्चियन समुदायले फैलने मौका पाएको छ । आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गरेको आरोप पनि क्रिश्चियनमा लाग्ने गरेकोे छ । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको क्रिश्चियन महासंघको दाबी छ । १३ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासंघ मूल समारोह समितिको आयोजनामा आयोजना गरिएको छ । नेपाल सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना दिएका छन ।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय राजधानी पोखरा, काठमाडौंको ठमेल, चितवनको सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाइएका छन ।
पर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको अभिवृद्धि गर्दछ । ‘‘प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवद्र्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिन्छ ।’’
नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ । इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं ।
