Pokharapatra National Daily

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै पोखरामा छठ सम्पन्न

पोखरामा मंगलबार उदाउदो सुर्यलाई अध्र्य दिई यस बर्षको छठ पर्व धुमधामका साथ मनाइएको छ । सूर्य उपासना र आस्थाको पर्व छठ पर्व मनाउन सूर्यका भक्तहरु फेवातालदेखि सेतीनदी हुँदै मन्दिर र पोखरीसम्म धार्मिक उल्लासका साथ उदाउदोे सुर्यलाई अर्घ सहितको फलफुल चढाउदै यस बर्षको छठ पर्व धुमधामका साथ मनाइएको हो ।
सोमबार अस्ताउदो सूर्यलाई अध्र्य दिनु भएको सुर्यका भक्तहरुले आज बिहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै यस बर्षको छठ पूजा विधिवत रुपमा समापन भएको छठ पूजा समितिहरुले जनाएकाछन् । तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै सहज वातावरणमा सूर्यदेवको आराधना गर्न सकून् भन्ने उद्देश्यले पोखराका चार प्रमुख स्थल—फेवाताल किनारस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर, नारायणथान मन्दिर, भद्रकाली मन्दिर तलको कमलपोखरी(माछापोखरी) र सेती–कालिखोला संगमस्थित रिठ्ठाघाट त्रिवेणीधाम—मा विशेष व्यवस्थापन गरिएको थियो ।
चार घाटहरु मध्य सबै भन्दा भिडभाड भने फेवाताल किनारमा भएको थियो । मंगलबार बिहानदेखि पोखरामा सिमसिम पानी परेकोले गर्दा पनि सुर्यका भक्तहरुलार्ई पूजा गर्न केही कठिनायी भएको नेपाल भारत व्यवसायी संघ (एन.बी.) का पूर्वअध्यक्ष भुनेस कुमारले बताउनु भयो । स्थानिय सरकारले आफुहरुलाई व्यबस्थित छठ घाट बनाउन बिषेश सहयोग गर्नुपर्ने उहाँहरुको माग रहेको छ ।
पोखराको नारायणथान मन्दिर नजिकको नहरबाट पोखरामा छठ पर्व मनाउन सुरु भएको नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिनुभयो । आगन्तुक दर्शनार्थी देखि छठ पर्वको रौनक हेर्न आउने महानुभावहरुलाई छठ पूजाको ठेकुवा सहितको प्रसाद समेत वितरण गरिएको छ । नेपाल भारत व्यवसायी संघ (एन.बी.) छठ पूजा समितिको आयोजनामा केदारेश्वर क्षेत्रमा यस बर्ष निकै उत्साहित रुपमा छठ पर्व मनाइएको समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । रिठ्ठाघाट त्रिवेणीधाम छठ पूजा समितिका अध्यक्ष हरिश्चन्द्र प्रसाद कुशवाहाले सेती र कालिखोला किनारमा टेन्ट, बत्ती र श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले अघिल्ला बर्षको तुलनामा यस बर्ष छठ पर्व मनाउनेको केही कमी भएको जनाउनु भयो ।
त्यस्तै, नेपाल बढी समाज भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माले परम्परा अनुसार केराको खम्बा, उखु, सुन्तला, भोगटे लगायतका फलफूलका बोटहरूले मण्डप सजाउने र सूर्यदेवलाई भगवानका रूपमा अर्घ दिई मनोकामना पूर्तिको कामना गर्दै छठ पूजा यस बर्ष मनाइएको छ । समितिका सचिव रामजुलुस शर्माले आफुहरुले सुर्यको मर्म र भावना अनुसार नेपाली परम्परा अनुसार विधि पूर्वक छठ पर्व विगत ७ बर्ष देखि कमलपोखरीमा धुमधामका साथ छठ पर्व मनाउन थालेको दाबी गर्नुभयो ।
पछिल्ला वर्षहरूमा तराई–मधेश मूलका श्रद्धालुसँगै पहाडी समुदायका मानिसहरू पनि सूर्यदेवको पूजा–आराधनामा सहभागी हुन थाल्नु भएको छ । मनोकामना पूरा हुने विश्वासका साथ यो पर्वले पोखराको सांस्कृतिक विविधता र धार्मिक सौहार्दलाई अझ गाढा बनाउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्