Pokharapatra National Daily

पोखरामा पर्यटकको चहलपहल बढ्यो

पर्यटनको राजधानी पोखरामा पर्यटकको चहल पहल बढेको छ ।
नेपालीहरूको महान पर्व विजयादशमी पर्व पछि पोखरामा पर्यटकहरूको आगमनमा शनिबारदेखि केही वृद्धि भएको पर्यटन व्यवसायीहरूले बताउनु भयो । पोखरामा पर्यटकको चहलपहल बढेसँगै पोखराका पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको भिडभाड भएको छ । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको ढुंगा सयर गर्न शनिबार निकै भिड भएको छ । पोखराको बाराहीघाटमा लाइभ ज्याकेट लिने र ढुङ्गा सयर गर्नेहरूको बिहानैदेखि भिडभाड भएको फेवा ढुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले बताउनु भयो ।
दशैं पर्व पछि पोखराको फेवातालमा आउने पर्यटकहरूको सङ्ख्यामा शनिबार ह्वात्तै बृद्धि भएकोले आफुहरु निकै उत्साहित भएको उहाँले बताउनु भयो । फेवातालको बीचमा रहेको तालबराही मन्दिर दर्शन गर्नको लागि ढुङ्गाबाट आवतजावत गर्नको लागि लाइफ ज्याकेट सहित प्रति व्यक्ति १०० रुपैयाँ शुल्क लिने गरिएको छ । फेवातालमा काठको डुङ्गामा प्रतिघण्टा सयर गर्दा रु.९०० र प्याडल बोट प्रतिघण्टा १ हजार ६ सय रूपैया शुल्क निर्धारण गरिएको छ । शनिबार पोखरामा ढुङ्गा सयर गर्ने पर्यटकहरूको संख्या वृद्धि भएसँगै आफुहरुमा आशा जागेको एक ढुङ्गा व्यवसायी प्रीतम कुँवरले बताउनुभयो ।
त्यसो त दशैं र तिहारको बिदाको समयमा धेरै विद्यार्थी र विभिन्न संघसंस्थाका व्यक्तिहरु पोखरामा भ्रमणको क्रममा आउन पनि थाल्नु भएको छ । पोखरामा साहसिक खेल गतिविधिमा पनि पर्यटकहरू रमाउन थाल्नुभएको छ । पोखरामा हिजोआज दैनिक जसो २०० देखि २५० भन्दा बढी पर्यटकहरू प्याराग्लाइडिङ गर्न थाल्नुभएको नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष अनिल केसीले बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरण भएको प्याराग्लाइडिङ पुन पहिलेकै ठाउँ तोरीपानीबाट उडान भई खपौदीबाट ल्याण्डिङ गर्दै फेवाताल माथिसम्म उड्न पाउने भएको हुँदा पछिल्लो क्रममा प्याराग्लाइडिङ गर्नेहरूको संख्यामा वृद्धि भएको उहाँले दाबी गर्नुभयो । हिजोआज मौसम समेत राम्रोसंग खुलेका कारण ट्रेकिङ जानेहरुको उपयुक्त मौसम भएकोले गर्दा ट्रेकिङ जानेहरुको सङख्या समेत बढेको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो । देशमा विभिन्न क्षेत्र सहित विदेशबाट अहिलेको मौसममा विश्वकै चर्चीत पदमार्ग अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल लगायतका पदमार्गमा उत्साहजनक रुपमा पर्यटकहरु सहभागि भएको उहाँले जनाउनु भयो । पोखरामा हाल होटल अकुपेन्सी ३०% पुगेको छ । जेनजी आन्दोलनपछि पोखरामा हाल बिस्तारै पर्यटक आगमनमा बृद्वि भएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।
पोखराका पर्यटकीय स्थलका होटलहरूमा होटल अकुपन्सी हाल ३०% रहेको उहाँले उल्लेख गर्नुभयो। प्रतिकुल मौसम र जेनजी आन्दोलनको मारमा पोखराको पर्यटन क्षेत्रमा ठुलो असर परेको बताउदै उहाँले अब विस्तारै ट्रेकिङ जाने र ट्रेकिङबाट फर्किनेहरुको संख्या तथा भ्रमण गर्नेहरुको कारणले गर्दा पनि पोखरामा हाल आन्तरिक पर्यटकहरुको केही चहल पहल बढेको उहाँले जनाउनु भयो ।

प्रतिकृया दिनुहोस्