Pokharapatra National Daily

दादुरा तथा रुबेलाको खोप लगाइने

गण्डकी प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा आउँदो आइतबारदेखि दादुरा तथा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।
मनाङ र मुस्ताङमा फागुनको अन्तिम सातादेखि चैतको पहिलो सातासम्म उक्त खोप अभियान संचालन हुने भएको हो भने अन्य जिल्लामा फागुन १३ अर्थात आइतबार देखि लगाइने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । दादुरा तथा रुबेला खोप अभियान अन्र्तगत गण्डकी प्रदेशका २ लाख ५३ हजार ३५ जना बालबालिकाहरुलाई खोप लगाउने तयारी गरिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलले बताए । उक्त अभियान सफल पार्न प्रदेशमा २ हजार ८ सय ८९ वटा खोप सेसन हुने भएको छ भने २ हजार ८ सय ८९ जना स्वास्थ्यकर्मी खटिने भएको निर्देशनायलका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक पौडेलले जनाए ।
उक्त अभियानलाई सफल पार्न ५ हजार ७ सय ७८ स्वयं सेवक परिचालित हुने भएका छन् । समुदायमा रहेका लक्षित समूहको कुनै पनि बालबालिकाहरु यो खोप बाट वञ्चित नहुन् भनी बढी सजगता अपनाइएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका ९ जिल्लामा यही फागुन १३ (आइतबार) देखि दादुरा तथा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । गण्डकी प्रदेशमा १० जिल्लाहरुमा दादुरा रुबेला खोप अभियानमा ९ महिना पुरा गरेका र ५ वर्ष भित्र उमेर समूहका सबै बालबालिकाहरुलाई दादुरा रुबेलाको खोप र नियमित खोप लगाउन छुट भएका ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुट खोपको मात्रा समेत प्रदान गर्ने व्यवस्था मिलाईएको उनले जनाए । नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लामा यस अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई यो खोप प्रदान गर्ने कार्यक्रम रहेको निर्देशनायलका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक पौडेलले उल्लेख गरे । खुल्ला सिमानामा पर्ने क्षेत्र भएकोले भारतबाट धेरै मानिसहरुको आवातजावात हुने, बढी जनङख्या भएको र उक्त रोगको जोखिम बढी भएकोले १५ बर्षसम्मका किशोरहरुलाई सो खोप लगाउने भएको निर्देशनालयले जनाएको छ ।
विगत ४५ वर्ष देखि दादुराको खोप र बिगत १२ वर्ष देखि रुबेला समेत संयुक्त रुपमा दादुरा रुबेलाको खोप नेपाल भित्रका १६ हजार भन्दा बढी खोप केन्द्रबाट दिदै आइएको छ र सन २००४ देखि हाल सम्म हरेक ४÷४ वर्षमा अभियानको रुपमा पनि यो खोप लगाइदै आईरहेको छ । कहिलेकाही नेपालमा दादुराको महामारी फैलिने गरेकोले, यस प्रकारको खोप अभियान अझै बढी प्रभावकारी ढंगले गर्नुपर्ने टड्कारो आवश्यकता रहेको विज्ञहरु बताउछन् । यस वर्षमा समेत नेपालका कुल १८ जिल्लाहरुमा २० बटा महामारी फैलिई करिब १ हजार ३ सय जना उक्त रोगबाट प्रभावित हुन पुगेका छन् । गण्डकी प्रदेश समेत यस महामारीबाट अछुतो रहन सकेन (हालै मात्र तनहुँको शुक्लागण्डकी नगरपालिकामा दादुरा रुबेलाको महामारी देखा परेको थियो । खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उहाँका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने छ । उक्त खोप लगाउदा बालबालिकाहरुको लागि खासै असर नपर्ने भएकोले हरेक स्थानिय तहमा हरेक घरमा रहेका बालबालिकाहरुलाई अनिवार्य खोपको पहुचमा पुर्याउन विश्व स्वास्थ्एय संगठनका डा.रामु सुवेदीले बताए । यस अघि कोभिड १९ का वेलामा पनि गण्डकी प्रदेशमा ८४ प्रतिशत यस खोप कार्यक्रम सफल भएको निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माले बताए । दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने चिकित्सकहरुले बताउदै आएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न हाल विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाको क्षेत्रीय बैठकमा ११ मुलुकका सरकारहरुको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल सरकारले पनि प्रसमा प्रतिबद्धता गरेको छ ।

प्रतिकृया दिनुहोस्