Pokharapatra National Daily

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी तिव्र

यस वर्ष पनि विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजना हुने विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० को तयारी तिव्र पारिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा वडा दशैं पर्वको अवसरमा घटस्थापनादेखि नवमीसम्म आयोजना हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको बिहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईको हो ।
महायज्ञमा प्रखर वक्ता युवा पंडित हरि शरण पौडेलबाट संगीतमय झाँकी सहित कथा प्रस्तुत हुने भएको छ । महायज्ञ प्रत्येक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउँसो २ बजेबाट अपरान्ह ४ बजेसम्म विभिन्न विद्वानहरु विन्ध्यवासिनी पीठाधीस स्वामी निशेषानन्द जी महाराज, दार्शनिक वक्ता डा. भोलानारयण रेग्मी, दार्शनिक वक्ता जगन्नाथ रेग्मी, कृष्णानुरागी आचार्य पशुपती पौडेलहरुवाट कथा प्रवचन हुने भएको छ । यस यज्ञमा कर्ताको रुपमा चन्द्ररमण पराजुली, उपवाचक चिन्तामणि पौडेल, गणेश सृजन जोशी रहनु हुने भएको छ । नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकी सहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुने समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले बताउनु भयो । त्यसै गरी दिउँसो देखि साँझसम्म नवदुर्गाको महिमा सम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुने भएको छ भने घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिने भएको छ ।
महोत्सवका लागि समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । विगतदेखि शक्तिस्थलका रुपमा पुँजिदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान गरिएको छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्राशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने समितिका सचिव तिर्थ श्रेष्ठको बुझाई छ । कोभिड १९ को प्रभाव भन्दा अघिसम्म मन्दिरमा दर्शनार्थीहरुको निकै भिडभाड हुने र दैनिक जसो एक लाख रुपैया भेटिबाट संकलन हुने गरेको उहाँले बताउनु भयो । समितिले हरेक दिन संकलन भएको भेटि र त्यसकोे भोलिपल्ट डिजिटल वोर्ड मार्फत सार्वजनिक गर्दै आएको सचिव थिर्त श्रेष्ठले जनाउनु भयो । मन्दिरमा हाल ५० देखि ६० हजार रुपैया दैनिक भेटि संकलन हुने उहाँले बताउनु भयो । हाल १४ जना पुजारी सहित ६५ जना कर्मचारीहरु रहेको समितिले जनाएको छ । समितिको हाल कर्मचारीहरुलाई तलव व्यबस्थापन गर्नको लागि मात्र करिब १५ लाख र समितिले हालै संचालनमा ल्याएको प्राकृतिक चिकित्सालय संचालनमा हाल मासिक ८ लाख रुपैया व्यबस्थापन गर्दै आएको सचिव श्रेष्ठले जनाउनु भयो । समितिले हाल मासिक २३ लाख खर्च हुने गरेको उहाँले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्