
हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेंडा–च्याङ्ग्रा यस बर्ष पोखरा क्षेत्रमा बिक्री वितरण गर्न सुरु भएको छ ।
नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ–दीपावलीको अवसरमा परम्परागत रुपमा चल्दै आएको प्रचलन अनुसार यस बर्षका चाड पर्व लक्षित गरी पोखरा क्षेत्रमा व्यवसायीहरुले भेंडा च्यांग्रा बिक्री वितरण गर्न सुरु गर्नु भएको हो । पोखरा २५ हेमजा सुइखेत देखि, बिष्णुपादुका बिद्यालयको खेल मैदान हुदै याम्दीसम्मको क्षेत्रमा हाल पहिलो चरणमा ७ समुहले भेंडा च्यांग्रा बिक्रिको लागि पोखरामा ल्याउनु भएको हो । गत बर्षको तुलनामा यस बर्ष केही थोरै सहुलियतमा भेंडा च्यांग्रा बिक्री गर्न थालिएको सुक बहादुर तामाङले बताउनु भयो । उहाँको टिमले यस बर्ष एक सय ४० वटा भेंडा च्यांग्रा मुस्ताङको घिलिङबाट पोखरामा बिक्रिको लागि बुधबार दिउँसो मात्र ल्याएको बताउनुभयो ।
मुस्ताङमा बाटोको कारण यस बर्ष जोमसोमबाट सिधै ९ घण्टामा पोखरामा ल्याईएको जसका कारण बाटोमा विभिन्न ठाँउमा लाग्ने कर समेत तिर्न नपरेको उहाँले हामीलाई बताउनु भयो । उहाँहरुले मुस्ताङमै प्रति भेंडा–च्यांग्रा ३९ हजार देखि ४१ हजारसम्म तिरेकोले पोखरासम्म ल्याएर प्रति भेंडा–च्यांग्रामा ३÷४ हजार मात्र नाफ राखेर बिक्रि गर्न लागेको उहाँले जनाउनुभयो । सम्झना फ्रेस हाउस समेत संचालन गरेको उक्त टिमले तयारी भेंडा–च्यांग्राको प्रति केजी २ हजार १ सयमा बिक्रि गर्न सुरु गर्नु भएको जनाउनु भयो । यसअ घि ४÷५ दिन समय लगाएर मुस्ताङ देखि वेनीसम्म भेडा–च्यांग्रा हिडालेर ल्याउने गरिन्थ्यो । त्यस्तै हेमजाका ऋषिराम पौडेल र झपट पौडेल दुई दाजुभाईले यस बर्ष १ सय ६५ वटा भेंडा–च्यांग्रा माथिल्लो मुस्ताङबाट हाल हेमजाको बिष्णुपादुका माविको खेल मैदानमा बिक्रिको लागि ल्याउनु भएको हो । उहाँको टिमले कागवेनीबाट ८ घण्टामा सिधै ट्रकमा राखेर भेंडा–च्यांग्रा पोखरामा बुधबार बेलुका मात्र ल्याउनु भएको हो । चार्ड पर्व लक्षित गरी पोखरा सहितको बजारमा यस बर्ष करिब १० हजार भन्दा बढी भेडा–च्यांग्रा मुस्ताङबाट बाहिरिने भएको व्यवसायीहरुले बताउनु भयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले भेंडा–च्यांग्राको स्वास्थ्य परिक्षण गर्न सुरु गरेको छ । मुस्ताङबाट बाहिरिने भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गरेर मात्र बाहिर पठाउने गरिन्छ ।
मुस्ताङको कोरोना नाका दशैं अगाडै नै खुलेका कारण पनि यस बर्ष अघिल्लो बर्षको तुलनामा बढी भेंडा–च्यांग्रा पोखरा सहितको अन्य बजारमा लेजाने व्यवसायीहरुले तयारी गर्नु भएको हो ।
हिमाली जडीबुटी खाएर हुर्केका भेडा–च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्रा खाने प्रचलन पहिला देखि चलि आएको हो ।